Thursday, August 12, 2021

बाईबाई सायोनारा टोकियो –२०२०

 बाईबाई सायोनारा टोकियो –२०२०




यस ओलम्पिकमा सिरियाका हेण्डजाजा सबैभन्दा कम उमेरकी खेलाडी भइन । हेण्ड जाजाले प्रतियोगितामा खेल्दा मात्र ११ वर्ष ६ महिना २५ दिन भएका थिए ।


सन् २०२० को जुलाई २४ मा हुनुपर्ने गृष्मकालिन ओलम्पिक, सन २०१९ डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट इटाली हुँदै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विश्वभरका, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका IOC का सदस्य राष्ट्रका राष्ट्रिय ओलम्पिक कमिटीहरु NOC ले समेत विरोध गरेपछि एक वर्ष पछाडी धकेलिएको टोकियो ओलम्पिक २०२० विभिन्न समस्याका बाबजुद पनि जुलाई २३ मा उद्घाटन भै अगष् ८ मा सम्पन्न भएको छ । एक वर्ष पछाडी सर्दा पनि कोभिड १९ मा खासै कम नभएको र झन दोस्रो लहर सुरु भएको र वैज्ञानिकहरुले तत्काल यो नघट्ने भने पछि IOC र आयोज राष्ट्र जापानले यस वर्ष टोकियो ओलम्पिक गरि छाड्ने निष्कर्शमा पुगेका थिए । यद्यपी आयोजना गरेकै बेला /उद्घाटनको दिन पनि खेल बन्द गर्नु पर्छ भनेर नारा जुलुस ¥याली नभएको होइन । यस प्रतियोगिताको विपक्षीमा ८०% प्रतिशत जापानी स्वास्थ्यकर्मी, अभियन्ताहरु, जनताहरु रहेका थिए । तर पनि जापानी सरकार प्रधानमन्त्री आयोजक टोकियो नगर आयोजक टिम IOC सबैले गर्नै पर्ने अडी लियो र नभएमा यसले भविष्यमा खेलकुद, आर्थिक राजनैतिक क्षेत्रमा ठूलो मूल्य चुकाउनु पर्ने ठहर गर्दै आयोजना गरी छाडे र अगष्ट ८ को दिनमा ठूलो सम्झनाका साथ जु्लाई २३ मा बालेको ओलम्पिक टर्च अगष्ट ८मा सेलाएर टोकियो जापानलाई बाइबाइ गर्दै ३३ औं ओलम्पिक आयोजना गर्ने राष्ट्र फ्रान्सलाई IOC का अध्यक्ष थोमस वाकले ओलम्पिक झण्डा हस्तान्तरण गरे ।

यो ओलम्पिक धेरै हिसाबले स्मरणीय रह्यो । यस ओलम्पिकमा सबैभन्दा स्मरण योग्य कुरा मास्क रह्यो । आयोजना अवधिभर कुनै पनि खेलाडी अफिसियल/रेफ्री/निर्णायकहरुको अनुहारमा मास्क छोडेन । यद्यपी खेल अबधि भर बाहेक अन्य समयमा मास्क लगाइ हाल्ने गरेको पाइयो । अझ कतिपय खेलाडीहरुले त खेलिरहेकै अवस्थामा पनि मास्क लगाएरै आफ्नो खेल प्रदर्शन गरे । यस ३२ औ टोकियो ओलम्पिकमा १६ औं दिनसम्म पनि खेल तथा आर्थिक सामरिक रुपमा उदिएमान राष्ट्र चीनले खेलमा आफ्नो शक्ति प्रदर्शन गर्दै ३८ स्वर्ण पदक हासिल गर्दै विश्वका महाशक्ति राष्ट्रलाई दोश्रो स्थानमा पार्दै आएको थियो । तर १७ औं तथा अन्तिम दिनमा चीनले कुनै पदक हासिल गर्न नसक्नु र ३७ स्वर्ण सहित दोश्रो स्थानमा रहेको अमेरिकाले महिला भलिबल र महिला बास्केटबलमा स्वर्ण पदक हासिल गरेपछि ३९ स्वर्ण ४१ रजत र ३३ काँस्य सहित कुल ११३ पदक हासिल गरी आपूmलाई अझ एक पल्ट पावर हाउस सावित गरेको छ । यस प्रतियोगितामा अमेरिकाले कूल ३३ वटै खेलमा गरी कूल ६२६ खेलाडी सहभागी गरेका थिए । त्यसमध्ये अमेरिकाले २८ खेलको विभिन्न इभेण्टहरुबाट३९ स्वर्ण ४१ रजत र ३३ काँस्य पदक जित्न सफल भएका छन । सहभागी खेलाडी मध्ये २५७ खेलाडीले आफ्नो घाँटीमा पदक झुण्ड्याएर टोकियो जापानलाई बाइबाइ गर्दै घर घर फर्के ।

चीनले यस टोकियो ओलम्पिकमा सबै खेलमा गरी सर्वाधिक ७७७ जना खेलाडीहरु सहभागी गराएकोमा अन्तिम दिन कुनै मेडल प्राप्त गर्न नसकेपछि ३८ स्वर्ण ३२ रजत र १८ कास्य सहित कुल ८८ पद प्राप्त गरी पदक तालिकामा दोश्रो स्थानमा चित्त ुझाउनु बाध्य भए । ८८ पदक प्राप्त गर्नेहरु मध्ये विभिन्न खेलमा गरी कूल १५७ जनाले पदक भिरेर आफ्नो देश फर्के । १५७ जना मध्ये १०५ जना महिला र ५२ जना पुरुषले आफ्नो देशको गौरव गाथा विश्वमा फैलाउन सफल भए । सोही अनुपातमा अमेरिकाका २५७ पदकधारी मध्ये १६४ महिला र ९३ पुरुष रहेका छन । तेश्रो स्थान हासिल गरेका आयोजक राष्ट्र जापानले ३७ खेलमा ५५६ जना खेलाडीहरु सहभागी गराएका थिए । त्यस मध्ये २७ स्वर्ण १४ रजत र १७ काँस्य सहित ५८ पदक प्राप्त गरी पदक तालिकामा तेस्रो स्थानमा नाम लेखाउन सफल भए । पदक प्राप्त गरेको ५८ इभेन्टहरुबाट ६६ महिला र ६० पुरुषहरुले पदक ल्याएर विश्वमा आफ्नो राष्ट्रको शीर उच्च गर्न सफल भए । जापानको मोमिजी निसियाले ओलम्पिक खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीको सूचीमा नाम लेखाउन सफल भए । उनी पदक प्राप्त गर्दा मात्र १२ वर्ष ८ महिना २६ दिन भएको थियो । मोमिजी निसियाले पहिलो पटक ओलम्पिकमा समावेश गरेको खेल स्केटबोर्डमा पहिलो पटक ओलम्पिक डेब्यू गर्दै पदक प्राप्त गरेका थिए ।

शीत युद्ध कालमा ओलम्पिक खेलका शक्तिशाली राष्ट्रहरु ग्रेट ब्रिटेन, रसिया जस्ता देशहरुले चौथा, पाँचौं स्थानमा सिमित भए । ग्रेट ब्रिटेनले २२ स्वर्ण, २१ रजत र २२ काँस्य तथा रसियाले २० स्वर्ण २८ रजत र २३ काँस्य पदक प्राप्त गर्न सफल भए । स्मरणीय छ यस ओलम्पिकमा रसियाले आफ्नो देशको झण्डा मुनी मार्च पास गर्न पाएन । खेलाडीहरुले रसियन ओलम्पिक कमिटिका ROC झण्डा मुनी मार्चपास गर्न बाध्य भएका थिए । छैंठौं स्थानमा अष्ट्रेलिया १७ स्वर्ण ७ रजत २२ काँस्य, सातौं नेदरल्याण्ड्सले १० स्वर्ण १२ रजत र १४ काँस, आठौंमा ३३ औं ओलम्पिक आयोजना गर्ने फ्रान्स १० स्वर्ण १२ रजत र ११ काँस्य नवौं स्थानमा जर्मनी १० स्वर्ण ११ रजत १६ काँस्य र दशौं स्थानमा इटाली १० स्वर्ण १० रजत र २० काँस्य पदकहरु प्राप्त गर्न सफल भए ।

दक्षिण एशियाको पावर हाउस भारतले इतिहास रच्दै ज्याभलिन थ्रोमा निरज चोपडाले ८७.५ मिटर थ्रो गरेर स्वर्ण प्राप्त गरे । भारतले थप २ रजत र ४ काँस्य पदक तालिकामा नाम लेखाउन सफल भए । यस ओलम्पिकमा सिरियाका हेण्डजाजा सबैभन्दा कम उमेरकी खेलाडी भइन । हेण्ड जाजाले प्रतियोगितामा खेल्दा मात्र ११ वर्ष ६ महिना २५ दिन भएका थिए । उनले अल जजिरा च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी छिन की उनको दाजु ओवेदाले च्याम्पियन्स कप जिते पछि दाजुसँगै ५/६ वर्षको उमेर देखि टेवल टेनिस खेल्न थालेको बताइन् । यस ओलम्पिकमा उनले आपूm भन्दा २७ वर्ष जेठी अष्ट्रलियन खेलाडी ३९ वर्षिय लूइजिया सँग खेल्दै ४–११, ९–११, ३–११ र ५–११ मा पराजित भई बाहिरिएकी थिइन । टोकिया ओलम्पिकमा सबैभन्दा जेठो खेलाडी अष्ट्रेलियाको घोडचढी खेलाडी ६६ वर्षिय मेरि हान्न घोषित भइन् । उनले यो समेत गरी छैंठौं पटक ओलम्पिकमा सहभागिता जनाएर रेकर्ड राखे । कतारका हाइजम्प खेलाडी मूताज इसा वार्शिमले खेलमा मित्रभाव र ऐक्यवदताको बेमिशाल छाप छेड्नु  भयो । उनले प्राप्त गोल्ड मेडल आफ्ना प्रतिद्वन्दी इटालिका जियानमाक्रो टाम्बेरीसँग एक आपसमा बाँड्नु भएको छ । खेलमा दुवैले २.३९ मिटर उचाइ क्रस गर्न नसकेपछि १ सेन्टिमिटर घटाएर उफ्रने क्रममा इटालीका खेलाडी टाम्बेरी घाइते भए पछि प्रतियोगिताबाट आफ्नो नाम झिके झिकेको थियो । तर कतारका मुताजले आफ्ना मित्र टाम्बेरीले नाम फिर्ता लिए पछि खल्लो लागेर भावुक भएर अफिसियलसँग मैले पनि नाम फिर्ता लिएँ भने के हुन्छ ? भनी सोधेको प्रश्नमा अफिसियलले दुर्वलाई स्वर्ण पदक दिइने नियम भएको बताएपछि मुताजले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो । यस पछि अफिसियलले दुवै खेलाडी प्रथम भएको घोषणा गरेका थिए । यद्यपी दुवै खेलाडीले २.३७ मिटर उचाइ उफ्रन सफल भएका थिए । यस ओलम्पिकको ३२ औं संस्करणमा पनि नेपाल भने आफ्नो राष्ट्रिय राष्ट्रिय रेकर्ड तोड्ने बाहेक अरु केही गर्न सकेन । यस ओलम्पिकले के सिद्ध गरेको छ भने कुनै पनि खेलमा विगतमा जस्तो एउटै राष्ट्रको एक छत्र नभएको कुरा पुष्टि गरेको छ । विगतका समयमा एथलेटिक्स र पौडी अमेरिकाको दबदबा थियो । तर सो अब सम्भव नभएको कुरा पदक तालिकाले देखाएको छ । त्यस्तै टेवल टेनिसमा पनि अन्य राष्ट्रहरुले चीनलाई चूनौती दिएको प्रष्ट देख्न पाइन्छ । यद्यपी अमेरिकाले पौडीमा र चीनले टेबलटेनिस र सूटिङमा स्वर्ण जितेका छन । अन्तिम दिन ८ तारिखको दिन भएको म्याराथन दौडमा केन्याका इलियूड केन्बोजे २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गरी स्वर्णपदक हात पारेका थिए भने महिला तर्फ पनि केन्याका पेरेश सापोरोते २ घण्टा २७ मिनेट २० सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितिन । इलियूड कोप्चोगेले २ घण्टा १ मिनेट ३९ सेकेण्डमा दौडा पूरा गरी विश्व रेकर्ड बर्लिन म्याराथन २०१८ मा राखेका  थिए । जापानले अनेक समस्याका बाबजूद पनिWorld we share को नारा सहित सुरु गरेको टोकियो ओलम्पिक–२०२० पूर्ण सफलता पूर्वक सञ्चाल न भएकोमा IOC अध्यक्ष थोमस वाकले यस खेलमा वास्तवमै ओलम्पिक ऐक्यवद्धता प्रस्तुत भएको बताए र आयोजक राष्ट्रलाई धन्यवाद दिए । यस ओलम्पिकको अर्को सबैभन्दा पक्ष भनेको मेडल निर्माणको लागि जापानभरीबाट बिग्रेको मोवाइल संकल अभियान गरेकोलाई लिन सकिन्छ । विग्रेका मोवाइल तथा विद्युतिय सामाग्रीको चिप्सहरुलाई पुनः प्रयोग गरेर ५ हजार मेडल तयार गर्न मेडल प्रोजेक्ट नै सञ्चालन गरेका थिए । यसले गर्दा वातावरणमा सकारात्मक प्रभाव परेको कुरा आयोजहरुले बताएका छन । यो एउटा विश्वलाई शिक्षा प्रदको रुपमा लिन सकिन्छ ।



प्रस्तोता : प्रदिप महर्जन

No comments:

Post a Comment