Friday, April 26, 2024

नेकपा एमाले कीर्तिपुर नगर कमिटीको छैठौं नगर अधिवेशन कस्तो होला ?

 नेकपा एमाले कीर्तिपुर नगर कमिटीको छैठौं नगर अधिवेशन कस्तो होला ?



अहिले कीर्तिपुरमा नेकपा एमालेको छैठौं नगर अधिवेशनको खूव चर्चा चलिरहेको छ । २०८१ बैशाख २२ गते एमाले कीर्तिपुर नगर कमिटिको छैठौं अधिवेशन भनेर प्रचार गरिरहेको छ । कसरी छैंठौं अधिवेशन भयो ? कहिले पाँच चोटि अधिवेशन कहाँ कहाँ भयो ? ती अधिवेशनले कसलाई नेतृत्व सुम्पिएको थियो भन्ने जिज्ञासा बढिरहेको छ । नेकपा एमालेको अधिवेशन मात्र प्रचारवाजी हो । सदाझै  यसपाली पनि टिका लगाएर नगर नेतृत्व चयन हुन्छ कि प्रजातान्त्रिक तरिकाले चुनावबाट नेतृत्व चयन हुन्छ ?

नेकपा एमाले कीर्तिपुर नगर कमिटिको अधिवेशनबारे केहि चर्चा गरौं । 

२०५३ साल चैत्र १४ गते कीर्तिपुर नगरपालिका घोषणा भएपछि नेकपा एमाले कीर्तिपुर नगरकमिटी गठन भएको थियो । जसको नगर सचिवमा राजमान महर्जनलाई चुनिएको थियो । उहाँकै नेतृत्वमा २०५४ सालको स्थानीय निकायको चुनाव भयो । हिराकाजी महर्जन प्रमुख, रमेशमान महर्जन उपप्रमुखसहित १९ वटा वडा मध्ये १० वटा वडामा नेकपा एमालेका वडाध्यक्षहरु विजयी भएको थियो । कीर्तिपुर नगरपालिकामा एमालेको बहुमत भएको थियो ।

  नेकपा एमाले विभाजित भएर माले र एमाले हुँदा राजमान महर्जन लगायत कीर्तिपुरका बहुसंख्यक कार्यकर्ता मालेतिर लाग्यो । एमालेका कार्यकर्ताहरुले २०४६ सालको जनआन्दोलनमा घाइते भएका जिउँदो सहिद नामले चिनिएका रामशरण महर्जनलाई सचिव बनायो । यसलाई एमाले कीर्तिपुर नगरकमिटिको दोस्रो अधिवेशन मानिएको थियो । 

२०५६ सालको संसदीय चुनावमा माले र एमालेबाट छुट्टा छुट्टै उम्मेदवार उठायो । जसको फाईदा नेपाली कांग्रेसलाई भयो । संसदीय चुनावमा एमाले र माले नराम्ररी हार भएपछि पुनः पार्टी एकिकरण भयो । पार्टी एकिकरणपछि तेस्रो कार्यकालको लागि सुरेन्द्र मानन्धरलाई सचिव बनायो । धेरै वर्षसम्म सुरेन्द्र मानन्धर सचिव भै काम गर्नु भयो । त्यसपछि चौथो अधिवेशनले विकास महर्जनलाई नेकपा एमाले कीर्तिपुर नगर कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित गरियो । जसको नेतृत्वमा २०७४ सालको स्थानीय तहको चुनाव भयो । जसमा नेकपा एमालेका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खडका लगायत १० वटा वडा मध्ये ७ वटा वडामा विजय प्राप्त ग¥यो । 

प्रतिगमनको कुरालाई लिएर फेरि पार्टी विभाजन भयो । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी ।  त्यपछि पाँचौ अधिवेशनले राधाकृष्ण बस्नेतलाई अध्यक्ष बनायो । उहाँको पालामा पनि चुनाव नगरी माथिको आदेशमा निर्विरोध निर्वाचित गरियो । उहाँको नेतृत्वमा २०७९ सालको स्थानीय चुनावमा पार्टी सामेल भयो । कीर्तिपुर नगरपालिकाको चुनावमा उम्मेदवार चयन हुँदा कार्यकर्ताको भावना विपरीत नेतृत्वले चयन गरेर पठायो । टिके उम्मेदवार भनेर उम्मेदवार दर्ता गर्ने दिन पार्टी कार्यालयमा बेञ्च फालाफाल समेत भएको थियो ।

२०७९को स्थानीय चुनावमा लज्जाजनक हार भयो । मेयर उपमेयरको त के कुनै पनि वडामा वडाध्यक्षले विजय हासिल गर्न सकेन । यो हुनुमा एक पक्ष राधाकृष्ण बस्नेतलाई अध्यक्ष मान्न तयार नै थिएन । नगर अध्यक्षमा चुनाव नगराईकन माथिल्लो नेतृत्वको इशारामा निर्णय भएको थियो । पहिलोपल्ट कीर्तिपुर डाँडाबाट नगर नेतृत्व डाँडाबाट तलकोले पाएको थियो । उम्मेदवार चयन गर्ने बेलामा पनि कार्यकर्ताको भावना विपरीत उम्मेदवार दिंदा र पार्टीभित्र पनि दुई गुट हुँदा लज्जाजनक हार भएको थियो । 

अहिले राधाकृष्ण बस्नेतको नेतृत्वको नगर कमिटि भंग गरि चिनी काजी श्रेष्ठलाई अधिवेशन संयोजक बनाइएको छ । अर्थात अब छैठौं नगर अधिवेशन चिनी काजी श्रेष्ठको नेतृत्वमा सम्पन्न हुनेछ । यसपालीको नगर अधिवेशनमा पनि परम्परागत रुपमा निर्विरोध अधिवेशन छान्ने प्रवृत्ति चल्दै आइरहेजस्तै टिके प्रथा लागु गर्ने कि प्रजातान्त्रिक तरिकाले चुनावबाट नेतृत्व चयन गर्ने हो ? कार्यकर्ता र मतदाताहरु उत्सुक भएर हेरिरहेका छन । 

अधिकांश कार्यकर्ताको मांग पार्टीमा धेरै समयदेखिको योगदान गरेका, हरेक क्षेत्रमा डासिंग पावर भएको, कीर्तिपुर नगरपालिकामा पूर्ण बहुमत रहेको नेपाली कांग्रेस पार्टीसँग टक्कर लिन सक्ने जनतालाई आकर्षित गर्न सक्ने स्वच्छ छबि भएको व्यक्तिको मांग भैरहेको छ । अहिले छानिने एमाले नगर नेतृत्वले २०८४ को स्थानीय तहको चुनावको नेतृत्व लिनु पर्ने हुन्छ । जसको काँधमा ठूलो जिम्मेवारी आउने छ । सो जिम्मेवारी बहन गर्न सक्ने, समाजसेवामा समर्पित, मतदातालाई आकर्षित गर्न सक्ने क्षमता भएको उम्मेदवारको अपेक्षा राखेका छन । होइन भने एमालेको मिसन ८४ हाती आयो हाती आयो फुस्सा हुन सक्छ । जनता र कार्यकर्ताको भावना विपरीत जाने पार्टीलाई जनताले पाठ सिकाई सकेको छ । 

हिजोको गल्तिलाई सुधारेर प्रायश्चित गर्छ कि घमण्डले फुलेर भ्यागुतोको पेट फुटेझै हुने हो । बेलैमा सचेत हुनु जरुरी छ ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ६४१ मा प्रकाशित


No comments:

Post a Comment