Saturday, January 26, 2013

यो रसिदको पैसा कहाँ गयो ?

यो रसिदको पैसा कहाँ गयो ?

कीर्तिपुर सन्देश

कीर्तिपुरवासीको आराध्यदेव, आजुद्यः श्री बाघभैरवको मुर्ति जिर्ण हुन गएकोले त्यसको जिर्णोद्धार गर्न बाघ भैरव मुर्ति जिर्णोद्धार समितिको निर्माण गरियो । सो जिर्णोद्धार समितिले बाघ भैरव मुर्ति जिर्णोद्धार गर्न आर्थिक सहयोगको माग गरियो । आर्थिक सहयोग गर्नेहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने र निश्चित रुपैयाँ सहयोग गर्नु हुनेको शिलालेखमा नाम राखिने सूचना जारी गरियो । जस अनुसार कीर्तिपुरवासी र बाघ भैरवप्रति आस्था हुने व्यक्तिहरूले आफ्नो इच्छानुसार आर्थिक सहयोग गर्न थाले । आर्थिक सहयोग गर्नेहरूको नामावलि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन थाले ।

बाघ भैरवको मूर्ति बनाउन माटो लिन जाँदा पूरा कीर्तिपुर नै ओर्लिएको जस्तो गरी कीर्तिपुरका जनता सहभागी भए । उत्साहजनक रुपमा कीर्तिपुरवासीले आर्थिक सहयोग प्रदान गरिए । यसै सन्दर्भमा कीर्तिपुर नगरपालिका वडा नं. ३ नयाँबजार निवासी अमर काजी श्रेष्ठले पनि बाघ भैरव मुर्ति जिर्णोद्धार समितिलाई २०६९ श्रावण २२ गते रसिद नं. ८८८ बाट रु. २५,५२५÷– पच्चीस हजार पाँचसय पच्चीस रुपैया सहयोग स्वरुप प्रदान गरियो । समय बित्दै गयो । विभिन्न पत्र पत्रिकामा सहयोग गर्नेहरूको नामावली प्रकाशित हुन थाल्यो । तर उहाँको नाम प्रकाशित भएन । हुँदा हुँदा अहिले पत्रिकामा नामावली प्रकाशित हुन पनि छाडे । उहाँको नाम ननिस्केपछि उहाँले कीर्तिपुर सन्देशमा रसिदको अधकट्टी सहित सम्पर्क राख्न आउनु भयो । सो कुराको जानकारी बाघ भैरव मुर्ति जिर्णोद्धार समितिका कोषाध्यक्ष भिम कुमार राजभण्डारीसँग कीर्तिपुर सन्देशले सम्पर्क राखी सो    कुराको जानकारी गराइयो । उक्त नम्बरको   रसिद उहाँकहाँ आइनपुगेको जानकारी पाइयो । उहाँका आइसकेको रसिद र रुपैयाको मात्र पत्रिकामा प्रकाशित भएको जानकारी दिनुभयो । उहाँलाई रसिद नम्बर ८८८ मिति २०६९÷ ०४÷२२ को बारेमा सत्य तथ्य बुझेर खबर गर्ने बचन दिनुभयो । उहाँबाट कुनै खबर नआएपछि समितिका एक सदस्य रामवहादुर महर्जनसँग सम्पर्क राखेर जानकारी लिंदा उक्त रसिद नं मा अर्कै मान्छेको नाम र रुपैया ५००० मात्र रहेको टेलिफोनबाट जानकारी प्राप्त भयो । अब सवाल उठ्छ रसिद नं.८८८ अन्तर्गत मिति २०६९÷०४÷२२ गते अमर काजी श्रेष्ठले बुझाउनु भएको रु.२५,५२५÷– कहाँ गयो ? कि अमर काजी श्रेष्ठले नक्कली रसिद बनाएर नदिएको पैसा दिएँ भनेको हो कि ? या बाघ भैरव मुर्ति जिर्णोद्धार समितिको नाममा नक्कली सहयोग रसिद बनाएर आर्थिक ठगि गरिरहेको छ कि ? यस कुरामा जाँचबुझ गर्न जरुरी भएको छ । होइन भने कुनै पनि कामको लागि आर्थिक सहयोग माग्दा आर्थिक सहयोग दिन सोच्नु पर्ने भएको छ ।

यसको बारेमा बाघ भैरव मुर्ति जिर्णोद्धार समितिले सत्य तथ्य छिट्टै बाहिर ल्याउनु पर्ने अमरकाजी श्रेष्ठले माग गर्नु भएको छ ।

Click to read the magazine pdf

No comments:

Post a Comment