Friday, September 6, 2013

म यसकारण भोट हाल्दिन

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

म यसकारण भोट हाल्दिन
 

हरिश्चन्द्र खानिया

चार÷पाँच घण्टा हिंडेर लाइनमा उभिएर कागजमा छाप लगाउन मलाई फुर्सद छैन । विना अर्थ नङ रंगाउन मलाई कुनै रहर छैन । तँछाडमछाड झेलेर सकि नसकी कागजमा छाप लगाएर मैले के पाउँछु र ! नङमा लगाएको मसीले मेरो भोक मार्दैन । भोट दिएर    मेरो भोकमरि टर्दैन, अनि किन दिने मैले कसैलाई भोट ?

अहिलेसम्म के पाएँ र ? बरु गुमाएँ मात्रै । दिनभरिको काम थाती राखें । जीवनका अमूल्य केही घण्टा खेर फालें । मैले भोट हालेको मान्छेले न देशका लागि काम ग¥यो, न जनताका लागि नै केही    ग¥यो ! केवल बन्यो त ऊ आफै । हिजो चप्पल लगाउँथ्यो, आज सूटबुट लगाउँछ । हिजो काठमाडौं आउँदा आफन्तको कोठामा शरण मागेर सुत्थ्यो त आज बिसौं हजार तिरेर फ्लाटमा विराजमान भएको छ । हिजो सार्वजनिक माइक्रोबस र ट्याम्पो कुथ्र्यो, आज पजेरोमा हुइँकिन्छ । कसैसँग कुरा गर्न सार्वजनिक पिसिओ खोज्दै हिँड्थ्यो, आज विश्वको महंगो एप्पलको मोबाइल चलाउँछ । आखिर मेरो भोटले उसलाई बनायो, मलाई के बनायो ? मलाई के दियो ? समाजलाई के दियो ? राष्ट्रलाई के दियो ? ती जनता जो हिजो खाईनखाई, घण्टौं खालि खुट्टा हिँडेर भोट हाल्न गए, आज के पाए ? जहाँका त्यहीँ छन् भोट हाल्नेहरू तर भोट माग्नेहरू र पाउनेहरूले छलाङ मारे । आपूm बने । आफन्त बनाए र पुस्तौंपुस्ताका लागि जोहो गरे । अब पनि मैले किन तिनैलाई बनाउन भोट हाल्ने ?

कोही भोट हाल भनेर आउँछ भने यी प्रश्नको जवाफसहित आओस् र मेरो चित्त बुझाओस् अनि बल्ल भोटका कुरा गरौंला ।

कसैको स्वार्थसिद्धका लागि मेरो महत्वपूर्ण जीवनको कर्मशील एउटा दिन किन खेर फाल्ने ? त्यसको सट्टा म गोरु चराउन जान्छु, खेती लाउँदा काम लाग्छ । बाख्रा चराउन जान्छु, बेचेर नुनतेल किन्न पुग्छ । म खेतबारी गोडमेल गर्न जान्छु मलाई दुई छाक जोहो गर्न मद्दत हुन्छ । मेरो केही नै काम छैन भने आफन्तकहाँ सहयोग गर्न जान्छु । अप्ठेरो पर्दा गुहार्दा केही सहयोग पाउँला । आफन्तकहाँ पनि केही काम भएन भने छरछिमेकमा काम गर्न जान्छु । मर्दापर्दा काम लाग्लान् । चुल्है जलेन भने ऐंचोपैंचो त दिन्छन् । त्यति पनि भएन भने सुतेर बस्छु । अघिल्लो दिनको थकाइ त मर्छ र शरीरलाई एक छिन भए पनि आराम मिल्छ ।

यसो गरें भने मैले कुनै तनाव भोग्नु पर्दैन । कसैको आशा पनि गर्नु पर्दैन । कसैको भरोसा पनि पर्नु पर्दैन । मलाई कसैलाई भोट दिएर दुःखी बन्नु छैन । किनकी कसैलाई केही दिँदा आशा लाग्छ र त्यो आशा पूरा नहुँदा मनमा निराशा छाउँछ । त्यसले एक छिन भए पनि दुःखी बनाउँछ । त्यो दुःखका कारण धेरै दिनसम्म तनाव झेल्नुपर्छ । यसरी अनायासै भोग्नु परेको तनावले स्वास्थ्यमा नकारात्मक असर गर्छ । दैनिकीमा गडबड आउँछ । अब भन्नुहोस्, नदुखेको टाउको किन दुखाउनु भोट हालेर ?

यो बेकारको नाटकमा म नकच्चरो पात्र बन्नु छैन । जति बनें बनिसकें । जति दिनु भोट दिइसकें । यो नौटंकी देख्नु नपरे पनि हुन्थ्यो जस्तो लाग्छ मलाई । यी वाहियात फतफत कहिल्यै सुन्न नपरे हुन्थ्यो लाग्छ । किनकी मैले देखिसकें नेताको हैसियत, भोटको मूल्य पनि देखिसकें । मैले भोगिसकें मेरो भोटले दिएको पीडा । अब म थेग्न सक्दिन क्या । मसँग मेरो भोटको जवाफ थेग्न सक्ने ताकत छैन ।

सहभागी त परै जाओस् यो भोट भन्ने शब्दै सुन्न नपरे हुन्थ्यो भन्ने त्यसै लागेको हैन मलाई । म लोकतन्त्र र प्रजातन्त्रको विरोधी   हैन । म गणतन्त्रको विरोधी पनि हैन तर यी भुइँफुट्टाको बानी, व्यवहार र चरित्र मलाई मात्रै हैन, जनजनलाई थाहा भइसक्यो । हामीले केका लागि भोट दिने अब ? फेरि त्यही संविधानसभा जसले कहिल्यै संविधान बनाउँदैन । म ठोकुवा गरेर भन्छु, पहिलो कुरा त संविधानसभाको चुनावै हुँदैन र चुनाव भइहाले पनि संविधान बन्दैन । किनकी यसभन्दा पहिले पनि त संविधानसभाको चुनाव भएकै थियो ।

चार वर्षसम्म पनि एउटा संविधान लेख्न सकिंदैन र ? संविधानको खाकासमेत कोर्न सकेनन् । के एउटा संविधान बनाउन वर्षौ अपर्याप्त हुन्छ र ? ६०१ जना पनि अपर्याप्त थिए ? को छुटेका थिए र त्यो सभामा ? दलित थिए । महिला थिए । जनजाति थिए । आदिवासी   थिए । तराइका थिए । पहाडका थिए । हिमालका पनि थिए । क्रान्तिकारी भनाउँदा थिए । खाँटी लोकतन्त्रवादी पनि थिए । मानव अधिकारका   रक्षक हुँ भन्ने पनि थिए । जनताको असली मैमात्र हुँ भन्नेदेखि यो सबैखाले तन्त्र मन्त्रका मै हुँ भन्नेहरू सबै थिए । राजावादी पनि थिए । सबै वादी थिए । तर कसैले पनि माखो मारेनन् । मजस्तै श्रमपसिना चुहाएर, रगत बगाएर तिरेका कर चुस्नेबाहेक केही गरेनन् । उल्टो  मेरो, मेरो शाखा सन्तान र देशको नै भविष्य अन्धकारमा धकेलिदिए । अहिले फेरि केका लागि चुनाव ? अब मलाई ज्यूँदै खाल्टोमा हाल्न भोट दिने ? अब के नै छ र यिनले सपार्न सक्ने ? के त्यो समय फिर्ता ल्याउन सक्छन् ? के ती मानिसलाई ज्यूँदा बनाउन सक्छन् जसले परिवर्तनका लागि बलिदानी दिए ? अब मेरो ४५ वर्षको उमेरलाई ४० वर्षमा ल्याउन सक्छन् र ? जे हुनु भइसक्यो । कहिल्यै बिर्सन नसक्ने र माफी दिन नसक्ने गरी गल्ती गरिसके, अब फेरि पनि मैले त्यो भूल कहिल्यै दोहो¥याउने छैन । अब के बाँकी छ र जे हुन्छ त्यो त भई नै हाल्छ । बरु अब हुने सबै सहन सक्छु तर फेरि त्यो दिन देख्न चाहन्न र सक्दिन पनि । त्यसैले म भोट दिँदै दिन्न ।

मलाई लागेको छ अब तिनीहरूले फेरि मलाई भोट देऊ भनेर गाउँमा पस्न नसक्लान् किनकी उनीसँग अलिकति पनि इज्जत बचेको छ भने उसले त्यो भन्नै सक्दैन । कसरी आँट गर्न सक्छ । एउटा मान्छेले यस्तो कुरा । एक महिनामा गर्न सकिने कुराका लागि छ महिना, वर्ष दिन लम्बिन सक्छ तर २ वर्ष, ३ वर्ष, ४ वर्ष र अन्तिममा आफ्नै घरमा आगो लगाएर त कोही फेरि त्यसैका लागि मलाई भोट दे भन्न सक्ला र ? यदि त्यो ठाउँमा तपाईं हामी भएको भए के त्यसरी लाजै पचाएर फेरि कसैसँग केही माग्न सक्छौं र ? आफन्त त परै जाओस्, छरछिमेकमा पनि मुख देखाउन सक्दैनौं लाजले । अब यी नेताहरूले हामीसँग भोट देऊ भनेर आउन सक्लान र ? आइहाले भने मलाई एक पटक तिनको अनुहार हेर्न मन छ । कुन मुखले कसरी भन्दा रहेछन् । के शब्द प्रयोग गर्दा रहेछन् । भन्दा खेरीको हाउभाव कस्तो गर्छन् होला ! बोली निकाल्दा सद्दे मुखले बोल्न सक्लान् कि मुख बिग्रेला ! आँखामा आँखा जुधाएर हेर्न सक्लान् कि निहुरेर भन्लान् ! कसरी माग्लान् भोट !

मलाई राम्ररी थाहा छ, यिनले न संविधान बनाउँछन्, न देशको विकास नै गर्छन् । न जनताको मुक्ति नै चाहन्छन्, किनकी यी त वर्षे जुका हुन्, थाहै नपाउने गरी नानाथरी लोभ लालच देखाउँदै जनताको भोट लिन्छन् अनि सत्तामा पुगेपछि जनतालाई फर्की हेर्दैनन् । जनताको विकास त परै जाओस्, उल्टो देशलाई बेचेर खान्छन् । भूगोल बेचे, इतिहास बेचे, इमान बेचे, जमान बेचे । के बेच्न बाँकी छोडे र यिनीहरूले ? बचेखुचेको स्वाभिमान पनि बेचेर यतिबेला त नेपाली भनेपछि पत्याउँदैनन् विदेशीहरूले । आफ्नो देशको सम्भावना लत्याउँदै विदेशीको चर्पी सफा गर्न बाध्य पारिए नेपालीलाई । त्यो अरूले हैन । हाम्रै आफ्नैले । हामै्र नेताले । जसलाई हामीले नेता बनायौं, उसैले हामीलाई गुलाम बनायो त्यो पनि विदेशीको । अनि म किन भोट दिउँ ? यो प्रायोजित चुनावको नाटक किन हेर्ने बेकारमा !

No comments:

Post a Comment