Friday, February 12, 2021

कीर्तिपुर सहकारी संघ लि.को प्रारम्भिक साधारण सभा

 कीर्तिपुर सहकारी संघ लि.को प्रारम्भिक साधारण सभा




नजरराम महर्जन


नेपाल राज्यभरिमा नै पहिलो पटक कीर्तिपुर नगरपालिकामा स्थानीय तहमा सहकारी संघ गठन भएको छ । 

उक्त सहकारी संघको प्रारम्भिक साधारण सभा गत माघ २३ गते श्रीपञ्चमी मानन्धर गुथिको हलमा सम्पन्न भएको छ । संस्थाका संयोजक दिल बहादुर महर्जनको सभापतित्वमा र प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

अन्य अतिथिहरुमा राष्ट्रिय सहारी महासंघका प्रतिनिधि केदार मानन्धर, राष्ट्रिय सहकारी संघका प्रतिनिधि बाबु खनाल, जिल्ला सहकारी संघका खेम सुवेदी, कीर्तिपुर नगरपालिका सहकारी विभाग प्रमुख सुजिन्द्र महर्जनको उपस्थिति रहेका थिए ।  सर्वोन्नती सहकारीका निरोज विष्टले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दयालक्ष्मी महर्जनले दिनु भएको थियो । त्यसपछि ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली स्वरुप एक मिनेट मौन धारण गरिएको थियो । संयोजक दिलबहादुर महर्जनले  प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  उहाँका अनुसार २०७२ साल पछि निस्क्रिय रहेका सहकारी समन्वय समतिलाई पुनर्जागरणसहित २०७५ साल बैशाख २० कीर्तिपुर बहुउद्देश्यीय सहकारी भवनमा १६ वटा सहकारीको प्रतिनिधिहरुको उपस्थितिमा दिलबहादुर महर्जनको संयोजकत्वमा कीर्तिपुर सहकारी सञ्जाल ९ जनाको तदर्थ समिति गठन गरी सुरुवात गरियो । त्यसपछि हालसम्म ३५ वटा सहकारी संस्थाहरु आवद्ध रहि यस कीर्तिपुर सहकारी संघ लि.को दर्ता गरिएको हो । हाल कीर्तिपुर क्षेत्रमा नियमित संचालनमा रहेका ८२ वटा सहकारी संस्थाहरुलाई पनि यसको सदस्य बनाउने प्रयास गरिरहेको बताउनु भयो ।


उहाँका अनुसार न्यूनतम रु. ५ हजार तथा अधिकतम सहकारी ऐन अनुसार नबढ्ने गरी संस्थाले ५० हजार कित्ता रु.१०० का दरले रु.५० लाख बराबरको शेयर जारी गर्नेछ । सञ्जालको रुपमा रहँदा नै २०७४÷१२÷२० गते कृष्ण क्याटरिंग नयाँबजारमा ४२ वटा सहकारी संस्थाहरुको २÷२ जना प्रतिनिधिहरुको सहभागितामा नयाँ संशोधित सहकारी ऐन २०७४ र कीर्तिपुर न.पा.बाट जारी गरिएको सहकारी विधेयक २०७४ को बारेमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो ।

त्यस्तै मिति २०७६÷१२÷ मा कोभिड–१९को संक्रमणबाट बच्न की.न.पा. भित्रका विभिन्न चोक चोकमा र टोल टोलमा साबुन, बाल्टिन, बाटाको व्यवस्था गरी “साबुन पानीले हात धोऔं र कोरोना संक्रमण बाट बचौं” भन्ने अभियान चलाएका थिए ।

त्यस्तै सञ्जालमा आवद्ध सहकारी संस्थाहरुबाट न्यूनतम रु१० हजारका दरले २५ वटा संस्थाबाट सक्दो आर्थिक संकलन गरी मिति २०७६÷१२÷२७ गते १५ हजार थान सर्जिकल माक्स, र २५ के.जी.को सोना मन्सुली चामल १०० बोरा कोरोनाबाट प्रभावितलाई वितरण गर्न की.न.पा.ला हस्तान्तरण गरिएको थियो । 

उहाँका अनुसार संघको भावी योजना तथा कार्यक्रममा मुख्य निम्न बुँदाहरु रहेका छन ः

१) कीर्तिपुर न.पा.भित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सदस्यताको लागि पहल गर्ने ।

२.सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, कीर्तिपुर न.पा., काठमाडौं जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा सहकारी संस्था तथा सञ्चालकहरुको व्यक्तित्व, नेतृत्व एवं क्षमता अभिबृद्धिको लागि तालिम आयोजना गर्ने ।

३.मर्जरको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने ।

४.सहकारीका प्रतिकुल ऐनहरुलाई अनुकुल बनाउन सम्बन्धित निकायमा ऐन नियमको संशोधन र परिमार्जनको लागि अग्रणी भुमिका खेल्ने । 

५. यस क्षेत्रको नियमनकारी निकाय कीर्तिपुर नगरपालिकाको सहकारी शाखाबाट गरिने अनुगमनको कार्यमा यस संघको प्रतिनिधि सहितको अनगमनको लागि पहल गर्ने । 

६.कीर्तिपुरमा रहेका सहकारीहरुको सामुहिक सहभागीतामा व्यवसायिक परियोजना तयार गरी लगानीको लागि आवश्यक पहल गर्ने ।

७.कीर्तिपुर क्षेत्रमा रहेका सहकारीहरुको अनुगमन गरी सुशासनको लागि आवश्यक परामर्श दिने रहेका छन ।

प्रमुख अतिथी मेयर रमेश महर्जनले २०७२ सालको भूकम्पको बेला नै कीर्तिपुरका सहकारीहरुसँग समन्वय गरी भुकम्प पिडितहरुलाई सहयोग गरेको स्मरण गराउनु हुँदै संघको गठनसंगै यस क्षेत्रको समग्र सहकारी आन्दोलनलाई थप बलियो बनाउन, स्वरोजगारी तथा उत्पादकत्व वृद्धिका लागि समन्वय र सहकार्य गर्ने आधार तयार भएकोमा खुशि ब्यक्त गर्दै कीर्तिपुर नगरपालिकाको सहयोगीका रुपमा संघ स्थापित होस् भन्ने भनाई सहित साधारणसभाको पूर्ण सफलताको लागि शुभकामना दिनु भयो । 



त्यही दिन भएको बन्दा सत्रमा १३ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ । जसमा  १.अध्यक्ष ः दिलबहादुर महर्जन –कीर्तिपुर बहुउद्देश्यीय सहकारी, २.उपाध्यक्ष ः राममान सिंह —भिजन कीर्तिपुर सहकारी, ३.सचिव ः सिद्धिकुमार मानन्धर—श्रीपञ्चमी सहकारी, ४.कोषाध्यक्ष ः हिराबहादुर महर्जन—सिष्टमेटिक सहकारी, ५.सदस्यहरुमा नविन नकर्मि–बाघभैरव सहकारी, ६.रबिन्द्र बहादुर प्रधान– उमामहेश्वर सहकारी, ७.श्याम महर्जन– प्रगतिशील सहकारी, ८.दयालक्ष्मी महर्जन–झीगु महिला सहकारी, ९.राजेश महर्जन–शंखरापुर सहकारी, १०.रुपेश महर्जन– द्यःध्वाखा सहकारी, ११.विन्दा थापा–वपि महिला सहकारी, १२.निरज विष्ट–सर्वोन्नती सहकारी, १३.सादुराम महर्जन– बालकुमारी सहकारी रहनु भएको छ । 

त्यस्तै लेखासमिति संयोजकमा मन्जली महर्जन–लूजः सहकारी, २.हिराशोभा महर्जन — महिला एकता सहकारी, ३.राम महर्जन– सुनौलो कीर्तिपुर सहकारी रहनु भएको छ ।


No comments:

Post a Comment