Monday, January 15, 2024

बाघभैरव साकोसको २४ औं साधारण सभामा कीर्तिपुर सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले व्यक्त गर्नु भएको धारणा

 बाघभैरव साकोसको २४ औं साधारण सभामा कीर्तिपुर सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले व्यक्त गर्नु भएको धारणा

कीर्तिपुर क्षेत्रको एक प्रतिष्ठित पुरानो सहकारी बाघभैरव बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा गत पुस २७ गते शुक्रवार बाघभैरव बैंक्वेट नगाउँमा सम्पन्न भयो ।

संस्थाको अध्यक्ष नवीन नकर्मीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

अन्य अतिथिहरुमा कीर्तिपुर नगरपालिका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जन, कीर्तिपुर सहकारी संघका अध्यक्ष दिलबहादुर महर्जन र संचालक समितिका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

संचालक समितिका सचिव सुरेश कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।

संस्थाका अध्यक्ष नवीन नकर्मीले आ.व.२०७९÷०८०को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार २०५७ सालमा रु.१० लाख शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्था २०८० असार मसान्तसम्ममा रु.७,३६,५५,७००÷पुगेको बताउनु भयो । अहिलेको तरलता अभावको स्थितिमा पनि यस सहकारीले निक्षेप फिर्ता दिइरहेको बताउँदै खासै समस्या नरहेको बताउनु भयो ।

कीर्तिपुर सहकारी संघका तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिल वहादुर महर्जनले अहिले कीर्तिपुरको सहकारीमा देखिएको समस्या बाहिरबाट आएर यहाँ शाखा खोलेकाहरुले हिनामिना गरेर भागेका कारण कीर्तिपुर निवासीहरुले चलाइरहेको सहकारीलाई पनि केहि समस्या आएको हो तर डराउनु पर्दैन विश्वास नै ठुलो कुरा हो । आफ्नो सहकारी बचाउनु सबै सदस्यहरुको कर्तव्य हो भन्नुभयो ।

        कार्यक्रमका विशिष्ट अतिथि कीर्तिपुर नगरपालिका सहकारी शाखा प्रमुख सुजिन्द्र महर्जनले शुभकामना मन्तव्य राख्नेक्रममा भन्नुभयो — “मैले आफ्नो शुभकामना मन्तब्य दिने क्रममा दुईटा कुरा राख्ने जमर्काे गर्छु । पहिलो कुरा संस्थाको बारेमा मैले देखेको कुरामा म टिप्पणी गर्न चाहन्छु । त्यसपछि अहिलेको समग्र सहकारीको परिस्थितिको बारेमा मेरो धारणा राख्ने छु । पहिलो बाघभैरव सहकारी संस्थाको स्थितिको बारेमा भन्नेछु । तपाईहरुलाई थाहा छ कोभिडकाल संगसंगै रुस र युक्रेनको कुरा आयो । त्यसपछि मध्य पूर्व एशियाको युद्धको परिस्थिति आयो । त्यस्को कारण विश्व अर्थतन्त्रमा छाएको नकारात्मक प्रभाव नेपालमा पनि आयो । त्यो नेपालमा अहिलेसम्म हटेको छैन । म एउटा सहकारी संस्थाको अभियानमा जोडेको करिब ३० वर्ष भयो । जागिरे जीवनमा सहकारीको जिम्मा लिएको त ५ वर्ष भयो । यति समयसम्म सहकारी संस्थाको क्षेत्रमा यस्तो संकट आएको अहिलेसम्म मलाई थाहा छैन । त्यो संकट पनि कस्तो भन्दा अरु बाहिरको कारणले एकातर्फ छ भने अर्काे यो भन्दा ठूलो सहकारीसंग जोडेका सदस्यहरूले सहकारी प्रति अविश्वास बढ्दै गएको, शंकाको दृष्टिले हेर्दै गएको र सहकारी अभियान प्रति नकारात्मक रुपले हेर्ने ग्राफ अझै बढ्दै गएको स्थिति छ । यो एउटा हामी सहकारी संस्थाको लागि चुनौतीको विषय हो जस्तो लाग्छ । अहिलेको यो समयमा पनि कुनै गुनासो नआउने तरीकाले यो वाघभैरव सहकारीले कारोवार गरिरहेको छ । यो सामान्य कुरा होईन । त्यसका लागि म नविनजी सहितको नेतृत्वलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ यदि वाघभैरव सहकारीमा समस्या आएको भए जुन अहिले शिवशिखर सहकारीको कारण अविश्वास सृजना भएको छ । त्यो भन्दा ठूलो आउनेछ । यो वाघभैरव सहकारी, कीर्तिपुर बहुउद्देश्यीय, उमामहेश्वर सहकारीमा आएन अझ सहकारी अभियानलाई जोगाउन, कीर्तिपुरबासीको आस्था जोगाउने वातावरण बनेको छ । यो हाम्रो ठुलो उपलब्धि हो जस्तो लाग्छ र अर्काे कुरा मैले भन्नैपर्छ कि उहाँले समय मै केही महत्वपूर्ण कुराहरु निर्णय गर्नुभएको छ । दिल ब. दाईले नेतृत्व गर्नुभएको संस्थामा सम्पत्ति व्यवस्थापन सम्बन्धित विषयमा केही महत्वपूर्ण निर्णय नगर्नु भएको भए अहिले कीर्तिपुर बहुउद्देश्यीय लगायत वाघभैरव सहकारी साथै अरु कारोबारको हिसाबमा सहकारी संस्थाहरु ठूलो समस्या मा आउथ्यो । दिल ब.लगायत जुन कीर्तिपुरबासीले नै नेतृत्व गरेको ३/४ वटा सहकारी संस्थामा समस्याहरु आएन । त्यसकारण एउटा सकारात्मक धारणा र वातावरण बनेको छ जस्तो लाग्छ । त्यस्तो हुदाहुदै पनि यहाँ कीर्तिपुर भन्दा बाहिरकाले संचालन गरेको शाखाका रुपमा त्यहाँ कारोबार गरे । शिवशिखरको विषयमा कीर्तिपुर भित्रमा भएका हाम्रो सहकारी संस्थाले २४ वर्ष भित्रमा हामीले निक्षेप गरेको कारोबार डेढ दुई वर्ष भित्रमा गरे । त्यो किन ग¥यो भन्दा हाम्रोमा अझै सोचाईमा संकोचन छ, साँघुरो छ । हाम्रो दाजुभाईले संचालन गरेको समुदायमा आधारित संस्थामा कारोवार ग¥यो भने आफ्नो कारोबार समुदायमा, आफ्नो परिवेशमा थाहा हुन्छ कि भन्ने कुरा पनि छ । अनि हाम्रो अनुहारले फलानो अध्यक्ष भएको, कर्मचारी भएको संस्थामा किन कारोबार गर्ने भन्ने पनि छन् । अर्को सोच्न नसक्ने व्याजको प्रस्तावलाई मान्ने ३ वर्षमा दोब्बर ६ वर्षमा दोब्बर अनि सहकारीले १४÷१५ प्रतिशत व्याज दिनेमा २४/२५ प्रतिशत दिन्छु भन्दा पनि पत्याउने त्यो खालको लोभी स्वभावले पनि पैसा फस्ने काम धेरै भयो । त्यो पैसा फस्ने वातावरण नबनोस भनेर हाम्रो नवीन दाइ पनि सक्रिय हुनुहुन्छ । हामीले सहकारी संघसंग मिलेर न.पाबाट धेरै कामहरु गरेका छौ । यो खालको कीर्तिपुरमा खराब वातावरण आउँछ भनेर नै परिकल्पना गरेर रोक्न खोजेका थियौ तर रोक्न सकेन । अहिले यो खालको वातावरणलाई रोकथाम अथवा निवारणका क्रममा सरकार गईसकेको छ । हामीले न.पाको तर्फबाट आदरणीय मेयरज्युको निर्देशन अनुसार एउटा वातावरण तयार गरेका छौ कि शिवशिखरदिपबाट पिडित व्यक्तिहरुको विषयमा आवश्यक कुराहरु, अनलाईनबाट फर्म भर्नु भन्दा अघि गुनासोका कुराहरु लिने र पठाउने गरिरहेका छौं । अन्य खालको सहजीकरण गर्ने सल्लाह दिने कामहरु गरिरहेका छौं । सरकारले पक्कै पनि त्यस्को निचोडमा पुगि हाम्रो नगर क्षेत्रका वचतकर्ताहरुको पैसा फिर्ता गर्ने काम सकेसम्म चाडो गर्छ भन्ने कुरा यहाँहरुलाई आशा र विश्वास पनि दिलाउन चाहन्छु । अहिले यस्तो सहकारी प्रति अविश्वास बढ्ने क्रममा पनि तपाईहरुले १०% शेयर बढाउनु भएको छ । यो कुरा साधारण होईन । म अरु साधारण सभा कार्यक्रममा पनि जाँदा अरु संस्थाहरुमा शेयर सदस्य १ जना पनि नबढेको देखे । तर तपाईहरुले कुल पुँजीको १०% बढाउनु भयो धेरै मेहिनत गर्नुभएको देखिन्छ । अहिले सहकारी प्रतिको जुन वितृष्णा बढेको छ । त्यसको असर तपाईहरुलाई नि परेको छ । तर तरलतामा तपाईहरुले ध्यान दिनुपर्ने कुरा देखिन्छ । अर्काे कुरा नियमित वचतमा पनि ध्यानदिनुपर्ने महत्व छ । हाम्रो संस्थाहरुमा पनि नियमित वचतको पोर्सन ४०%को हाराहारीमा हुनुपर्ने तर हाम्रो संस्थाहरुमा १% भन्दा पनि कम छ । संस्थालाई आर्थिक रुपमा स्थिर गराउने हो भने नियमित वचत अनिवार्य गराउनै पर्छ र संस्थाका सबैले गर्नुपर्छ ।


No comments:

Post a Comment