Sunday, November 19, 2017

को हुन पुकार महर्जन ?

को हुन पुकार महर्जन ?

 


काठमाडौं क्षेत्र नं. १० को प्रदेशसभा क बाट नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष उम्मेदवार बन्नु भएका पुकार महर्जनसंग हाम्रा सम्वाददाताले गर्नु भएको सिधा कुरा प्रष्ट विचार—संपादक

  कीर्तिपुर नगरपालिका वडा नं.८ पाँगा भुजिन्द निवासी आमा न्हवं महर्जन र बुबा सानु भाई महर्जनको माहिलो छोराको रुपमा २०२७ साल बैशाखमा जन्मनु भएको हो । लेबोरेटरी स्कुलबाट एस एल सी परीक्षा पास गरेको र शंकरदेव क्यम्पसबाट स्नातक उतीर्ण गर्नु भएको छ । स्कूल जीवनदेखिनै ने.वि.संघको राजनीतिमा प्रवेश गर्नुभएको उहाँ २०४७ सलामा विष्णुदेवी गाउँ इकाईको सभापति, २०५४ देखि २०५८ सालसम्म की.न.पा. १० इकाई समिति सभापति, २०५९ सालमा नेपाली कांग्रेस क्षेत्र नं.१०को उपसभापति, २०६४ सालमा क्षेत्रिय सचिव, २०६८ सालमा महाधिवेशन प्रतिनिधि र २०७२ सालको १३ औं महाधिवेशनबाट १० नं. क्षेत्रिय सभापतिको जिम्मेवारी सम्हाल्दै आइरहनु भएको छ ।

 तपाईंको क्षेत्रमा वाम गठबन्धनबाट दिलिप महर्जन उम्मेदवार हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका नेता, पूर्व राज्यमन्त्री पनि हुनुहुन्छ । तपाईंहरु दुबैजना पाँगाको हुनुहुन्छ । उहाँसंग तपाईं कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?

 —पहिला त म कीर्तिपुर निवासी हुँ । भौगोलिक रुपमा जो जहां बसे पनि क्षेत्रिय कुरा गर्नु उचित नहोला । चुनावको प्रतिस्पर्धामा क्षमता नै प्रमुख हो । जो जुन हैसियतमा भए पनि त्यसको योग्य र अयोग्य भन्ने कुरा जनताले जाँच्ने हो । आवधिक निर्वाचनको सुन्दर पक्ष नै यही हो । म जनतासंगै बसेर उहाँहरुको सुख दुःखमा साथ दिंदै समाज सेवा गर्दै आएको हुुँ । मसंग यो क्षेत्र विकासको लागि र समृद्धि बनाउन स्पष्ट भिजन छ ।

 तपाईंको चुनाव कसरी चलिरहेको छ ?

—निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिसकेपछि ठाउँ ठाउँमा प्रमुख व्यक्तित्वहरुलाई, समुहहरुसंग भेटघाट गर्ने कार्य गरिरहेको थिएँ । कार्तिक २६ गते मेरै संयोजकत्वमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, बुद्धिजिवी, नगर सभापतिहरु, क्षेत्रिय समितिका, नगर समितिका साथीहरु भ्रातृ संगठन, शुभेच्छुक संगठन र समावेशी लोकतन्त्रप्रति आस्था राख्ने सबै समावेश गरी ५०१ जनाको चुनाव परिचालन समिति गठन ग¥यौं । लगतै विभिन्न २१ वटा उपसमितिका संयोजकहरु छनोट गर्ने कार्य पनि भेलाले गरिसकेको छ । अब प्रचार प्रसार छिटो छरितो अगाडी बढ्छ ।

 यो वाम गठबन्धनलाई तपाईंले कसरी हेर्नु भएको छ ?

—यो वाम गठबन्धनलाई मैले आफ्नो अस्तित्व जोगाउन लडीरहेको प्रचण्डको डरको परिणाम हो भनी ठान्दछु । यो गठबन्धन खाली नेताहरुको सीट सुरक्षित गर्ने कार्य मात्र हो र यो जवरजस्ती कार्यकर्ता माथि लादिएको गठबन्धन हो । हिजो पनि प्रचण्डको छोरीलाई जिताउन प्रचण्डले चितवनको भरतपुर नगरपालिकामा  कांग्रेससंग गठबन्धन गरेकै हो । पहिलो परिणाम त सबैलाई थाहा नै छ । अब फेरि त्यही प्रचण्ड एमालेसंग गठबन्धन गरिरहेको छ ।

 स्थानीय तहको चुनावमा एमाले र माओवादीले पाएको मतको आधारमा भन्ने हो भने वाम गठबन्धनको मत बढी देखिन्छ । तपाईंले जित्ने आधार के के छन ?

—हो, स्थानीय तहको निर्वाचनमा पाएको मतको डाटा हेर्ने हो भने त्यो ठीक छ । वास्तवमा अवको निर्वाचनमा त्यो हुँदैन । एक त स्थानीय निर्वाचनमा वडा वडामा उम्मेदवार हुंदा टिकट वितरण प्रक्रिया नमिल्दा धेरै साथीहरु असन्तुष्ट निस्के जसको परिणाम हार व्यहोर्नु प¥यो । अब त त्यो सबै मिलाई सकेको छु । त्यो मिलाउन सफल हुनुको परिणाम अब देखिन्छ । दोस्रो गठबन्धनको जोड घटाउसंग डराउनु पर्ने अवस्था छैन । म्याठम्याटिकको १५प्लस ५ बराबर २० हो । अब यहाँ १५ ले ५ तान्न सजिलो हुन्छ कि ५ ले १५ तानेर २० गर्न सजिलो हुन्छ । क्षेत्र नं.१० क को सवाल यहि हो । अझ गठबन्धनले त कतिको आत्मसम्मान माथि नै ठेस पुगेको छ । त्यसको मूल्याङकन पनि होला । तेश्रो मेरो इमान्दारीता, जनतामा गरेको सेवा र विकास निर्माणमा सहभागिताले यस पटक जनताले मलाई पक्कै न्याय गर्नेछन् ।

 यो क्षेत्रको विकासको लागि तपाईंले के के योजना बनाउनु भएको छ ?

—यो क्षेत्र विकासको लागि कीर्तिपुर जहांबाट हिमाली रेन्ज जस्ता मनमोहक दृश्य देखिन्छ । कीर्तिपुर चोभार, टौदह, दक्षिणकाली जस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी आवश्यक विकास निर्माण गर्ने जसबाट ठूलो आयश्रोत हुन्छ । त्यसको लागि पर्यटकीय रुट राख्न पनि सम्बन्धित निकायमा पहल गर्ने । औद्योगिक मैत्री वातावरण तयार गरी उद्योगहरु भित्राउने जसले रोजगारीका अवसरहरु बढ्न गई युवा बेरोजगारीलाई न्यूनिकरण गर्ने लक्ष्य पनि लिएको छु । ज्येष्ठ नागरिकलाई सम्मान र यूवालाई मान भन्ने उदेश्यका साथ ज्येष्ठ नागरिकहरुलाई उचित व्यवस्थापन गर्ने योजना ल्याउने र यूवाहरुलाई रोजगारको अवसरमा बृद्धि गर्न यूवा स्वरोजगार तालिमका साथै विभिन्न कार्यक्रमहरु संचालन गर्ने । यूवाहरुलाई कुलतबाट जोगाउन खेलकुदलाई प्राथमिकता दिने । विशेष गरी यूवा रोजगारलाई नै बढी प्राथमिकता दिने छु । उपलब्ध प्राकृतिक श्रोत साधनलाई उपयोग गरी समृद्ध क्षेत्र निर्माणको लागि विशेष पहल गर्ने । पानीको विस्तृत अध्ययन गरी म्एच् तयार गरी दिर्घकालीन समस्या समाधान गर्ने । त्यसको पूर्व समस्या स्थल पहिचान गरी पानीको समानुपातिक वितरण प्रणालीलाई कडाइका साथ कार्यान्वयन गराउने । चोभार–छैमले सडकले जनजीवन अस्तव्यस्त भएको छ । यसको निर्माण कार्यलाई चाँडै सकाउन आवश्यक परे धर्ना दिने । महिला समुहलाई सशक्त बनाउन आवश्यक योजनाहरु ल्याउने । यो क्षेत्रमा कम्तिमा एउटा पोलिटेक्निकल कलेज संचालन गर्न आवश्यक पहल गर्ने ।

 अन्तमा केही भन्नु छ कि ?

—अन्तमा संविधानलाई कार्यान्वयन गर्न पहिलो निर्वाचन हो । यस महान कार्यमा सही व्यक्तिलाई छनोट गर्न सक्नु पनि जनताको  परीक्षाको घडी हो । प्रदेश सभालाई अवशिष्ट अधिकार हुन्छ । जून अधिकार संविधानले ब्याख्या गरेको हुँदैन । त्यसलाई प्रयोग गर्ने अधिकार प्रदेश सभालाई हुने भएकोले अध्ययनशील, शिक्षित, विचार दिन सक्ने व्यक्ति चुनेर पठाउनु पर्छ । साथै काम गर्न सक्ने, इमान्दार र जनताको बिचमै बसेर निश्वार्थ काम गर्नेलाई जनताले चुन्नु पर्छ जस्तो लाग्छ । त्यसको लागि प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकमा रुख चिन्हमा छाप लगाई अत्यधिक मतले कांग्रेसका उम्मेदवारहरुलाई जिताउन विनम्र अनुरोध गर्दछु ।

No comments:

Post a Comment