Monday, July 10, 2017

बाघभैरव नाच देखाउने माली गुथिमा आयो समस्या

बाघभैरव नाच देखाउने माली गुथिमा आयो समस्या

कीर्तिपुर सन्देश साप्ताहिक /




              हजारौं बर्षदेखि लगातार रुपमा कीर्तिपुरको पहिचान गथु प्याखं अर्थात बाघभैरव नाच देखाउदै आएको श्री बाघभैरव माली गुथिमा समस्या आएको छ । प्रत्येक १२ बर्षमा देखाइने सो नाच दुई बर्ष अघि मात्र देखाइएको थियो ।

            त्यो समस्या गुथिमा नयाँ नेतृत्वका लागि वा आन्तरिक कुनै किसिमको समस्या हैन गुथि घरको समस्या हो । घटना विवरण अनुसार आज भन्दा दुई महिना अघि कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित थांबहाल टोलमा भएको गुथि घरमा आगलागी भएको थियो । आगो लागेर अलपत्र परेका काठ लगायत सामानहरु पन्छाई बाघभैरव नाचको क्रममा बल बनाई अर्थात छाप्रो बनाई महिनौं सम्म नाच सिकाउने ठाउँमा
राख्नका लागि गुथियारहरुले पहलकदमि गरेको थियो ।

             सो क्रममा केहि दिन अघि मात्रै टोलका कोहि ब्यक्तिले बाघभैरव गुथि घर अगाडीको जग्गा र गुथि घर समेत टोलको सार्वजनिक जग्गा हो र पनि अबरोध सिजर्ना गरेको सूत्रले बताएको छ । एक किसिमबाट धम्कीको भाषा नै प्रयोग गरेका कारण माली गुथिका गुथियारहरुलाई समस्या भएको हो । थांबहाः टोलमा रहेको माली गुथि  घरको र जग्गाकै विषयमा अबरोध सिजर्ना भएपछि श्री बाघभैरव माली गुथिका गुथियारहरुलाई समस्या सिजर्ना भएको छ । तत्काल के गर्ने भन्ने विषयमा अप्ठ्यारो परेका कारण सरोकारवालाहरुलाई समेत सहभागी गराई एक छलफल कार्यक्रमको आयोजना गर्न लागेको थाहा भएको छ ।

         हजारौं बर्षअघिदेखि कीर्तिपुरको अमूर्त पहिचान बनेको बाघभैरव माली गुथिको जग्गा र गुथि घरमा समस्या आउनु भनेको कीर्तिपुरकै संस्कृतिमा समस्या आउनु हो भनी गुथियारहरुले बताउन थालेका छन् । भैरव, गणेश, सिंघिनी, ब्याग्रिनी र सप्तमातृका रहेको गथु प्याखं अर्थात बाघभैरव नाचलाई गं मखाःगु प्याखं पनि भन्ने गरिन्छ । यो नाच कीर्तिपुरमा मात्र हैन काठमाण्डौं र ललितपुरको दरवार स्क्वायरमा पनि देखाउनुपर्ने चलन रहेको छ । सो नाचलाई निरन्तरात दिने क्रममा गुथि घरमा गोप्य रुपमा प्रत्येक बर्ष मुकुण्डो विनाको नाच्नुपर्ने चलन समेत रहेको छ ।

          मालीहरुले निरन्तर मेहनत गर्दै कीर्तिपुरको पहिचानको रुपमा स्थापित सप्तमातृका सहितको गथु प्याखं अर्थात बाघभैरव नाच देखाउदै आएको अवस्थामा जुन समस्या सिर्जना भएको छ यो माली गुथिका गुथियारहरुको मात्र नभई समग्र कीर्तिपुरवासी र अझ विशेष गरि स्थानीय सरकारको रुपमा रहेको कीर्तिपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले बुझ्नु जरुरी छ । यो समस्या तत्काल समाधान गर्न सकिएन भने कीर्तिपुरको संस्कृतिमा नै समस्या आउन सक्ने अवस्था छ । ऐतिहासिक नगर कीर्तिपुरको पुरानो वस्तीलाई प्राचिन वस्ती र पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने भनी कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरुले बताईरहँदा कीर्तिपुरकै एक महत्वपूर्ण अमूर्त संस्कृति जुन संस्कृति मालीहरुले मात्र गर्न सकिने अवस्था र थांबाहाः टोलमा रहेको जग्गा र गुथि घरसंग सम्वन्धित भएका कारण यी समस्यालाई तत्काल समाधान गरि बाघभैरव नाचलाई निरन्तर दिने सवालमा समस्या नआउने गरि समाधान गर्नु पर्दछ । तत्काल देखिएको यो समस्या समाधानका लागि र बाघभैरव नाचलाई निरन्तरता दिनका लागि मालीहरुलाई उत्साहित बनाउन स्थानीय टोलवासीले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्था देखिन्छ ।
Published on Kirtipur Sandesh Weekly Issue 303 Date 2074/03/21

No comments:

Post a Comment