Saturday, August 19, 2017

सामुदायिक विकास समाजको दोस्रो साधारण सभा

सामुदायिक विकास समाजको दोस्रो साधारण सभा



कीर्तिपुर सन्देश÷
 पाँगाको साविक वडा नं. ९,१०,११ र १२ वडा हाल वडा नं ५ र ८ रहेको पाँगा क्षेत्रमा भुकम्प पिडितहरुको सहयोगको लागि गठन भएको सामुदायिक विकास समाज, नेपाल संस्थाको दोस्रो साधारण सभा गत साउन २८ गते शनिवार जनसेवा मा.वि.को हलमा सम्पन्न भयो ।

संस्थाका सचिव गुजय सिंहले संचालन गरेको उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष हिरावहादुर महर्जनले गर्नु भएको थियो ।

प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अन्य अतिथिहरुमा पूर्व राज्यमन्त्री दिलिप महर्जन, होमनेट नेपालका अध्यक्ष चन्द्रमाया महर्जन, एक्सन एडका अमरिश, संस्थाका सल्लाहकार नन्दकुमारी महर्जन रहनु भएको थियो ।  कार्यक्रमको सुरुवातमा भुकम्पमा परी दिवंगत हुनुभएका ज्ञात अज्ञात सबैजनाको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।


सामुदायिक विकास समाजका उपाध्यक्ष विना महर्जनले स्वागत मन्तव्य र कोषाध्यक्ष सुनिल कुमार महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष हिरावहादुर महर्जनले संस्थाले
गरेका कामको बारेमा स्लाइड शोबाट अवगत गराउनु भएको थियो । सचिव गुजय सिंहले पनि स्लाईड शो मार्फत संस्थाको उद्देश्य र कामको बारेमा बताउनु भएको थियो ।

होमनेट नेपालका अध्यक्ष चन्द्रमाया महर्जनले होमनेट नेपालले भुकम्प पिडितहरुलाई सहयोग गरेको बारे बताउनु भयो । त्यस्तै एक्सन एडका अमरेसले संस्थाले साहै्र राम्रो काम गरिरहेको बताउनु हुँदै यसको निरन्तरताको शुभकामना दिनुभयो । पूर्व राज्यमन्त्री दिलिप महर्जनले पनि समाज गठन पछि समाजले गर्दै आएको कामको सह्राहना गर्नुभयो । प्राचार्य नन्दकुमारी महर्जनले समाजको कामको प्रशंसा गर्नु हुँदै समाज गठन हुनु पूर्व हरेक वडामा विपद व्यवस्थापन समितिले भूकम्प पिडितहरुको लागि गरेको कामको पनि वर्णन गर्नुभयो । समाजको निरन्तरताको लागि शुभकामना दिनुभयो ।


प्रमुख अतिथि मेयर रमेश महर्जनले कीर्तिपुरका धेरैजनाले लालपुर्जा नहुँदा सरकारी सहयोग पाउन नसकेको अवस्थालाई ध्यानमा राखी आइन्दा सम्बन्धित वडाको सर्जमिन र सिफारिसको आधारमा सरकारी सहयोग पाउने व्यवस्था गरेको बताउनु भयो । भुकम्प पिडित विपन्न ७० जनाको लागि नगरपालिकाले भौतिक सहयोग गर्ने निर्णय गरीसकेको बताउनुभयो । त्यस्तै भुकम्पमा नोक्सान भएको घरको पुनःनिर्माण गर्दा नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिने बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाइसकेका ज्येष्ठ नागरिकहरु मधुमेह र प्रेशरको औषधि नगर पालिकाले निशुल्क वितरण गर्ने व्यवस्था मिलाउन लागेको कुरा पनि बताउनुभयो । खानेपानीको लागि नगरपालिकाले १९ करोड बजेट छुट्याएको भन्नु हुँदै छिट्टै खानेपानीको समस्या समाधान हुने आशा व्यक्ति गर्नुभयो ।
    

No comments:

Post a Comment