Tuesday, February 5, 2013

नेवाः नेताहरु हनुमान हुन : रोहित

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

नेमकिपाको स्थापना दिवसमा रोहित भन्नुहुन्छ ‘संघीयतामा गए देश टुक्रिने दावी’

नेवाः नेताहरु हनुमान हुन :  रोहित

कीर्तिपुर सन्देश

नेपाल मजदुर किसान पार्टीको ३९ औं स्थापना दिवसको उपलक्ष्यमा नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा गत माघ १३ गते कीर्तिपुर पार्टी प्यालेसमा ‘नेपालको कम्युनिष्ट आन्दोलन मा नेमकिपाको भूमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो। नगर समिति अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरसचिव देवशरण महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो ।

नेमकिपा काठमाडौं जिल्ला सचिव राजवीर डंगोल, नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष पूर्ण प्रसाद धिताल अतिथि रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि नेमकिपाको अध्यक्ष नारायण मान बिजुक्छे हुनुहुन्थ्यो । आफ्नो मन्तव्यको क्रममा  समाजको परिवर्तन र देशको विकासको निम्ति तल्लो वर्ग र शोषित पीडित जनतालाई वर्गीय र राजनैतिक रुपले सचेत र संगठित गर्दै कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउन  नेमकिपाको स्थापना २०३१ साल माघ ११ गते भएको बताउनु भयो । उहाँले आफ्नो मन्तव्यको क्रममा नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा, देशको वर्तमान स्थितिको बारेमा बोल्नु हुँदै अहिलेको राजनैतिक निकासको लागि राष्ट्रपतिले शासन आफ्नो हातमा लिएर देशलाई असफल  राष्ट्र हुनबाट बचाउनु पर्छ भन्नुभयो । उहाँले गोविन्द ज्ञवालीको हवाला दिंदै ‘नेवार नेताहरू हनुमान हुन, नेवारहरू खराव मालिक, असल दास भएको बताउनु भयो । गणेशमान वी.पी.को हनुमान, सिद्धिलाल सिंह मन मोहन अधिकारीको हनुमान, पद्म रत्न तुलाधर, राजेन्द्र श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठ मदन भण्डारीका हनुमान हुन’ भन्नुभयो । उहाँले अहिले देश संघीयतामा जान लागेको बारे आफ्नो असन्तुष्टि जनाउँदै संघीयताले देश टुक्रिन्छ, जातीय राज्यले जातीय दंगा भड्किन्छ भन्दै भारत विभाजनको बेलाको उदाहरण दिनुभयो ।

उहाँले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै विप्पा सम्झौता, डब्लु टी.ओ.को सदस्य बनेर देश भारतको उपनिवेश भइसकेको बताउनु भयो । यो सरकार भारतको इशारामा चलिरहेको छ ।

कार्यक्रमको अन्तमा भएको अन्तरक्रियामा पत्रकारहरुले संघीयताको बारेमा उहाँले दिनु भएको मन्तव्यप्रति असन्तुष्टी जनाउँदै नेवाः राज्यको हवाला दिंदै नेवाः राज्य आउँदैमा देश कसरी विखण्डनमा जान्छ ? कसरी जातीय दंगा हुन्छ भनेर प्रतिप्रश्न गर्नु हुँदै नेवाः राज्यको माग भनेको उत्पिडनमा परेका नेवारहरूको अधिकार स्थापित गर्न र राज्यको हरेक क्षेत्रमा समावेशी सहभागिता प्राप्त गर्नको लागि मांग गरिएको हो । नेवाः राज्य हुँदैमा अहिले यहाँ बसोबास गरिरहनु भएका अरू जातीलाई देश निकाला गर्ने भनेको त होइन नि, यस्तो भ्रमको कुरा नगर्नु होला भनेर आफ्नो जिज्ञासा राख्नु भएको थियो ।

त्यसको उतरमा उहाँले उही भारत विभाजन बेलाको कुरा उठाउनु हुँदै जातीय संघीयताले देश विखण्डन हुने, जातीय दंगा हुने बताउनु हुँदै नेमकिपा जातीय होइन वर्गिय मुक्तिको लागि राजनीति गरिरहेको बताउनु भयो । अर्का एक स्थानीय पत्रकारले वर्तमान सरकारले गरिरहेको अनियमितताको बारे तपाईंको पार्टीले कस्तो किसिमको विरोध कार्यक्रम गरिरहनु भएको छ भनेर प्रश्न गर्दा विजुक्छेले नेमकिपा कीर्तिपुर नगर समितिका साथीहरूसँग सम्पर्क राख्न  अनुरोध गर्नुभयो । कार्यक्रम संचालनं नेमकिपाका केन्द्रिय सदस्य नारायण महर्जनले गर्नु भएको थियो ।

No comments:

Post a Comment