Thursday, October 13, 2016

जेल डायरिको ९ नवौं खण्ड— असोज २१ गते पुर्पक्षको लागि जेलमा गएको दिन

जेल डायरिको ९ नवौं खण्ड— असोज २१ गते पुर्पक्षको लागि जेलमा गएको दिन


२०६७ असोज २१ गते ममाथि लगाईएका भूmठा आरोप “जवरजस्ती करणी उद्योग” बारे अदालतमा बहस हुने दिन । प्रहरी खोर हनुमान ढोकामा कष्टपूर्ण १४ रात बिताइसकें । आजदेखि मैले यो खोरमा बस्नु पर्ने छैन । धरौटी खुल्यो भने धरौटी राखेर घर जान पाउनेछु । बाहिरै बसेर मुद्दा लड्न पाउनेछ । होइन भने पुर्पक्षको लागि जेल चलान गर्नेछ । त्यसैले घरबाट पठाएका सबै सामानहरू छोरालाई फर्काइ दिएँ । खाना खाइसकेपछि प्रहरीको कोठामा रहेका मेरा सबै सामानहरू मलाई फिर्ता दिए ।

“ल बा, हामीबाट केही गल्ति भएको भए माफ गर्नुहोला । तपाई आज घर जान पाउनु हुनेछ ।” मलाई सामान दिंदै प्रहरी हवल्दारले भन्यो ।

मलाई अदालत लैजान महिला सेल कालीमाटीबाट दुई जना महिला प्रहरीहरू आएका रहेछन् । ट्याक्सीमा बसेर अदालत गयौं ।

“तपाईहरूलाई थाहा होला आज म छुट्न सकुंला ?” मैले सोधें ।
“सायद तपाई धरौटीमा छुट्नुहोला । पछि सफाई पनि पाउनुहोला । मेडिकल रिपोर्ट तपाईको पक्षमा छ । घटनास्थलको मुचुल्का पनि तपाईंकै पक्षमा छ । बच्चाहरूले जाहेरी दिएको वाहेक खासै कुनै प्रमाण छैन ।”
“मेरो छोरीहरूलाई स्कूल पठाउनु भएको छ ?”

“के छोरीछोरी भनिरहनु भएको ? त्यस्ता खाते केटीहरू पनि छोरी हुन्छ ? बाबुजस्तो मान्छेलाई पनि त्यस्तो भूmठो आरोप लगाउन सकेका पापीनीहरू ।” एक जना महिला प्रहरीले भनिन, “हामीले तपाईंको बारेमा सबै जानकारी लिइसकें । यस्तो समाजसेवी मान्छेलाई त्यस्तो भूmठो आरोप लगाउन सकेकी ।”

हामी अदालत पुग्यौं । त्यतिबेलासम्ममा मेरा नातेदारहरू, आफन्तहरू, साथीभाइहरू र मेरा बच्चाहरूले अदालत भरिएका थिए । मलाई इजलास नम्बर ४ मा लग्यो । जहाँ सुब्बा साहेबले ममाथि लगाइएका आरोप र जाहेरीवालीहरूको जाहेरी पढ्न लगायो । त्यसपछि मसँग बयान लिन थाल्नुभयो ।

धेरैजसो प्रश्नहरू सरकारी वकिल कार्यालयमा सोधिएका नै बढी थिए । उत्तर पनि मैले एक अक्षर फरक नपर्ने गरि दिएँ । बयान लिने क्रममै सुब्बा साहेबले मलाई भन्यो, “मेडिकल रिपोर्ट, घटनास्थलको मुचुल्का सबै तपाईंको पक्षमा छन् । पचीस–पचास हजार रुपैया ठीक पार्नुस धरौटीमा छुट्नु हुन्छ ।”

मैले छोरालाई बोलाएर पैसा ल्याएको छ कि भनेर सोधें ।
“पैसाको फिक्री नगर्नुस, यहाँ आउनु भएका सबैजनाले पैसा बोकेर आउनु भएको छ । नानी मिस, रामकुमारी दिदी, शिव पाजु, जुजुभाइ दाइ, बद्रीलाल अंकल, नरेन्द्र दाइ, सुनिल दाइ, नित्यमान मामा, पवन दाइ सबैको गरेर दश लाखभन्दा बढी छ । जग्गा धितो राख्नु परे पनि चार पाँचवटा लालपूर्जाहरू लिएर आएको छु ।” छोराले भन्यो ।

छोराको कुरा सुनेर मेरो मन हलुका भयो । ल आज म घर जान पाउने भएँ भनेर मन ढुक्क थियो ।
देखि जान्ने भनेर पारूको वयान सुनि जान्ने भनेर गोरखनाथ स्कूलका आठ जना शिक्षक शिक्षिकाको वयान मलाई देखायो । त्यसमा उहाँहरूले मैले जवरजस्ती करणी गर्न खोजेको विश्वास लाग्छ भनेर वयान दिएका थिए । यो वयान पढेपछि मेरो मन खुस्रुक्क भयो ।

“यी शिक्षक/शिक्षिकाहरूले तपाईंको विरुद्ध यस्तो वयान किन दियो होला ?” सुब्बाले मसँग सोध्यो ।
“यो उहाँहरूको वयान नै होइनजस्तो लाग्छ । उहाँहरूले मेरो विरुद्ध यस्तो वयान दिनुभएको होला भन्ने मलाई विश्वास लाग्दैन ।”

“उहाँहरू आठै जनाले आफ्नो वयानमा सहि र औंठा छाप लगाइएको छ । कसरी होइन भन्ने ?
“यदि त्यसो हो भने म त्यस विद्यालय व्यवस्थापन समितिको सल्लाहकार र त्यहाँ पढ्ने ६ जना विद्यार्थीको अभिभावकको नाताले बच्चाहरूको पढाई सम्बन्धि छलफल हुँदा म उहाँहरूको आलोचना गर्थें । पढाईमा अलि कडा गर्थें । त्यसैले यस्तो भनेको हुनसक्छ ।”

यस्तै यस्तै वयान दिएँ । मेरो वयान सकियो । मलाई बाहिर आँगनमा ल्याएर राख्यो । भित्र इजलाशमा बहस सुरु भयो । पहिले मदन रेग्मि वकिलले बहस गर्नुभयो । त्यसपछि शम्भु थापाले बहस गर्न थाल्नुभयो । उहाँले बहस गरिरहनुु हुँदा शुकराम बराबर बाहिर आएर भन्थ्यो, “ल, तपाईं धरौटीमा छुट्नु हुन्छ । शम्भु थापाको तर्क सुनेर न्यायाधीशले केही बोल्न सक्नुभएन ।”

बहस सकियो । विपक्षी वकिलहरूले कुनै प्रतिवाद गरेन । अब फैसला हुन मात्र बाँकी थियो । म बाहिर आँगनमा मेरा बच्चाहरूसँग बसिरहें ।

म धरौटीमा छुट्छु भत्रे मलाई ठूलो आशा थियो । मलाई मात्र होइन मेरो परिवार, आफन्त, शुभचिन्तक सबैलाई म धरौटीमा छुट्छु भन्ने विश्वास थियो । किनकी ममाथि जुन आरोप लगाईएको थियो । त्यो सरासर भूmठ थियो । त्यो भूmठमात्र होइन कपोलकल्पित आरोप हुन् । भूmठामात्र होइन, मबाट करणी हुन असम्भव थियो । यो कुरा मलाई चिन्ने जान्ने सबैजनालाई थाहा थियो । म मधुमेहको रोगी हुँ । मधुमेह रोगीमा यौन चाहना भनूं या उतेजना नै हुँदैन । किनकी मधुमेह रोगीले यौन संसर्ग गर्ने शक्ति गुमाइसकेको हुन्छ । यो कुरा सबैलाई थाहा थियो ।

न्यायाधीशले निर्णय पुस्तिकामा आफ्नो राय लेखेर गइसक्नुभयो । फैसला लिन फाँटवालाकहाँ गएर सोधें । पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो भन्यो । त्यो आदेशपछि म बलिको बोका झै भएँ । मेरा सपनाहरू सिसा फुटेझै चकनाचूर भयो । मेरो घर जाने कल्पना वालुवामा बनाएको घर झै भत्कियो । मेरा आफन्त, नातेदार र परिवारले लिएर गएका लालपूर्जा र नोटका बिटाहरू कागजको खोस्टा सावित भए । न्यायाधीशले लेखेको रातो मसि मेटाउन सक्ने तागत कसैमा रहेन । न्यायाधीशको एक पेज लामो आदेशलाई मेरा पचासौं शुभचिन्तकहरूले मेटाउन न त वदर नै गराउन सके ।

“ल, तपाईंलाई डिल्लीवजार खोरमा पठाउँछु ।” फा“टवालाले भन्यो ।

“मलाई भद्रगोल जेल पठाउनुस् । मेरो घर कीर्तिपुर हो । त्यहाँ भए मेरा घरका मान्छेहरूलाई आउन जान सजिलो हुन्छ ।” मैले फाँटवालालाई भनें ।
“एकछिन पर्खनुस्, त्यहाँ ठाउँ खाली छ कि छैन हेर्नुपर्छ ।” फाँटवालाले भन्यो ।

म बाहिरै बसेर पर्खिरहें । चौधदिन पछि घर जान पाउने मेरो सपना सपनामै सिमित भयो । मेरो कल्पना कल्पनामै सिमित रह्यो । मेरो कल्पनाको महल तासको महलझै भताभुंग भयो । मेरा संस्थाका बच्चाहरूको रोदन र आफन्तहरूको आँखामा टलपलाएका ती आँसुका बुँदहरूले एकछिन मलाई विचलित बनायो । छोराको आँखामा अपशोच भन्दा बढी क्रोधको भाव देखिन्छ । तर के गर्न सकिन्छ ? म किंकर्तव्यविमुध भएँ । महिला प्रहरीले पूर्जि लिएर आइन ।

“जाउँ बा, छिटो भद्रगोल पुग्नुप¥यो । गेट बन्द भयो भने हनुमान ढोकामै बस्नुपर्ला ।” प्रहरीले भनिन् ।
एकजना प्रहरीले ट्याक्सी खोजेर ल्यायो । म ट्याक्सीमा बसें । नरहरिदाइ, भान्जा नरेन्द्र र छोरा निरजले मलाई विदाई दिए । बलि चढाउन लैजाँदै गरेको बोका झै म प्रहरीहरूसँगै लागें । मैले आकाशमा हेरें । आकाश कालो बादलले ढाकिएका छ । शायद एक जना निर्दोष समाजसेवक जेल जान लागेको कारण मुख अँध्यारो बनाएको हो कि ?

“यो स्कूलका मास्टरहरूको वयानले गर्दा तपाईंको धरौटी नखुलेको हो ।” बाटोमा जाँदै गर्दा एक जना महिला हवल्दारले भनिन् ।
“यो न्यायाधीशले अहिले पुर्पक्षमा पठाउनु भए पनि मिशिल राम्ररी अध्ययन गर्नुहुन्छ । संस्थाले फसाएको भन्ने लाग्यो भने सफाई पनि दिनुहुन्छ ।” अर्कीले भनिन ।

मलाई एउटा पूर्जि थम्यायो । पूर्जिमा लेखेको रहेछ । कानून बमोजिम सिधा खान पाउने गरी यो थुनुवा पूर्जि दिइएको छ ।

No comments:

Post a Comment