Sunday, January 2, 2022

इस्टर्न स्टार कृषि सहकारी संस्था लि.को ९ औं साधारण सभा

 इस्टर्न स्टार कृषि सहकारी संस्था लि.को ९ औं साधारण सभा

कीर्तिपुर सन्देश/

मोरंग जिल्ला विराटनगरमा संचालन भैरहेको इस्टर्न स्टार कृषि सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा गत पौष १० गते सम्पन्न भयो ।

संस्थाका अध्यक्ष यशोदा राईको सभापतित्वमा भएको उक्त साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि.उप्रेतीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अन्य अतिथिहरुमा मोबिल्याण्ड ग्रुप अफ कम्पनीको अध्यक्ष दिनेश दर्शनधारी, एक्सन किंग शिव सुन्दर श्रेष्ठ, मोरंग जिल्ला कृषि सहकारी संघका अध्यक्ष खगेन्द्र भण्डारी, दर्शन साकोसका उपाध्यक्ष तारा तुलाधर, लाहुर्निप अध्यक्ष शान्तीकुमारी राई, दर्शन साकोसका सल्लाहकार बसला दर्शनधारी लगायतका हुनुहुन्थ्यो ।

संस्थाका अध्यक्ष यशोदा राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदन अनुसार ५९ जना शेयर सदस्यहरुबाट सुरु गरेको सहकारी अहिले ५५६ जना शेयर सदस्य भैसकेका छन । जसमा महिला ३२९ र पुरुष २२७ जना रहेका छन । हालसम्म १३८ वटा कृषि हित लघु समूह निर्माण गरिएको छ ।


कृषि परियोजनामा लगानी रु. १९,३६,५९,२३३÷ रहेको छ जसमा नर्सरीमा रु. १०,७६,०५,०४०÷, हाँस पालन रु.१०,८४,५००÷, माछा पालन रु.२,४५,८६,५३९÷, परियोजना रु.६०,८६,२४४÷, बिउ विजन रु.८२,०८,४०९÷, र भैंसि लगानी रु.४,६०,८८,५००÷ शेयर पूँजी तर्फ आ.व.०७६÷७७को अन्त्यमा शेयर चुक्ता पूँजी रु.२२,६०,६७,०००÷ रहेकोमा आ.व. ०७७÷७८ मा ४२.४७ प्रतिशतले रु. ९,६०,२१,५००÷ बढ्न गई आ.ब. ०७७÷७८ को अन्त्यमा जम्मा रु.३२,२०,८८,५००÷ रहन गएको छ ।

 संस्थाले आ.व.मा जम्मा रु.३,७८,००,८७८÷ कुल आम्दानी गर्न सफल भएको छ । जसमा सबै खर्च रु. १,८६,८४,९७९ कटाई खुद नाफा रु.१,९१,१५,८९८ हुन गएको 

छ ।


उक्त संंस्थाले बचत तथा ऋण वितिय कारोवार भन्दा कृृषि परियोजना र कृषि व्यवसायलाई जोगाउन र प्रवद्र्धन गर्न तर्फ ध्यानाकर्षण गरेको देखिन्छ । जस्तो कि ः संस्थाले किसानहरुलाई क्रस भैसी पालनको लागि वितरण तथा ऋण प्रवाह, किसान समूहहरुलाई घाँस खेती गराई खरिद गरिएको, कम्पोष्ट मल बनाउन किसानहरुबाट सामूहिक रुपमा गोबर खरिद गरी मल उत्पादन तथा बिक्री वितरण लगायतको काम गरिएको छ ।

उक्त संस्थाले मोरङ्ग जिल्ला रंगेली नगरपालिका २ बवियाबिर्तास्थित प्रोजेक्ट साइंटलाई अझ बढी उत्कृष्ट र आधुनिकिकरण गर्न कार्यहरु भैरहेको जानकारी दिनुभयो । जसमा ३००० हाँस अट्ने १ वटा फलामको ट्रस सहितको आधुनिक हांस खोर निर्माण गरिएको, नर्सरी व्यवस्थापनको लागि स्थानिय बांस र ग्रीन नेटको प्रयोग गरी ग्रीन हाउस निर्माण गरिएको छ । १५० वटा भैंसी राख्न मिल्ने २ वटा फलामको ट्रस सहितका आधुनिक भैंसी गोठ निर्माण गरिएको, थप ५ विगाहामा थप ३ वटा माछा पोखरी निर्माण गरिएको, फारम भित्रका सम्पूर्ण पशु विमा गरिएका छन । यस वर्ष प्रोजेक्ट भैंसी र पाडा पाडी खरिद तथा बिक्री समेत गरिएको छ । यस वर्ष ३००० हांस पालन गरी हांस तथा हांसको अण्डा समेत बिक्री वितरण गरिएको, खरिद गरिएको र फारममा नै भएका गोबरबाट भर्मि कम्पोष्ट मल उत्पादन गरी विक्री वितरण समेत गरिएको छ ।

विभिन्न प्रजातिका १०,००० बोट विरुवा रोपाई गरिएको, मलेसियन साल रोपिएका, ब्लक डी एरियामा पोल गाडी ड्रागन फ्रुटको नमुना खेती गरिएको, ब्लक डी मा र पोखरीको डिलमा जी नाईन केरा खेती गरिएको, दालचिनी विरुवा रोपिएको, नयाँ माछा पोखरी निर्माणको लागि तथा बोरिङको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अनुदान पनि प्राप्त गरिएको छ । 

      प्रमुख अतिथि के.वि.उप्रेतीले कृषि सहकारीको नाममा सरकारी अनुदान लिन मात्र खोल्नेहरु पनि नभएको होइन, इस्टर्न स्टार कृषि सहकारीले ६० बिघा जग्गामा विभिन्न परियोजना संचालन गरी नमूनाको रुपमा काम गरेकोमा बधाई दिनुको साथै अझ प्रगतिको कामना गर्नुभयो ।


उक्त सभामा उत्कृष्ट कर्मचारीको रुपमा सबिन कपालीलाई रु. १ लाख पुरस्कार प्रदान गरिएको थियो ।

 स्मरणीय छ ः उक्त सहकारीका संचालकहरु र कर्मचारीहरु सबै महिलामात्र हुन । अबसर पाए महिलाले पनि प्रगति गर्न सक्छ भन्ने प्रमाण हो ।

कीर्तिपुर सन्देश साप्ताहिक संयुक्तांक ५२६ मा प्रकाशित

No comments:

Post a Comment