Tuesday, May 19, 2020

भरोसा योग्य बन्दैछन उत्पादनमुलक सहकारीहरु

भरोसा योग्य बन्दैछन उत्पादनमुलक सहकारीहरु





अधिवक्ता 
अनिल आचार्य

समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरु आपसि सहयोगको लागि समान उदेश्य राखि संगठित भई थोरै थोरै बचत संकलनबाट बृहत कोष खडा गरी समूह भित्रकै सदस्यहरु लाई सहुलियत ब्यजदरमा कर्जा उपलब्ध गराई उद्यमी बन्न तथा सदस्यहरुलाई आई पर्ने साना ठुला समस्या टार्न सहकारी संस्था असल माध्यम बनेका छन । बैंक तथा बित्तिय क्षेत्रमा पहुच नभएका ब्यक्तिहरुको लागि आर्थिक कारोबार गर्न सहकारि एक उत्तम बिकल्पको रुपमा स्थापित भएको छ । मुलतः आर्थिक कृयाकलापका लागि गठन गरिने भएता पनि विषयगत आधारमा सहकारी संस्थाहरुलाई बिभिन्न किसिममा बर्गिकरण गरिएको छ । मुख्यतया ग्रामीण क्षेत्रमा गरिबी निवारण, उद्यमशीलता, स्थानिय उत्पादनका लागि बजारको खोजी तथा रोजगार सृजनामा सहकारीको भूमिका निकै महत्वपूर्ण रहेको छ । सहकारी ऐन, २०७४ को दफा २१ मा सहकारी संस्थाले कारोबार, ब्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्ने तथा दफा २(न) मा सहकारी ब्यवसाय भन्नाले सहकारी संस्थाको विनियममा व्यवस्था भए बमोजिम सञ्चालित व्यवसायिक क्रियाकलाप सम्झनु पर्दछ । भन्ने कानुनि ब्यवस्था रहेकोले सहकारी संस्थालाई ब्यवसायिक कारोबार सञ्चालन गर्न निकै सहज बनाएको छ ।

सहकारी ऐन, २०७४ बमोजिम सहकारीलाई बचत तथा ऋण, बहुउद्देशिय तथा विषयगत जस्ता बर्गमा 
बर्गिकरण गरी संञ्चालन गरिएता पनि सबैको साझा उदेश्य भनेको आर्थिक कृयाकलाप सञ्चालन गर्नु हो । यद्यपि बचत तथा ऋणको उद्देश्य भएका सहकारीले सदस्यहरुको बचत संकलन गरी ऋण प्रवाह गर्ने छन भने विषयगतले आ आफ्ना उद्देश्य बमोजिमका काम गरि आर्थिक कृयाकलाप गर्ने छन । बहुउद्देशिय सहकारीले कस्तो प्रकृतिको काम गर्ने भनि ऐनले प्रस्टयाउन सकेको छैन । यस ऐनले कुनै पनि स्थापित वा स्थापना हुन लागिरहेको सहकारीको मुख्य व्यवसाय के हुने, सो पहिल्यै किटान गर्न लगाएको छ । यस पूर्व सहकारीको नाम जे राखेता पनि काम भने बचत तथा ऋणको गर्ने भएकोले अबदेखि नाम अनुसारकै काम गराउन यो प्रवन्ध राखिएको देखिन्छ । न्यूनतम २५ वटा सहकारी मिलेर विशिष्टिकृत सहकारी खोल्दै तोकिएका ठुला ब्यवसाय गर्न पाउने छुट ऐनमा रहेकोले सहकारीलाई ब्यवसायमुखि बनाउन खोजेको प्रष्ट देखिन्छ ।

सहकारी ऐन, २०४८ लागु हुदा बि.स. २०४९ साल सम्म मुलुकमा जम्मा ८३० वटा सहकारी संञ्चालनमा थिए । वि.स.२०७४ मा नयाँ सहकारी ऐन पारित हुदा यो संख्या ३४,००० पुगि सकेको थियो । यस अन्तरालमा सहकारीको संख्या मात्र होइन सहकारी सम्बन्धि कृयाकलाप, चेतना तथा प्रभाव पनि निकै बढि सकेको थियो । सहकारी ऐन,२०४८ ले सदस्यहरु संग संकलन गरेको बचत रकम कहा लगानि गर्ने भनेर कल्पना गरेको देखिदैन । जुन सहकारीहरु उत्पादनमुखि तथा ब्यवसायमुखि छैनन त्यस्ता सहकारीहरुलाई हाल सम्म पनि बचत रकम कहा लगानि गर्ने चिन्ताको बिषय बनेको छ । सहकारीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुदा सदस्यहरु संग चर्को ब्याजदरमा संकलन गरेको रकम कहाँ लगानि गर्ने मुख्य चुनौति बन्न पुग्यो । सरकारसंग प्रष्ट नीति नहुनु तथा अनुगमन फितलो हुने जस्ता कारणहरुले गर्दा सञ्चालकको महत्वकाक्षा बढन गई हाउजिङ्ग लगायतका पूँजीप्रधान क्षेत्रमा हात हालेकोले यसै क्रममा केहि सहकारी डुबेर निक्षेपकर्ताहरुलाइ अलपत्र पारेकोले आज नेपालमा सिंगो सहकारी क्षेत्रलाई नै हेर्ने दृष्टिकाण सकारात्मक हुन सकेको छैन । किसानका उत्पादनको सुलभ मुल्यमा बजारिकरण, कृषि पेशालाई आधुनिकिकरण गर्न , कृषि औजारको बजारिकरण, साना तथा ठुला उद्योग मार्फत बिभिन्न बस्तुहरुको उत्पादन गर्ने जस्ता उद्यमसिल कार्यहरु गरिरहेका सहकारीहरुलाई समेत सोहि दृष्टिकोणले हेर्दा समाजमा उदाहरणिय कार्य गर्ने सहकारीलाई पनि सहज तरिकाले काम गर्न निकै गाह्रो भएको छ । 

सरकारको तिन खम्बे अर्थनीति अन्तर्गत सहकारी एक बलियो खम्बा हो । राष्ट्रको संबृद्धिमा यसको निकै ठुलो योगदान रहेको छ । तथापि सहकारीलाई हेर्ने राष्ट्रिय नीति सकारात्मक हुन सकेको छैन । जुन निकै ठुलो दुर्भाग्य हो । एकातर्फ सरकारको कमजोर नीति र पर्याप्त कर्मचारीको अभावले प्रभावकारी रुपमा निरिक्षण तथा निर्देशन हुन नसक्नु अर्को तर्फ बचतकर्ताहरु पनि सहकारीले गरेको काम हेरेर आर्थिक रुपमा बलियो सहकारीमा बचत गर्नुको साटो कुन सहकारीले १८ देखि २० प्रतिशत सम्म ब्याज दिन्छ भन्दै खोज्दै जाने अवस्थाले गर्दा ब्यवस्थापकिय तथा बित्तिय अवस्था कमजोर भएका सहकारीले ठुलो रकम संकलन गरी रातारात भागेका केहि प्रतिनिधि घटनाहरुले गर्दा आज सहकारीले समाजमा सकारात्मक धारणा बनाउन सकेको छैन । सहकारीप्रति समाजमा बिस्वासको बातावरण बढाउन सबैभन्दा पहिले सहकारीहरुले एक आपसमा अस्वस्थ प्रतिस्पर्धा हटाउनु पर्ने छ ।

देशभर छरिएर रहेका सहकारीहरुले उत्पादन गरेका बिभिन्न उत्पादनहरुले समेत बजार नपाएको अवस्थालाई मध्यनजर गर्दै देशभरका सहकारीहरुको उत्पादन तथा आफ्नो उत्पादनलाई एकीकृत गरी आधुनिक मार्ट तथा डिपार्टमेण्टल स्टोर मार्फत सुलभ मुल्यमा बिक्रि गर्न थालेका केहि सृजनसिल सहकारीको कार्य निकै प्रशंसनिय रहेको छ । आर्थिक उपार्जन तथा रोजगारी सृजनाको दिर्घकालिन लक्ष्य भनेको बस्तु उत्पादन र त्यसको बजारीकरण नै रहेकोले सहकारीको लागि यो सवैभन्दा ठुलो अवसरको रुपमा रहेको छ । प्रयाप्त लगानिको अभावमा ठुला उद्योग तथा फार्म हाउसहरु खुल्न नसकि देशमा बेरोजगारी समस्या बढिरहेको अवस्थामा औद्योगिक बातावरण सृजना गर्न सहकारीको लागि यो स्वर्ण अवसर हो ।  

सहकारीप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सरकारको प्रभावकारी नीति, संञ्चालकको असल नियत र बिभागिय जिम्मेवारी लिएका निकायको प्रयाप्त नियमनको खाँचो पर्दछ । बचतकर्ताहरुले सहकारीको छनोट गर्दा बढि ब्याज दिने भन्दा पनि आफ्नै उद्योग ब्यवसाय सञ्चालन गरेका सहकारीलाई बिस्वास गर्दै जानु सुखद पक्ष हो । ब्यवसायिक सहकारीमा बचत सुरक्षित हुनुका साथै आफ्नो उत्पादन समेत बिक्रि गर्न पाउने र आवस्यकिय सामग्रि सुलभ मुल्यमा खरिद गर्न पाउदा शेयर सदस्य तथा बचतकर्ताले अपनत्व महसुस गरेको देखिन्छ । क्रमिक रुपमा सहकारीहरु उत्पादनमुखि हुदा उत्पादनले बजार नपाउने र उपभोक्ताले महगंो मुल्य तिर्नु पर्ने अवस्थाको अन्त्य भइ उपभोक्ताले सुलभ मुल्यमा आवस्यकिय बस्तु खरिद गर्न पाउने बातावरणको सृजना हुदैछ । परिणाम स्वरुप उत्पादनमुखि तथा ब्यवसायिक सहकारीहरु शेयर सदस्यको दैनिक कृयाकलाप संग जोडिदा भरोसा योग्य संस्था बन्दै गएका छन ।  

No comments:

Post a Comment