Saturday, March 28, 2015

हामी कस्ता छौं –१

हामी कस्ता छौं –१

—नजरराम महर्जन—


सुन्दर शान्त विशाल हाम्रो देश नेपाल । विश्वको सबभन्दा बढी उचाई भएको हिमाल
सगरमाथा भएको देश नेपाल । विश्व शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हाम्रो नेपाल ।

 यही नामले, बुद्ध जन्मेको देश भएको कारणले विश्वमा नेपाल चिनिएको छ । बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा विश्वका विभिन्न देशहरुले विभिन्न किसिमको सहयोग गरिरहेका छन । तर यही देश नेपालको एउटा भाग सुर्खेतको काँक्रेविहारमा बुद्धको मूर्तिले ठाउँ पाएन । ४० लाख पर्ने २० फुटे मूर्ति स्थापना गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरे । स्थापना गर्न ल्याएको मूर्तिलाई प्रहरीले लुटेर लगे । एउटा अपराधीलाई जस्तो सो बुद्धको मूर्तिलाई जिल्ला प्रहरी कार्यालयको खुल्ला ठाउँमा उतानो पारेर राखिएको छ ।

कस्तो देश हाम्रो नेपाल ? बुद्ध जन्मेको देश नेपालमा बुद्धको मूर्ति कांक्रेविहारमा राख्न नपाउने देश नेपाल । धर्म
निरपेक्ष देश नेपालमा एउटा धर्मको आस्थाको धरोहरलाई यसरी लुटपाट गर्दा पनि, चोरलाई जस्तो प्रहरी बृतको चौरमा फालिराखे पनि हामी केही भन्न र गर्न सक्दैनौं । किनकी हामी शान्तिप्रिय नेपाली हौ ।

जन आन्दोेलनको बलमा  घोषणा भएको धर्मनिरपेक्ष शान्त सुन्दर नेपालमा शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका भारतीय एक नेताले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु पर्ने मांग राखे । एकथरिले त्यसलाई हार्दिक स्वागत गरे । केही धर्मभिरुहरु खुशी भए ।  विदेशी नेता आएर हाम्रो सार्वभौमसत्ता माथि हस्तक्षेप गर्दा पनि हामी चुपचाप छौं । हिन्दूहरुको नामबाट राखिएको देश हिन्दुस्तानका सत्तापक्षीय नेताले पहिले आफ्नो देशलाई हिन्दुराष्ट्र घोषणा गर्नु पर्ने थियो । तर आफ्नो देशलाई धर्म निरपेक्ष देश कायम राख्ने अनि अर्काको देशलाई हिन्दुराष्ट्र घोषणा गर्ने मांग गर्ने हिम्मत गरे । हामी आपूmलाई सार्वभौम सम्पन्न राष्ट्रका नागरिक ठान्छौं । सार्वभौम देशको आन्तरिक मामिलामा विदेशी नेता आएर यसरी हस्तक्षेप गर्न पाइन्छ ? तर नेपालमा गरिरहेका छन । हामी चुपचाप सहीरहेका छौं । हाम्रो देश कानमा तेल हालेर बसिरहेको छ । किनकी हामी शान्ति चाहन्छौं । हाम्रो देश शान्ति क्षेत्र बनिरहोस् भन्ने हामी चाहन्छौं । हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भइरहेको छ । हामी केही बोल्न सक्दैनौं । बुद्ध नेपालमा जन्मेको सत्य हो । तैपनि आज हामी ९द्यगममजब धबक दयचल ष्ल ल्भउब०ि भनेर चिल्लाइरहनु परेको छ । किनकी भारतले अरबौं रुपैयाँ खर्चेर नक्कली तिलौराकोट निर्माण गरिरहेका छन् । बुद्ध नेपालमा जन्मेको होइन भारतको तिलौराकोटमा जन्मेको हो भन्न थालेका छन । लुम्बिनीमा उत्खनन गरेर प्राप्त केही पुरातात्विक बस्तुहरु चोर बाटोबाट लगेर राखिरहेका छन् ।

भारतले किन यस्तो गरिरहेका छन् त ? भारतलाई थाहा छ विस्वमा बुद्ध धर्म मान्नेहरुको जनसंख्या २ अर्बभन्दा बढी छ । हरेक ती जनसंख्याको एक प्रतिशतले मात्र पनि पर्यटक भएर घुम्न आए वर्षको अरबौं रुपैयाँ आम्दानी हुनसक्छ । हामी नेपालीहरु भने बीनाको महत्व नबुझेका कस्तुरी मृगजस्तै भौंतारिरहेका छौं । हामीमा कहिले चेतना आउने होला ।

 हामीमा केही बोल्ने क्षमता नै छैनन् । हामीमा सहने क्षमता भने अद्भूत रुपमा कायम छ । हाम्रो देशमा हवाई यातायात सुरु भएको ६५ वर्ष भैसक्यो । तर हामीसँग अन्तर्राष्ट्रिय हवाई मैदान एउटै मात्र छ । हुन त अन्तर्राष्ट्रिय हवाईमैदान बाराको नीजगढ, पोखरा र लुम्बिनीमा बनाउने भनेर कुरा चलेको पनि धेरै वर्ष भइसक्यो । तर काम भने भएको छैन । हामी नेपालीहरुको बानी कामभन्दा कुरा बढी गर्नु रहेको छ । चियाको दोकानमा, मान्छे जम्मा हुने चौतारा र चोकमा हामी राष्ट्र, राज्य र राजनीतिको बारेमा चर्का गफ गछौंं तर चाहिने ठाउँमा चूँ सम्म पनि गर्न सक्दैनौं । हाम्रो देश नेपालका नेताहरुले हाम्रो यही कमजोरीको फाईदा उठाउँदै लाभ लिइरहेका छन । आपूmलाई कमिशन नआउने कुनै काम गर्न तयार छैन । यही कमिशनको चक्करमा परेर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नभएको हो । देश र जनताभन्दा पनि पार्टीको हित र कमिशनको बढी ख्याल राख्छौं ।

गत फागुण २० गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्कटिस एयरवेजको एउटा विमान प्राविधिक कारणले रन वे छुने गरी ग्राउण्डेड भयो । देशमा चार दिनसम्म अन्तर्राष्ट्रिय हवाई उडान भएन । हजारौं हजार यात्रु हरुले समस्या भोग्नु प¥यो । देशले आठ अर्ब रुपैया घाटा बेहोर्नु परेको खबर छ । अनि बल्ल वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मैदानको खाँचो महसुस गरियो । खुबै चर्चा परिचर्चा भयो । चारदिनपछि अन्तर्राष्ट्रिय हवाई सेवा संचालन सुरु भए सँगै ती चर्चाहरु सेलाउँदै गएको छ । नपरेसम्म नचेट्ने हामी नेपालीको बानी हो । समस्या समाधान भए सँगसंगै त्यो चेतना पनि हराएर जान्छ । कारण खोला त¥यो लौरोे बिर्सने हामी नेपालीको महान बानी नै हो । चुनावको बेला नेताहरुले जनतालाई अनेकौं आश्वासन दिन्छ । त्यही आश्वासनको भरमा जनताले नेतालाई भोत दिएर जिताएर पठाउँछ । राजधानीमा पुगेपछि ती आश्वासन र जनतालाई बिर्सिदिन्छ । जनता निरिह भएर अर्को चुनावको प्रतिक्षामा बसिरहन्छ ।

हामी सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्रका नागरिक हौ । फसेको हवाईजहाज हटाउन पनि छिमेकी देशको सहयोग लिनु पर्ने हामी कति सक्षम छौं भन्ने यसले छर्लंग पारि दिएको छ । हवाई सेवा संचालन भएको यत्रो वर्षमा पनि एउटा हवाईजहाज हटाउने उपकरण राख्ने ह्याउँ नभए नभएको, उपकरण तयार गर्न नसकेको देश नेपालका हामी नागरिक हौं हामी । सोझा सिधा नेपाली हौं । नेताहरुको पछि लागि हिंड्ने जनता हौं । नेताहरुको आश्वासनमा बाँच्न मन पराउने हामी नेपाली जनता हौं । नेताहरु नै विदेशको इसारामा नाच्छ भने जनताले के गर्ने ? हामी निरिह विवेकहीन जनता हौं । हामी परजीवि हौं । जुनसुकै काम पनि सरकार या विदेशी आएर गरि दिनुपर्ने । आफ्नो योग्यता र क्षमता भैकन पनि अर्काको मुख ताक्ने परिसकेका हामी नेपालीमा जाँगर कहाँबाट आउँछ ?
 काठमाण्डांैंमा खानेपानीको हाहाकार छ । सरकारले मेलम्चीको पानी आउँछ भनेर आश्वासन दिएको भरमा हामी काकाकुल भएर मेलम्चीको पानीको प्रतिक्षामा छौं । हाम्रै काठमाण्डौंमै भएको पानीको स्रोत खोज्ने हामीमा जाँगर चलेको छैन । घरको धाराबाट पानी नआए मिनरल वाटर किनेर पिइरहेका छौं । अरु पानी ट्यांकरमा ओसारेको किनेर काम चलाइरहेका छौं ।

मिनरल वाटर कम्पनी खोलेर महंगोमा पानी बेच्न पल्केका व्यापारीहरुलाई पानीको अभाव छैन । ट्यांकरमा पानी बोक्ने ड्राइभरहरुलाई पानीको अभाव छैन । हामी जनतालाई मात्र पानीको अभाव छ । जनताको समस्याप्रति सरकार कहिल्यै गम्भिर भएन । न त जनताले नै कुनै प्रश्न गर्न सके । ट्यांकरमा पानी बोकेर बेच्ने व्यापारीलाई पानीको अभाव भएन, मिनिरल वाटर बनाउने कम्पनीलाई कहिल्यै पानीको अभाव भएन किन ? यो कहिल्यै जनताले सोचेका छन ? यो कहिल्यै सरकारले सोचेका छन ? सोचेको भए पानीको अभाव नै हुने थिएन । हामी जनताले सरकारलाई दवाव दिन सकेको भए पो सरकारले सोच्न बाध्य हुन्थ्यो ।

हाम्रो कीर्तिपुरकै खानेपानी को कुरा गरौं । पानीको मुहान सिमझवाःहिटी नजिक एकजना व्यक्तिले जमिन किनी प्लटिंग गरेर जमिन बेच्न थालेका छन । उक्त जमिनमा प्लटिंग गरी घर निर्माण गरेपछि पानीको मुहान सुक्ने पक्कै छ । यसको लागि कीर्तिपुरको जनस्तरबाट निर्माण गरिएको सिमझवाःहिटी खानेपानी उपभोक्ता समितिको पहलमा विभिन्न सम्बन्धित निकायमा सम्पर्क राखी सो को जानकारी जानकारी गराइयो । उक्त ठाउँमा सार्वजनिक जग्गा भएको भन्ने आधारमा जमिन नापी गर्न नापी टोली लिएर जाँदा सो जग्गा प्लटिंग गरिरहको व्यक्तिले केही व्यक्तिहरुको सहयोगमा नापीसम्म गर्न दिएन ? उपभोक्ता समितिलाई धम्क्याएर खाली हात फिर्ता पठाइयो । सम्बन्धित निकाय मौन छ । कीर्तिपुरवासी मौन छन । यो बारेमा कसैले चुँसम्म बोलेका छैनन् । एकजना व्यक्तिको कारण कीर्तिपुरका ६५ हजार जनताको खानेपानीको आधार गुम्न लागेको छ । तैपनि मेलम्चीको आसमा चुपचाप बसिरहेका छन् ? किनकी हामी शान्तिप्रिय नेपाली जनता हौं । अन्याय गर्नेको विरुद्ध उठ्दा त्यहाँ संघर्ष हुन्छ । संघर्ष भएपछि अशान्ति हुन्छ ।

क्रमश ...

2 comments:

  1. मित्रहरु यसलाई भनिन्छ एकात्मक्बाद ! सिहंलाई खेदाएर स्याल् हरुले राज्य चलाएको देश यस्तै हुन्छ ...तेसै ले अब पहिचान सहितको संघियता चाहिन्छ देशमा ...,

    ReplyDelete
  2. मित्रहरु यसलाई भनिन्छ एकात्मक्बाद ! सिहंलाई खेदाएर स्याल् हरुले राज्य चलाएको देश यस्तै हुन्छ ...तेसै ले अब पहिचान सहितको संघियता चाहिन्छ देशमा ..., सिंगापोर बनाउछु भन्थे झिंगापुर् भै रहेछ देश...

    ReplyDelete