Monday, July 31, 2017

कीर्तिपुर नगरपालिकाको नयाँ बजेट चिरफार

कीर्तिपुर नगरपालिकाको नयाँ बजेट चिरफार

वडाको योजना छनौट विना बजेट मात्र छुट्याइएको र नगर विकास परिषदको हैसियतमाथि प्रशन
‘कीर्तिपुर नगरपालिकाको पहिलो सभाले मेयर, उपमेयर र वडा अध्यक्षको लागि तलब स्वघोषणा’


कीर्तिपुर सन्देश साप्ताहिक /
कीर्तिपुर नगरपालिकाको पहिलो नगर सभाले नयाँ आर्थिक बर्षका लागि ७९ करोड ५६ लख १४ हजार बजेट विनियोजन गरेको छ ।  सो बजेटमा पुँजीगततर्फ ५६ करोड ९५ लाख छुट्याइएको छ । महाभूकम्पवाट पीडितहरुको घरको नक्सा पास गर्ने क्रममा ९० प्रतिशत मिनाह गर्ने निर्णय गरेको छ । घरजग्गा करमा १५ प्रतिशट छुट दिने भएको छ । वडा नं. ४ र ६ मा विकासका लागि प्रत्येक वडालाई ७० लाख रुपंैया र अन्य आठ वटा वडामा प्रत्येकलाई ५० लाख रुपैंया दिने निर्णय गरेको छ ।

नगरसभाले मेयरलाई मासिक रुपमा ३५ हजार, उपमेरयलाई ३० हजार र वडा अध्यक्षहरुलाई १८ हजार रुपैंया तलब दिने निर्णय गरेको छ । आन्तरिक श्रोतवाट तलब दिने निर्णय गरेको विरोध नेपाली कांग्रेसका वडा अध्यक्षहरुले गरेका थिए । यसैवीच नेपाली कांग्रेसका वडा नं. ४, ५ र ८  गरी तीन जना वडा अध्यक्षहरुले आन्तरिक श्रोतवाट तलब नलिने घोषणा गरेको छ ।

         कुनै पनि सरकारी निकायले योजना बनाउदा कुन स्थानमा के गर्ने भन्ने विषयमा मूर्त रुपमा उल्ल्ेख हुनुपर्ने भए तापनि यसपालि कीर्तिपुर नगरपालिकाको बजेटमा भने धेरै कुरामा मूर्त रुप नभएको टिप्पणी हुन थालेका छन् । कीर्तिपुर नगर विकास परिषद् स्थापना संचालनका लागि २० लाख रुपैंया छुट्याइएको छ । सो परिषद्को हैसियत के हुने हो ? कानुनी आधार के हो ? कार्यदल हो कि ? सल्लाहकार समिति हो कि कार्यकारी समिति हो भन्ने सवालमा स्पष्ट छैन । सो परिषद्का लागि २० लाख रुपैंया छुट्याइएको छ ।
          कीर्तिपुर नगर वस संचालनका लागि ५० लाख, उपत्यका नगर बस शेयर लगानी ३५ लाख, सवारी साधन गाडी तथा मोटरसाईकल खरिदको लागि ६० लाख । छाडा चौपाया व्यवस्थाप गर्न २० लाख । भुस्याहा कुकुर नियन्त्रण तथा सिनो व्यवस्थापनका लागि १५ लाख । सौर्य बत्ति जडान २ सय २० स्थानका लािग ७७ लाख । वडा नं. २, ८ र १० को कार्यालय भवन निर्माण गर्न ३० लाख । वडा स्तरीय विकास योजना तथा कार्यक्रम ५ करोड ४० लाख रुपैंया छुट्याइएको छ । वडास्तरको बजेटको सवालमा अमूर्त रहेको छ । वडा भेला गरि योजना सहित प्रस्ताव ल्याएपछि बजेट छुट्याउनुपर्ने अवस्थामा नगर सभाले वडाका लागि बजेट छुट्याइएको कुरालाई स्थानीयवासीले चासो लिन थालेका छन् ।

      सिम जलाधार क्षेत्र संरक्षण कार्यक्रम २० लाख । वडा नंं ४ को राउटे भिरमा खानेपानी मुहान संरक्षण र उत्पादन बृद्धिका लागि ड्याम निर्माण गर्न २ करोड । बल्खु दीखु खोलामा ड्याम निर्माण गरि पानी संकलन गर्न १ करोड । नगर क्षेत्रको भू क्षय नियन्त्रण योजना १० लाख ।


          खासी बजार लगायत अन्य प्राचिन पोखरी ताल, दह संरक्षण सुधार योजनाका लागि २ करोड । संस्कृति प्रबद्र्धनको शिर्षकमा सांस्कृतिक बाजागाजा, जात्रा पर्व पुजा तथा गुथि संचालन अक्षयकोष स्थापनाका लागि ४० लाख रुपैंया । बाहाः बही चोक ननी धार्मीक पुरातात्वीक ऐतिहासिक मठ मन्दिर तथा अन्य सम्पदाहरुको संरक्षण कार्यक्रम २० लाख छुट्याइएको छ । खेलकूद विकास कार्यक्रमः खेलकुड पूर्वाधार निर्माणका लागि २५ लाख । नगर खेलकुद विकास समिति मार्फत विभिन्न खेलकुड प्रतियोगिता संचालन गर्न ७ लाख । खोलकुद प्रबद्र्धन कार्यक्रम १३ लाख । समृद्ध कीर्तिपुर कार्यक्रमः सुचना प्रविधि आईटी पार्कका लागि ३५ लाख, ई लाइबे्ररि स्थापना र संचालन ५ लाख । प्रत्येक वडामा फ्रि वाईफाई जोन व्यवस्था गर्न २ लाख । शैक्षिक बृद्धि विकास अक्षयकोष स्थापना ५० लाख । पूर्ण साक्षरता कार्यक्रम २५ लाख । नेपालभाषा एकेदेमिमा अध्ययण अनुसन्धान तथा प्रकाशन कार्यक्रम १० लाख । प्राविधिक शिक्षालय स्थापना २५ लाख । युवा स्वरोजगार कार्यक्रम÷नगर स्वरोजगार कार्यक्रम १ करोड छुट्याइएको छ ।

       शिक्षाः सामुदायीक विद्यालयहरुलाई कम्युटर वितरण ५० लाख । सामुदायीक विद्यालयहरुलाई विशेषज्ञ शिक्षक सहयोग कार्यक्रम ४० लाख । सामुदायीक विद्यालय समायोजन प्रोत्साहन कार्यक्रमका लागि ५० लाख । विद्यालयस्तरीय मातृभाषा शिक्षा कार्यक्रम २० लाख रुपैंया छुट्याइएको छ । नगर विकास पूर्वाधार कम्पनी बनाउनका लागि १ करोड रुपैंया छुट्याइएको छ । नगरपालिकामा भएका प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा अव नयाँ कम्पनी नै निर्माण गरि काम गर्न नगरपालिकाको नेतृत्व कतिको सक्षम हुने हो भनी स्थानीयवासीले टिप्पणी गर्न थालेका छन् ।

        नगर सभाको एजेण्डा कानुन बमोजिम कम्तीमा १५ दिन अघि नै नगर सदस्यहरुलाई बजेट भाषणको प्रतिलिपि दिनुपर्नेमा त्यसरी नदिएको एक वडा अध्यक्षले कीर्तिपुर सन्देशलाई बताउनु भएको छ । सुचना तथा संचार क्षेत्रका लागि कुनै शिर्षक नै उल्लेख गरिएको छैन भने विज्ञापन खर्च २ लाख राखिएको छ ।

     गत बर्षदेखि नगरको सुरक्षाका लागि महत्वपूर्ण स्थानमा सिसिटिभि राख्नका लागि बजेट छुट्याइएको थियो । गत बर्ष त्यसका लागि २५ लाख रुपैंया बजेट छुट्याइएको थियो भने यस बर्ष भने बजेटमा सो सवालमा मौन रहेको पाइयो ।

         कर्मचारी भर्ना कानुन बमोजिम नगर्न र नगराउन निर्देशन दिएको अवस्थामा मेयर र उपमेयरका पिएहरुको सवालमा स्वयं नगरपालिकाका कर्मचारीहरुले प्रश्न गर्न थालेका छन् । अहिलेसम्म पनि मेयर र उपमेयरका पीएहरुले हाजिर समेत गर्न नपाएको थाहा भएको छ ।

     पछिल्लो समयमा स्थानीय सरकारको रुपमा भएको स्थानीय तह कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका अध्यक्षहरु र नगर सदस्यहरुको भूमिका हेर्दा अव कांग्रेसवाट निर्वाचित जनप्रतिधिहरु एक किसिमले प्रतिपक्षको भूमिका निर्वाह गर्ने अवस्था देखिएको टिप्पणी समेत हुन थालका छन् ।

No comments:

Post a Comment