Monday, November 16, 2020

म्ह पुजा कसरी गरिन्छ ?

 म्ह पुजा कसरी गरिन्छ ?




श्रीकृष्ण ज्यापु

चन्द्रमासको आधारमा प्रत्येक बर्षको कछला थ्व परेवाको दिनमा नै म्ह पुजा गर्ने नेवाः समुदायको मौलिक संस्कृति हो । म्ह पुजा भनेको नेवाः समुदायले मान्दै आएको मौलिक संस्कृति हो । म्ह पुजा ठाउ विशेष अनुसार केहि तरिकामा भिन्नता रहेकता पनि मूलभूत रुपमा पुजाको विधि र सिद्धान्त भने एउटै रहेको पाइन्छ । 

म्ह पुजा गर्नका लागी सबै भन्दा पहिला म्ह पुजा गर्ने स्थानमा गोबरले लिप्ने गरिन्छ  र त्यसपछि शुद्ध गर्नका लागी चोखो पानी छर्कने गरिन्छ । त्यसपछि सो स्थानमा कुचोले बराल्ने गरिन्छ । त्यसपछि म्हा पुजा गर्ने जतिजना छन् त्यो भन्दा दुईटा बढि हुने गरि अष्टमण्डप चामलको पिठोले लेल्खे गरिन्छ । सबै भन्दा माथि र सबै भन्दा तल गरि दुई वटा देवटाको नाममा लेखिन्छ । मण्डप भनेको ब्रम्हाण्डको प्रतिक हो । मण्डपलाई रंगिन गर्नका लागि रातो अभिर पनि राख्ने ििगरन्छ । त्यसपछि मानिसको शरिर जहिले पनि रहदैन भन्ने प्रतिकको रुपमा लाभा मण्डमा चारैतिर राख्ने गरिन्छ । त्यसपछि विश्व ब्रम्हाण्डमा रहेका विभिन्न ग्रहहरुकै प्रतिकको रुपमा कालो भतमास, गेरामास राख्ने गरिन्छ । मण्डको वीचमा जीवन नसुरको प्रतिकको रुपमा आखे अर्थात अक्षताको राख्ने गरिन्छ । अक्षताको वीचमा खाली गरि तेलको मण्डप बनाउेन गरिन्छ । तेलको मण्डप भनेको जीवन चिरन्जीवीको प्रतिक हो ।

मण्डप निर्माण पछि सबै भन्दा पहिला तःसि अर्थात विमिरो राख्ने गरिन्छ । तिहारको समयमा पाउने सबै भन्दा महत्वपूर्ण फलफुलको रुपमा विमिरोलाई लिने गरिन्छ । सुन्तला, मौसम, चाकुसी लगायत केशरी भएका फलफुल मध्ये सबै भन्दा महत्वपूर्ण फलफुको रुपमा नै विमिरोलाई लिने गरिन्छ । त्यसरी केशरी भएका फलफुलहरु विमिरोवाट नै विकास भएको मनिने भएका कारण म्ह पुजाको दिनमा विमिरो भने नभई नहुने जनधारणा रहेको पाइन्छ । त्यसपछि विभिन्न फलफुलहरु केरा, भोगटे, हलुवाबेच, ओखर, अमला, सिंगली (कतुस) लगायत राखेपछि फूल समेत राख्ने गरिन्छ मण्डपमा । 

त्यसरी तयार भएपछि चामलको पीठोले बनाएको मानिस जस्तो बनाएको स साना मूर्ति र पानस अर्थात त्वाः देवाः बनाई प्रत्येक मण्डप अगाडी एउटा एउटा राख्ने गरिन्छ । त्यसै गरि पञ्चरंगको कपडा सहितको धागोको माला क्वखा राख्ने गरिन्छ । यसरी तयार भएको मण्डपको सबै भन्दा मथि देउटाका लागि राखी त्यसपछि क्रमश थकालीदेखि बस्दै आउछन् । सबै जना आ आफ्नो मण्डप अगाडी बसेपछि  सुकुन्दामा आगो बाल्दै पुजा गर्ने गरिन्छ । त्यसरी सुकुन्दा बाल्नु र पुजा गर्नु भनेको बत्ति देवतालाई पुजा गर्नु हो । सुकुन्दा अर्थात बत्ति देवतालाई सक्षि राख्दै पुजा सुरु गर्ने हो । 

सुकुन्दालाई पुजा सकिएपछि मण्डपमा पुजा गरिन्छ । मण्डमा पञ्चत्व पृथ्वी तत्व मध्ये पृथ्वी तत्वको प्रतिकको रुपमा चालम अर्थात अक्षताले पुजा गर्ने, जल तत्वको रुपमा पानी, तेज तत्वको रुपमा टिका लगाउने, वायु तत्वको प्रतिकको रुपमा धागोको मला लगाउने गरिन्छ । निर्जिवलाई पनि यसरी पञ्चतत्वले पुजा गरेपछि त्यो सजिवको रुपमा लिने नेवाः संस्कृतिको दर्शन अनुसार नै मण्डपमा पुजा गर्ने गरिन्छ । 

परिवार जनमा कुनै पनि ब्यक्ति विदेशमा गएको अवस्था छ भने त्यसको लागि पनि राखिएको मण्डपमा समेत पुजा गरिन्छ । त्यसरी मण्डमा पुजा गरिसकेपछि सबै जनाको शरिमा पनि पुजा गर्ने गरिन्छ । मण्डपमा जस्तै मानिसलाई पनि पञ्चतत्वले पुजा गरिन्छ । पुजा गर्ने क्रममा पाठीमा अविर, अक्षता, विभिन्न स साना फूलदेखि ओखर, योमरि समेत राखी मण्डमा खन्याउने गरिन्छ । त्यसरी मण्डपमा तीन पटक सम्म खन्याउनेलाई नेपालभाषामा फं लुइगु भनिन्छ । त्यसै गरि म्ह पुजा गर्ने ब्यक्तिलाई पनि पुजा गर्ने गरिन्छ । पाठीमा अविर, अक्षता, फलफुलदेखि ओखर समेत राखी तीन पटक खन्याउने विशेष प्रकारको पुजा गरिन्छ ।  

त्यसरी तीन पटक सम्म पाठीले पुजा गर्ने भनेको शरिर, मन अर्थात आत्मा र बुद्धिका पुजा गर्ने हो । म्ह पुजा गर्ने ब्यक्तिलाई पनि त्यसरी नै पुजा गरिन्छ । 





त्यसपछि पञ्चरंगको माला सहितको आ आफ्नो मण्डपमा रहेको विमिरोलाई हस्तान्तरण गरि त्यसलाई धोग्ने गरिन्छ । त्यसपछि आ आफ्नो मण्डपको पञ्चरंगको माला लगाउने गरिन्छ । 

त्यसपछि दहिको सौगन दिने गरिन्छ । दहिको सौगन दिने भनेको शुभ साइटको संकेत हो । दहिको सौगन पछि सबै जनालाई पञ्चतत्वको रुपमा सौगन दिइन्छ । सौगन दिने भनेको पञ्चतत्व ग्रहण गराउने हो । अण्डा सहितको सो सौगनलाई खेँ सगं भन्ने गरिन्छ । सौगन दिने क्रममा माछा, मासु, बारा (वः), अण्डा र रक्सी हुन्छ । माछा भनेको जल तत्व, मासु भनेको पृथ्वी तत्व, वः अर्थात बारा भनेको वायु तत्व, अण्डा भनेको आकश तत्व र रक्सी भनेको तेज तत्व हो । यो पाँचवटा तत्व सन्तुलित भए मात्र मानिस स्वस्थ्य हुने र जुन सुकै काम गरेतापनि सफल हुनेछ भन्ने दर्शन बोकेको नेवाः संस्कृति हो । पञ्चतत्वात्मक जीवनमा एउटा पनि तत्व कमजोर भयो भने पनि अस्वस्थ्य हुने जन विश्वार रहेका कारण पञ्चतत्वलाई सन्तुलित बनाउन सौगन दिदै आएको नेवाः समुदायको तान्त्रिक दर्शन रहेको छ । सो सौगन दिने क्रममा अण्डा तीन पटक टोक्दै आनुपर्ने र रक्सी पनि तीन पटक लिनुपर्ने चलन छ । त्यसरी तीन पटक खाने भनेको आफ्नो शरिर, मन र बुद्धिका लागि भनिन्छ । त्यसरी म्ह पुजा गर्ने क्रममा म्ह पुजा गर्ने ब्यक्तिलाई पनि सोहि प्रकारमा पुजा गर्ने चलन रहेको छ । 

यसरी पुजा पनि भोज खाने गरिन्छ । 

नेवाः समुदायले म्हा पुजा गर्नु भनेको बर्षभरी सफलताका लागि नयाँ बर्षमा पञ्चतत्वात्मक शरिरमा कुनै कथिनाई आउन नदिन र जीवनमा आउन सकिने विभिन्न प्रकारका समस्यासंग संघर्ष गर्दै अगाडी बढ्नका लागि संघर्षवादी सिद्धान्त अनुसार नै सो पुजा गर्दै आएको हो । 

यो संस्कृति भनेको संघर्षवादी सिद्धान्त अनुसार नेवार समुदायले मनाउदै आएको छ । विश्वको कुनै पनि मुलुक र समुदायमा नभएको मानिस नै देवता बन्ने संस्कृति र मानिसको शरिरलाई पुजा गर्ने संस्कृति नेवार समुदायमा मात्रै रहेको छ । त्यसैले यो संस्कृतिक नेवाः समुदायको मौलिक मात्र नभई पहिचान बनिसकेको अवस्था छ ।

No comments:

Post a Comment