Saturday, January 26, 2013

सुपरएटको खेल अझ रोमान्चक हुने

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013


सुपरएटको खेल अझ रोमान्चक हुने

नवीन महर्जन

शहिद स्मारक राष्ट्रिय लिग २०६९ को पहिलो चरणको सम्पूर्ण खेलहरू करीव करीव भैसकेको छ । राष्ट्रिय लिगमा सम्मिलित १६ टिम मध्ये शिर्ष स्थानमा रहेको थ्रीस्टार क्लब, मच्छिन्द्र क्लब, आरसीटी, सरस्वती क्लब, मनाङ मस्यांङडी क्लब, एनआरटी, आर्मी र फ्रेन्ड्स क्लब गरी आठ टिम सुपरएटको लागि छनौट हुने सम्भावना रहेको छ भने बाँकि नवौंदेखि तेह्रौं स्थानसम्म रहेको क्लबहरू नेपाल पुलीस, शंकटा, हिमालयन शेर्पा, एपीएफ र जावलाखेल ‘ए’ डिभिजनमा नै कायम हुने भएका छन । बाँकी ३ टिम मध्ये बौद्ध र बाँसबारी टिमले आफ्नो ‘ए’ डिभिजनको परिचय गुमाएका छन र रेलिगेशनमा परि ‘बि’ डिभिजनमा झरेका छन । रेलिगेशनमा पर्नु भनेको निकै पीडादायी अवस्था हो । अब फेरी ‘ए’ डिभिजनमा उक्लीन धेरै संघर्ष गर्नु पर्ने छ । ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परी ३ टीम ‘बि’ डिभिजनमा झर्ने भएका छन भने ‘बि’ डिभिजनबाट केवल १ टिम ‘ए’ डिभिजनमा उक्लीने प्रावधान रहेको छ जस्ले गर्दा पनि रेलिगेशनको पीडा अझ बल्झेको हो । सुपरएटमा छनौट भैसकेका आठ वटा टिम बिच राउण्ड रोबिनको आधारमा खेल भैसकेपछि यस शहिद स्मारक राष्ट्रिय लिग २०६९ को छिनोफानो हुने कार्यक्रम रहेको छ । जस्ले गर्दा यो सुपर एटको खेल अझ रोमान्चक हुने आशा गर्न सकिन्छ । सुपर एटमा सम्मिलित सम्पूर्ण आठै ओटा टिमले उत्कृष्ट खेल प्रदर्शन गरी आफ्नो खेलमा अझ परिपक्वता देखाउने छ । पहिलो चरणमा भएको गल्ति कमी कमजोरीलाई अवश्य सुधार गर्ने अपेक्षा गर्न सकिन्छ । पहिलो चरणमा निकै उतार चढाव देख्न पाएको थियो मै हुँ भन्ने टिमलाई पनि हारको सामना गर्नु परेको थियो भने लिग र नकआउट खेलमा के अन्तर हुने रहेछ भन्ने पाठ पनि सिकाएको थियो ।

युवा टोली सम्मिलित बौद्ध, मध्यपुर थिमीले नकआउट प्रतियोगितामा राम्रै खेल देखाएका थिए तर यस लिगचरणमा समान खेल देखाउन सकेन जस्ले गर्दा रेलिगेसनमा समेत पर्न पुग्यो । लिग भनेको सम्पूर्ण खेलाडिहरूको टीम वर्कले शुरुदेखि अन्तसम्म शारीरिक, मानसिक शक्ति सन्चय गरी आफ्नो खलेलाई सन्तुलन बनाई प्रस्तुत गर्नु हो । यदि खेलमा हारको पिडा सहन नसकी आवेश आएमा तथा उच्चकोटीको प्रदर्शन भयो भनेर बसी मात्तेमा त्यसको असर अर्को खेलमा देख्न सकिन्छ । तसर्थ लिग खेल सुझबुझ तरीकाले खेल्ने खेलको रुपमा लिन सकिन्छ ।

वास्तवमा पहिलो चरणको लिगबाट साँच्चैको लिग च्याम्पियन को होला भनेर अडकल गर्न निकै कठिन छ । किनभने पहिलो चरणको खेलमा ‘ए’ डिभिजनमा संघर्ष गरेको एपीएफ र संकटाले पुलिस, त्यसैगरी सरस्वतीले थ्रीस्टार र मच्छिन्द्रलाई हराएको थियो । त्यसैगरी रेलिगेसनमा परेको बाँसबारीले आरसीटीलाई हराएको थियो । त्यसैले सुपरएटको खेल अझ रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ । कुनै पनि टिमले शतप्रतिशत दावेदार प्रस्तुत गर्न सकेका छैन । यसपालीको लिगमा विभागिय टिमले सफलताको साथसाथै चर्चा नपाउनुको प्रमुख कारण पनि विदेशी खेलाडि विना विभागीय टिम खेल्नु पर्ने साथै पुलिस, आर्मी र एपीएफको जागिर भन्दा क्लबको आकर्षक पारिश्रमिक र ग्लामर प्रिय भएकोले उत्कृष्ट खेलाडि पाउन छाडेकोले हो । अहिले भैरहेको रेडबुल शहिद स्मारक लिग प्रतियोगितामा स्टार खेलाडि थोरै तथा नयाँ अनुहार र विदेशी खेलाडिहरू धेरै भन्दा धेरै चम्किएका छन जस्ले गर्दा पनि आउँदा खेलहरू अझ रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ ।

वास्तवमा यहि आउँदो माघ १२ गते भित्र पहिलो चरणका सम्पूर्ण खेलहरू समाप्त हुनेछ र करीव १ महिनाको विश्राम पछि मात्रै सुपरएटको खेल हुने भएकोले यस्को प्रतिक्षा सबैलाई अवश्य हुने छन ।

No comments:

Post a Comment