Wednesday, February 17, 2021

अविस्मरणीय Damil को फार्मिङ्ग यात्रा बाराको जितपुर र विराटनगर—२

 अविस्मरणीय Damil को फार्मिङ्ग यात्रा बाराको जितपुर र विराटनगर—२


निरज मान सिंह 

गत अंकमा बाराको जितपुर फार्मिङ्ग यात्रा पछि विराटनगर हिंडेको पढ्नु भएको थियो । अब विराटनगरको बारेमा पढ्नु होला ।

करिब दश बजे राती बिराटनगरको होटेल पाँचाली पुग्यौं । विगतका केहि यात्राहरूको तुलनामा यो यात्रा अलि लामो नै हो भन्नु पर्छ । काठमाडौँबाट हेटौडा–जितपुर हुँदै पूर्व पश्चिम राजमार्गबाट बिराटनगर पुग्दासम्म खुट्टा सुन्निएर जुत्ता पनि साँघुरो भइसकेका थिए । सबै जना लामो यात्राले थाकेका थियौं । 

भोलि बिहान ९ बजे तयार भएर १० बजे सुरु हुने ईष्टर्न स्टार कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारण सभामा सहभागी हुन जानु थियो । त्यसैले नुहाईवरी छिट्टै सुत्यौं ।

दोस्रो दिन ः

“ढक–ढक–ढक” कसैले हाम्रो कोठा १०४ को ढोका खट्खटायो । 

मेरो निन्द्रा खुल्यो । सिरानी छेउमा राखेको घडी हेरें बिहानको आठ बजेको रहेछ । मैले ढोका खोले, जेनिस सर रहेछ, “गुडमोर्निंग दाई, मिल्क टी खानु हुन्छ कि ब्लैक टी ?” 

“गुडमोर्निंग, मेरो लागी मिल्क टी अनि सुरजको लागी ब्लैक टी” मैले भनें । जेनिस सर त्यति अर्डर लिएर जानु भयो । रुम मेट सुरजको बेडतिर हेरें सुरज आफ्नो ओछ्यानमा थिएन । 

एकछिन पछी बाथरुमबाट नुहाएर निस्कियो । “गुडमोर्निंग” रुमालले टाउको पुछ्दै भन्यो ।

“गुडमोर्निंग सुरज, तिमी ब्लैक टी पिउछौ नि होइन ? मैले त्यहि अर्डर दिएको छु ।”

“ए हुन्छ ।” उसले छोटो उत्तर दियो । म पनि रुमाल लिएर बाथरुम छिरें ।

केहि छिनमा हाम्रो कोठामा मिल्क टी र ब्लैक टी आयो । चिया पिएर हामी कोठाबाट निस्कियौं । अर्को कोठा १०१ मा नास्ता तैयार रहेछ । हामी नास्ता गरेर गाडीमा चढी रोडसिड चौकमा रहेको ईष्टर्न स्टार कृषि सहकारी संस्थाको अफिसमा पुग्यौं । सबै कर्मचारी उपस्थित भइ आ–आफ्नो काममा ब्यस्त देखिन्थे । त्यहाँ केहि क्षण बसेर हामी होटेल श्री भिन्तुनामा गयौं । ईष्टर्न स्टार कृषि सहकारी संस्थाको आठौ वार्षिक साधारण सभा यसै होटेलमा हुँदै छ ।



मैले पनि सहकारीको साधारणसभामा भाग लिएँ । इष्टर्न स्टार कृषि सहकारीका अध्यक्ष यशोदा राईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन हाम्रो हात हातमा दियो । यशोदा राईले वाचन गर्नु भएको प्रतिवेदन पढेर म छक्क परें । यसपाली कोभिड १९ का कारण हाम्रो कीर्तिपुरका कतिपय सहकारीहरुले शेयर बोनस नै खुवाउन सकेन भने कतिपयले थोरै मात्र दियो भन्ने सुनेको थिएँ । यहाँ त कोभिड १९ ले खासै प्रभाव नपारे रहेछ ।

उक्त सहकारीमा शेयर सदस्य २९५ रहेका छन । जसमा महिला १९४ जना र पुरुष १०१ जना रहेका छन । ३० वटा कृषि हित लघु समूह निर्माण गरिएको रहेछ । शेयर पूजीमा आ.व.०७५/७६ मा रु.१०,७०,२०,०००/ भएकोमा आ.व.०७६/७७ मा १११.२४ प्रतिशतले रु.११,९०, ४७,०००/ बढ्न गई आ.व. ०७६/७७को अन्त्यमा जम्मा रु. २२,६०,६७,०००/ रहेको जानकारी दिनुभयो । त्यस्तै स्थीर सम्पत्ति पनि बढेको जनाइएको छ आ.व.०७५/७६को अन्त्यमा स्थिर सम्पत्ती रु.१०,९९,०९, २९७ भएकोमा आ.व.०७६/७७ को असार मसान्तमा थप रु.१४,३२,६३,०७०/ जस अन्तर्गत जग्गा विस्तार माछा पोखरी निर्माण, भवन निर्माण रहेको छ भने उक्त स्थिर सम्पत्तिमा रु.५,९७,०१०/८० ह्रासकट्टी गरी आ.व. ०७६/७७ मा १३०.३५ प्रतिशत वृद्धि हुन गई अन्त्यमा रु. २५,२५,७५, ३५७/ हुन गएको छ । उक्त सहकारीले खुद नाफा रु.१,१०,३३,१२८/ रहेको जनाइएको छ ।

उक्त साधारण सभामा अध्यक्षले भावी कार्यक्रम भनेर धेरै प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो जसमा मुख्य मेरो ध्यान आकृष्ट गरिएको प्रस्तावहरु निम्न रहेका छन ।

क) यस वर्ष ५०० वटा भैंसी र ५०० वटा पाडा पाडी खरिद गर्ने, 

ख) यस वर्ष ५००० हांस पालन गर्ने, 

ग) बंगुर पालनको लागि ५० वटा माउ र ५०० वटा बच्चा राख्ने खोर निर्माण गर्ने, 

घ) शेयर पुँजी रु.२५ करोड पु¥याउने र सिएनजी प्लान्त राख्ने प्रस्ताव  पारित गरियो । 

साधारण सभाको समाप्ती पछि करिब १ बजे तिर होटेल श्री भिन्तुनामै खाना खाएर हुँकियौं ईष्टर्न स्टार कृषि सहकारी संस्थाको ईष्टर्न स्टार एकिकृत कृषि बन परियोजनाको लागि । बाटो पनि निकै कच्ची र धुलाम्मे थियो । करिब ३ बजेतिर हामी ईष्टर्न स्टार एकिकृत कृषि बन परियोजना पुग्यौं । 



६० बिगाहामा फैलिएको यस फारमको सुपरभाइजर सबिन सरले गेटबाट भित्र पस्ने बित्तिकै हामीलाई स्वागत गर्नुभयो । लगतै भैसीको दुईवटा गोठहरू देखे । एउटामा माउ र अर्को गोठमा पाठा, पाठी राखिएको रहेछ । “यहाँ टोटल माउ भैसी मात्र ७५ र पाठा(पाठी गरी ४० वटा छन् ।” सबिन सरले विवरण दिंदै हुनुहुन्थ्यो । अरुहरू भैसी नजिक बसेर सेल्फी लिन थाल्यो । हुन त मेरो लागी यी भैसी, गोठ, पराल कुनै नौलो होइन । म तराईमै हुर्केकोले मेरो लागी यो सब सामान्य नै थियो । तै पनि एउटा सम्झनाको लागी फोटो खिच्न म पनि पछी परिन ।






गोठबाट अलि पर पुगे पछी खेतका गराहरूमा मकैको सानो बोटहरू लहलहाउँदै देखें । त्यसलाइ मकै घाँस भनिँदो रहेछ । भैसीको दानाको रुपमा प्रयोग हुने हुनाले रोपेका रहेछन । त्यहि लाईनको पर पट्टिको खेतमा खरको थुप्रो राखिएको देखें । भैसीको गोठमा यहिंकै खरको प्रयोग गरी छाना छाउने रहेछ । जसले गर्दा गर्मीमा तापक्रम मेन्टेन गर्ने र जाडो याममा सर्दी मेन्टेन गर्न सहयोग पुग्ने रहेछ । यसै खेतको बाँया पट्टि खेतमा झन्डै-झन्डै ५०-६० वटा खाल्टो खनी पानीमा अजोला खेती गरि रहेको यहाँ पनि देखे ।

“नेपालकै पहिलो र ठुलो अजोलाको फार्मीङ्ग हामीले नै गरेका हौ । अहिले यसलाई अझै डेभलप गर्दै लान बाकी नै छ । अहिले छाना नराखेकोले खैरो देखिएता पनि छानामा राख्ने बित्तिकै हरियो हुन थाल्छ ।” सबिन सरले हामीलाई जानकारी दिंदै अगाडी बढ्नु भयो । हामी पनि पछी(पछी लाग्यौं ।

अजोला खेतिबाट अझै अगाडी बढ्दा पोखरीहरू देख्यौं । यहाँ पनि २०वटा पोखरीहरु मध्य चार(पांचवटा पोखरीहरूमा हाँसहरू हामीहरूलाई देखिने बित्तिकै सबै एकै स्वरमा कराउंदै, एउटा पोखरीबाट अर्को पोखरीमा झुण्डका झुण्ड पोखरीमा वारिपारी गर्दै गरेको मनोरम दृश्य देख्यौं । यहाँ हाँसहरू ८ सय वटा पालेका रहेछन ।

“माछा पालेको पोखरीमा हाँसले अक्सिजन प्रवाह गर्ने हुनाले पनि हाँस पाल्ने रहेछन् । नर्सरी पोखरीमा हाँसहरू छोड्दैनौं । यस पोखरीमा हाँसले खान नसकिने ठुलो माछाहरू भएको हुनाले पनि हामीले हाँसलाई छोडी रहेको हो” सबिन सरले हाँस खेल्दै गरेको पोखरी देखाउंदै भन्नु भयो ।


त्यहाँबाट अलि अगाडी जाँदा पोखरीसंगै रहेको एल आकारको जग्गामा होमस्टे बनाउन जग पनि खनी सकेको देखे । योजना अनुसार एग्रोटुरिजमको निमित १२ वटा होमस्टे घरहरू पारि पट्टि बनाई, पोखरीसंगै कटेजहरू बनाउने र कटेजमा बसी माछा मारेर साँझपख क्याम्प फायरगरि बारबीक्यु गर्ने ठाउँ बढाउने रहेछ । सबिन सरले योजना भन्दै गर्दा आफु नै पोखरीमाथी खरले बनेको कटेजमा बसी माछा मारीरहेको कल्पनामा हराउन पुगेछु । संगै घुम्न आएको साथीले त अर्को वर्ष आउँदा यहिँ होमस्टेमा बसी साँझ हाँस, माछा बारबीक्यु गर्ने योजना समेत बनाइसकेका रहेछन् । म तिर फर्की “अर्को साल आउदा यसो गर्दा कसो होला ?” भनी आफ्नो योजना सुनाउन थाल्यो ।

उक्त पोखरीहरूमा अहिले पनि जाल हाल्यो भने डेढ-दुई किलो माछा आउने सबिन सरले भन्नुभयो । 

अली अगाडी जंगल छेउजाँदा सबैभन्दा ठुलो पोखरी देखे । सबिन सरसंग बुझ्दा १ बिगाह क्षेत्रफलमा फैलिएको त्यस पोखरीमा अहिले माछा नरहेको र डी.ए.पी, युरिया, गोबर राखेर मल तैयार गरिराखेको जानकारी दिनु भयो । गोबर चाहि पोखरीको माटोलाई मलिलो पार्न रहेछ । माछा पानीको सतहमा बस्ने र गोबर उनिहरूको दाना हुनाले पनि पोखरीमा गोबर राखिने र डी.ए.पी र युरियाले पानीलाई हरियो बनाउनुका साथै फोहर पानीलाई सफा बनाउने रहेछ । पोखरी प्रसोधनको प्रक्रिया सकेपछी तिलिपिया प्रजातिका माछा छोड्ने योजना रहेको छ । 

काठमाडौँ बाटैसंगै गएको जेनिस सरको अनुसार स्वादमा निक्कै रुचाउने यस माछालाई पहिले रोयल परिवारहरुले मात्र खाने गरिन्थ्यो । थाइल्याण्डको राजाले नेपालको राजालाई थाईल्याण्डको चिनो स्वरूप तिलिपिया माछा दिएको रहेछ । नेपालको राजाले यसलाई संरक्षण गरेपछि नेपालमा तिलिपिया प्रजातीको माछा पालन सुरु भएको रहेछ । क्यानमा प्याक भई साल्मोन, टुना भनेर बजारमा बेचिने प्राय यहि तिलिपिया माछा नै हुने रहेछ ।

त्यसपछी पोखरी वारि पट्टि देखिने बिभिन्न रुखहरू रोपीरहेको एग्रोफोरेस्त्रीमा गयौं । जसलाई एग्रोफोरेस्त्रीको रुपमा मात्र नभई एग्रोटुरिजमको रुपमा पनि लैजाने योजना रहेको सबिन सरले बताउनु भयो । 

ईष्टर्न स्टार एकिकृत कृषि बन परियोजनाको गेटबाहिर पक्ष्श्चिममा रहेको २० बिगाह जग्गामा पहेलो तोरीको फुल लहलहाउँदै गरेको मनमोहक दृश्यले स्वागत गर्दै थियो । सबैले मोबाइल खल्तीबाट झिकी फोटो खिंच्न ब्यस्त देखिए । 

पछी यस ठाउँमा पैगोडा सैलीको हाउजीङ्गहरू बनाई बिदेशी र स्वदेशी पर्यटकहरू १५(२० दिन बस्न मिल्ने गरी यहिकै अर्गानिक खाना संगै अग्रोफार्म मै रमाउने बातावरण बनाउने योजना दिनेश सरले आफ्नो मोबाइलमा रहेको “दर्शन कल्चरल भिलेज” प्लानिंङ्ग म्याप देखाउंदै हामीलाई सुनाउनु भयो ।

यस क्षेत्रमा पर्यटन विकासको लागी यहाँकै स्थानियको प्रमुख भुमिका रहने गरी यस क्षेत्रको रहनसहन, भाषा, कला, संस्कृति, नाचगान र असल सभ्यता, चाडपर्व आदिका बारेमा जानकारी दिन सकियो भने अझै एग्रोटुरिजममा टेवा पुग्ने छ ।


No comments:

Post a Comment