Monday, August 12, 2019

कीर्तिपुर भेगका सामुदायिक विद्यालयका छात्रा मध्ये प्रथम मंगल स्कुलका छात्रा स्मृति महर्जन सँगको भलाकुसारी

कीर्तिपुर भेगका सामुदायिक विद्यालयका छात्रा मध्ये प्रथम मंगल स्कुलका छात्रा स्मृति महर्जन सँगको भलाकुसारी

परिस्थिति अनुसार आपूmलाई ढाल्न सक्नु नै सफलता हो — स्मृति महर्जन

स्मृति महर्जन, एसईई—२०७५मा मंगल मा.वि.छात्रामध्ये उत्कृष्ट हुन सफल । विद्यालयको दोस्रो उत्कृष्ट बन्न सफल हुनु भएको छ । कीर्तिपुरका सामुदायिक विद्यालयका छात्रा मध्ये प्रथम हुन सफल भएकी स्मृति महर्जनसँग उहाँको पढाई सम्बन्धी केही भलाकुसारी यहाँ प्रस्तुत गर्न लागेका छौं —संपादक

बुबा अमन महर्जन, आमा सुमित्रा महर्जनको जेठो छोरीको रुपमा स्मृति महर्जन कीर्तिपुर वडा नं. १० तःननि टोलमा जन्मनु भएकी थिइन । उहाँको बुबा अमन महर्जन गत स्थानीय तहको चुनावमा की.न.पा. वडा नं.१० को वडाध्यक्षमा चुनिनु भएको थियो । उहाँको आमा सुमित्रा महर्जन मंगल मा.वि.का स्थायी शिक्षिका हुनुहुन्छ ।

स्मृतिजी तपाईं मंगल स्कुलको सेकेण्ड टपर र छात्रा मध्ये टपर हुन सफल भएकोमा बधाई तथा शुभकामना

—धन्यवाद

तपाईंले एसईईको रिजल्ट बारे कसरी थाहा पाउनु भयो ?

—आज रिजल्ट हुन्छ भन्ने थाहा पाएर दिनभरि कहिं नगैकन घरमा बसेर नतिजा कुरिरहेको थिएँ । नतिजा निस्केपछि आफैले हेरेर थाहा पाएको हुँ ।

यो रिजल्ट तपाईंको अपेक्षा अनुसार छ कि छैन ? यो रिजल्टले तपाईं सन्तुष्ट 
हुनुहुन्छ ?

—मेरो अपेक्षा त यो भन्दा बढी थियो । तर अहिले जुन रिजल्ट आयो त्यसमा म सन्तुष्ट छु ।

तपाईंको पढाईको सुरुवात कुन स्कुलबाट भएको थियो ?

—मेरो पढाईको सुरुवात मंगल स्कुलबाट नै सुरु भएको हो । पूर्वप्राथमिक कक्षा मंगलमा पढें । त्यसपछि कक्षा १ देखि कक्षा ५सम्म हिलटाउन स्कुलमा पढें । त्यसपछि कक्षा ६ र ७ क्रिएटिभ स्कुलमा पढें । कक्षा ८ देखि मंगलमा पढेको हुँ ।

यसरी विद्यालय फेरिंदै जाँदा तपाईंलाई अप्ठेरो महसुस भएन ? पढिरहेको विद्यालय छाडेर अर्को विद्यालयमा जान्न भनेर तपाईंले विरोध गर्नु भएन ?

—बुबा आमाले जहाँ जहाँ लगेर पढाउनु भयो । म त्यहाँ त्यहाँ पढ्न गएँ । मेरो आमाबुबाले मेरो भलाईंको लागि नै विद्यालय परिवर्तन गराउनु भएको होला भनेर म सन्तुष्ट नै थिएँ । परिस्थिति अनुसार मैले स्विकार गर्दै गएँ । म मंगल गएको एक वर्षपछि क्रिएटिभका मेरा अरु साथीहरु पनि मंगलमा भर्ना हुन आए ।

क्रिएटिभ स्कुलबाट मंगल स्कुलमा आउँदा तपाईंलाई कस्तो महसुस भयो ? पढाईमा असर गरेन ?

—स्कुल परिवर्तन गरे पनि मेरो पढाईमा खासै असर गरेन किनभने क्रिएटिभमा जस्तै मंगलमा पनि अंग्रेजी माध्यमबाट नै पढाई भएकोले मलाई कुनै किसिमको अप्ठेरो भएन । शिक्षक शिक्षिकाहरुले पनि त्यतिकै राम्रो व्यवहार गर्नुहुन्छ । केही कुरा सोध्नु परे पनि निर्धक्क सोध्न सकिन्थ्यो र जवाफ पनि राम्ररी पाउँथें ।

तपाईंलाई क्रिएटिभ स्कुलबाट मंगल स्कुलमा किन ल्याएको होला ?

—मेरो आमा शिक्षा सेवा आयोगमा जाँच दिएर मंगल स्कुलको स्थायी शिक्षक हुनुभयो । स्थायी शिक्षकले आफ्नो बच्चालाई आपूmले पढाउने विद्यालयमा पढाउनु पर्छ भन्ने नियमले गर्दा मेरो आमाले मलाई मंगलमा भर्ना गराउनु भएको थियो । म आमाबुबाको आज्ञाकारी छोरी बन्न रुचाउँछु । मेरो आमाबुबाले जे गर्नुहुन्छ मेरै भलाईंको लागि गर्नुहुन्छ भन्ने मलाई विश्वास थियो ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा कतिको सक्रिय हुनुहुन्थ्यो ?

—म विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा सक्रिय रुपले भाग लिन्थें । म अलि सानो छँदा अर्थात ५, ६ वर्ष पहिले नै दुईटा म्युजिकल भिडियोमा अभिनय गरिसकेको थिएँ । ३ वर्ष पहिले नेपालभाषाको टेलिसिरियल “बाखँचा” मा पनि बाल कलाकारको रुपमा अभिनय गरिसकेको थिएँ ।

यसरी अतिरिक्त क्रियाकलापमा भाग लिइरहँदा पढाईमा डिस्टर्व  हुन्छ भन्छन् । तपाईंलाई कस्तो लाग्छ ?
—त्यस्तो हुँदैन । म की.न.पा. वडा नं. १०को वडास्तरीय बाल क्लबको अध्यक्ष पनि हुँ ।
अतिरिक्त क्रियाकलापले हाम्रो दिमागी क्षमतालाई अझ बढाउँछ । अतिरिक्त क्रियाकलापको साथै पढाईमा पनि ध्यान दिनुपर्छ । म पढ्ने बेलामा पढ्छु । पढाई बिगारेर अत्तिरिक्त क्रियाकलाप मात्र गरेर हिंडेको छैन ।

तपाईं त घरको जेठी छोरी, आमा जागिरे घरमा खुब काम गर्नु पर्छ होला नि ?

—पर्दैन । स्कुल छुट्टि भएर आउँदा आमाको पनि छुट्टि भइसक्थो । घरमा मेरो हजुरआमा हुुनुहुन्छ । मेरो हजुरआमाले मलाई केहि काम गर्न दिनुहुन्न । संधै पढ्न प्रेरणा दिइरहनु हुन्थ्यो । २०७२ सालको भूकम्पमा म खुब डराएको थिएँ । त्यसपछि नडराउ भनेर हजुरआमाले सम्झाउनु हुन्थ्यो । हजुरआमा कहिं नगैकन मलाई साथी बसिरहनु हुन्थ्यो ।

तपाईंको जीवनको प्रेरणाको श्रोत को हो ?

—मेरो प्रेरणाको पहिलो श्रोत त मेरो आमाबुबा नै हुनुहुन्थ्यो । त्यसपछि हेड मास्टर लगायत सम्पूर्ण सर, मिसहरु, मेरो ननिता दिदी हुनुहुन्छ । ननिता दिदीले बडि बिल्डिंगमा मेडल जितेर आउँदा उहाँले जति सम्मान पाउनु भयो । उहाँले सम्मान पाउनु भएको देखेर म प्रभावित भएँ । म पनि जिन्दगीमा केही गरेर देखाउँछु । अनि म पनि सम्मानित हुन्छु भन्ने मनमा थियो । अहिले एसईईको नतिजामा विद्यालय छात्रा टप भएपछि १.अष्टमाया गणित पुरस्कार, २.आशामुनि रत्न पुरस्कार ३.शेरबहादुर नगद पुरस्कार ४.रोेनेट डट कम पुरस्कार, ५. मंगल नगद पुरस्कार पाउँदा म गौरवान्वित भएको छु । भविष्यमा पनि यस्तै पुरस्कार र सम्मान पाउने अपेक्षा छ ।

अहिले तपाईं कुन कलेजमा के विषय पढ्न लाग्नु भएको छ ?

—म विज्ञान विषय पढ्न चाहन्छु । मैले सेन्टमेरिज कलेज लगायत ४, ५ वटा कलेजमा प्रवेश परीक्षा दिएको थिएँ । सबै कलेजमा मेरो नाम निस्केको थियो । तर मैले अहिले सेन्टमेरिज जावलाखेल कलेजलाई रोजेर त्यहिं साइन्स विषय पढिरहेको छु ।

भविष्यमा के बन्ने लक्ष्य छ ? डाक्टर या इन्जिनियर ?

—मैले अहिले पढ्ने साइन्स विषयले १२ कक्षा पास भइसकेपछि जुन विषय पनि पढ्न पाउँछु । त्यहिबेला निर्णय
गरौंला । अहिले यहि भनेर निर्णय गर्ने बेला भएको छैन । अहिले कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याएर पास हुने मात्र मेरो लक्ष्य हो ।

अन्तमा तपाईं आफ्ना पछिका भाइ बहिनीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

—कक्षामा शिक्षकले पढाउने बेलामा ध्यान दिएर सुन्ने । नबुझेको कुरा निर्धक्क भएर सोध्ने । अहिले पढ्नु पर्ने पाठ पछि पढुंला कहिल्यै नभन्नु, अहिलेदेखि मेहेनत गर्नु पर्छ अनि सफलता पाउनु हुनेछ ।

No comments:

Post a Comment