Tuesday, August 20, 2019

चेक बाउन्स के, कसरी ?

चेक बाउन्स के, कसरी ?


                                   नरेश श्रेष्ठ

बिनिमयका साधनहरू मध्ये चेक नगद कारोबार जतिकै बिश्वासिलो एबं भरपर्दो साधन मानिन्छ । कसैले चेक बैकमा लिई आए, चेक लिई आउने (बाहक) लाई बिना शर्त तत्काल तुरून्त भुक्तानी दिनुपर्ने कर्तव्य बैकको हुन्छ । बैकिङ्ग प्रणालीमा चेकको विशेष महत्व छ । चेक बाहकले चेकको भुक्तानी पाउने उसको अधिकार हो तर भुक्तानी लागि प्रस्तुत चेकमा लेखिए अनुसारको रकम चेक बाहकले प्राप्त गर्न नसके बैकिङ्ग कारोबार प्रति नै अबिश्वास पैदा भै समग्र बैकिङ्ग प्रणाली नकारात्मक असर पर्छ । 

चेक बाउन्स  ?

कतिपय अबस्थामा बैकले चेकको भुक्तानी नगरी निश्चित कारण सहित चेक बाहकलाई फिर्ता दिन्छ अर्थात चेकको भुक्तानी दिन बैकले इन्कार गर्छ । यसलाई चेक बाउन्स(Chek Bounce) अर्थात चेक अनादर भनिन्छ । अर्को शब्दमा भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । चेक बाउन्स विभिन्न कारणबाट हुन्छ । जस्तो कि चेकमा लेखिए अनुसारको रकम सम्बन्धित खातावालाको बैक खातामा भुक्तानी योग्य रकम नभएमा, चेकमा लेखिएको मिति, अंक, ब्यहोरा आदि फरक परेमा वा अन्य कारण । चेक बाउन्स हुने गरी चेक काट्नु हुदैन । यदि चेक बाउन्स भए चेक काट्ने (चेक जारी गर्ने) ब्यक्तिलाई नेपालमा प्रचलित कानून अनुसार एक साथ दुईवटा कसूर आकर्षित हुन्छ । बिनिमय अधिकार ऐन,२०३४ आधारमा चेक अनादर र बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को २ (ख) आधारमा बैकिङ्ग कसूर गरेको मानिन्छ र तत तत कानून आधारमा चेक अनादर र बैकिङ्ग कसूर मुद्दा सिर्जना हुन्छ । यस कारण चेक जथाभावी काट्ने वा दिनु हुदैन । अहिले तत्काल भुक्तानीलाई छल्नलाई  आफ्नो बैक खातामा पैसा छैन भनी जानी जानी चेक बाउन्स हुने गरि चेक दिने प्रवृत्ति बढ्दो छ । परिणामतः उपरोक्त मुद्दाहरू आइलाग्ने सम्भावना बढी रहन्छ । यसर्थ, चेक कारोबार गर्ने ब्यक्तिले चेक कसैलाई दिन कम्तीमा दुई चोटि सोच्नु बुध्दिमानी हुनेछ । कतिपय अबस्थामा गलत नियत नभए पनि बैकको खातामा कति रकम बचत छ भन्ने तथ्यगत जानकारी हुन नसक्दा पनि उपरोक्त मुद्दाको फन्दा पर्ने सम्भावना रहन्छ । अधिकांश अबस्थामा चेक काट्नेको गलत नियतले उपरोक्त कानून बमोजिमको कसूर हुने गरेको देखिन्छ ।

चेक अनादर ? 

           सामान्यतया बैकमा प्रस्तुत चेक बाउन्स वा चेकको भुक्तानी इन्कार गरेको अबस्थालाई चेक अनादर भनिन्छ । विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ क. ले बैंङ्कमा आफ्नो निक्षेप छैन वा भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंङ्कसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्नेसमेत कानूनी व्यवस्था छ ।

बैकिङ्ग कसूर ? 

बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा २ को खण्ड (ख) मा बैङ्किङ्ग कसुर भन्नाले परिच्छेद २ बमोजिमको कसुर सम्झनु पर्छ भन्ने उल्लेख भई परिच्छेद २ मा बैंङ्किङ्ग कसुरका सम्बन्धमा व्यवस्था भएको देखिन्छ । दफा ३ मा अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने भन्ने शिर्षक अन्तर्गत खण्ड (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन नहुने भन्दै सो कार्यलाई बैंङ्किङ्ग कसुरका रूपमा परिभाषित गरेको देखिन्छ ।

उपरोक्त बिश्लेषणबाट खासगरी दुवै बैंङ्किङ्ग कारोबारसँग सम्बन्धित विषय हुनुका साथै आफ्नो बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेक काट्ने कार्य दुवै कसुरमा समानरूपमा अन्तर्निहित रहने भएकोले एक चोटी चेक बाउन्स हुँदा दुई अपराध गरेको अबस्था सिर्जना हुने हुँदा बास्तबमा आफ्नो खातामा चेकमा लेखिए अनुसारको रकम छैन भनी जानी जानी चेक बाउन्स हुने गरि चेक काट्नु चेक काट्नेको गम्भीर गल्ती हो ।  व्यक्तिप्रति लक्षित भएको कारण चेक अनादरको विवाद दुनियाँवादी फौजदारी मुद्दाको रूपमा र बैकिङ्ग कसूर सरकारी बादी भई चल्ने गम्भीर फौजदारी मुद्दाको रूपमा अदालतमा चल्ने कसूर हुन्  ।


चेक बाउन्स कसरी गर्ने ?

चेक बाहकले चेकमा लेखिए अनुसारको रकम प्राप्त गर्न नसकेमा चेक बाउन्स गरीदिन भन्नु पर्छ र बैकले चेक बाउन्स भएको जनाउ वा पुर्जी उपलब्ध गराउछ । बैकिङ्ग कसूर जाहेरी दिन एकै पटक चेक बाउन्स भएनी पुग्छ तर एक एक हप्ताको अन्तरमा तेस्रो पटकसम्म बाउन्स गर्दा चेक जारी गर्नेलाई बाउन्स भएको जानकारी प्राप्त गर्ने र पछि मलाई बाउन्स भएको थाहा नै भएन भन्ने ठाउँ नहोस भन्नलाई तीन चोटी बाउन्स गर्नु राम्रो हुन्छ । हालै राष्ट्र बैङ्कले जारी गरेको परिपत्रअनुसार बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । तीन चोटी बाउन्स गर्दा पनि खातामा पर्याप्त रकम नभए बैकिङ्ग कसूरको जाहेरी दिन परिपक्व हुन्छ  र प्रहरीमा जाहेरी दिन सकिन्छ । भारतमा चेक बाउन्स भए तीस दिन भित्र खातामा पर्याप्त रकम जम्मा गरि दिन लिखित भिनब िलयतष्अभ हुलाक मार्फत रजिस्ट्री गरि चेक जारी गर्नेलाई पठाउनु पर्ने कानूनी ब्यबस्था छ । तीन चोटी बाउन्स भएमा राष्ट्र बैकमा पनि चेक दिने उपर निजको कुनै बैकमा बैकिङ्ग कारोबार गर्न नसक्ने गरी कालोसूचीमा राख्न समेत निबेदन दिन सकिन्छ ।

सजाँय के कति ? चेक अनादर भएमाः

चेक काट्नेबाट बाहकलाई चेकमा उल्लिखित रकम र सो को ब्याजसमेत भराई तीन हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने ।

बैकिङ्ग कसूर भएमाः

बैकिङ्ग कसूर गरेमा बिगो भराई बिगो बमोजिम जरिबाना र तिन महिनासम्म कैद हुनेछ ।  खास गरि चेक बाउन्स हुँदा चेक अनादरमा मुद्दा चलाउने भन्दा पनि बैकिङ्ग कसूरमा मुद्दा दिने चलन बढ्दो छ । बैकिङ्ग कसूरमा  पीडित (चेक पाउनेले) प्रहरीमा जाहेरी दिए पक्राउमा परिने तथा सरकार बादी भै मुद्दा चल्ने र कसूर ठहर भएमा चेकमा उल्लेखित रकम बिगो कायम गरि बिगो असुल गरि बिगो बराबरकै रकम जरिवाना हुने साथै तीन महिनासम्म कैद हुने र आफैले मुद्दाको लागि खर्च गरी रहनु नपर्ने भएकाले सर्बसाधारण चेक अनादर भन्दा बैकिङ्ग कसूर तर्फ आकर्षित भएका हुन । बैक खातामा चेकमा लेखिए अनुसारको रकम छ वा चेकको भुक्तानी हुन्छ भन्ने कुरा सुनिश्चित भएपछी मात्र चेक हस्तान्तरण गर्नु पर्छ । सामान्यतः आफ्नो बैङ्क खातामा के कति रकम मौज्दात रहेको छ वा छैन भन्ने कुराको हेक्का चेक काट्ने व्यक्तिलाई हुनु पर्दछ । कुनै कारणबस सो कुरा यकिन हुन नसकी वा तथ्यको भ्रममा परी वा आफैँ झुक्किन पुगी खातामा मौज्दात रहेको निक्षेपभन्दा बढी रकमको चेक काटिनु पर्ने अबस्थामा बाहेक आफ्नो खातामा चेकमा उल्लेख भएको रकमलाई खाम्ने निक्षेप छैन भन्ने कुराको पूर्वजानकारी हुँदाहुँदै खातामा हुँदै नभएको वा भएकोभन्दा बढी रकमको चेक काटी भुक्तानी नपाउने गरी अर्थात चेक बाउन्स हुने गरी कार्य गरिन्छ भने त्यस्तो कार्यले सिधै ब्यक्तिको साथै बैंकलाई नोक्सान गर्छ  । यसले चेक र बैकिङ्ग कारोबार अबिश्वास पैदा भै पुन नगद कारोबारमा फर्किने सम्भावना रहन्छ । यस कारण आफ्नो खातामा चेकले खाम्ने पैसा नै नभएको थाहा हुदा हुँदै चेक काट्ने कार्यलाई फौजदारीअपराध नै मानिएको छ । चेक सम्बन्धित एउटै प्रकृतिको कसूरमा दुई प्रकारको सजाँय हुने गरी उपरोक्त कानूनहरू प्रचलनमा रहेपनि चेकको दूरूपयोग कमि आएको छैन । झन अन्यौल अराजकता सिर्जना भएको देखिन्छ र प्रचलित कानूनी ब्याबस्था विधिशास्त्रसँग समेत सम्मत छैन । साथै पीडितले प्रभाबकारी न्यायको अनुभूति समेत गर्न पाएको देखिदैन । चेक अनादरको कसूर प्रमाणित हुन सम्बन्धित पक्षहरू बीच लेनदेन कारोबार भएको पुष्टि गर्नुपर्ने र लेनदेन कारोबार नभई चेक कारोबार हुदैन भन्ने आधारमा अदालतले हेर्दै आएको छ । बैकिङ्ग कसूर तर्फ लेनदेन कारोबार होस नहोस चेक बाउन्स भएको देखिए अन्य कुरा गौण मानिन्छ । चेक चोरी, किर्ते सहिछाप,  करकाप आदि समेत भै चेक बैकमा पेश भएर बाउन्स हुन सक्ने तर्फ अदालतले मुद्दाको रोहमा हेरेको पाइदैन । यसर्थ, चेक बाउन्स कारण सिर्जित कानूनी उपचारको बाटो एउटै तर प्रभाबकारी हुन आबश्यक छ । बैकद्वारा चेक अनादर हुनु निश्चय नै चेक लिने र दिनेको मात्र सरोकार हुन सक्दैन अर्थात सम्बन्धित बैकको पनि सरोकार रहन्छ । चेक बाउन्स समग्र बैकिङ्ग प्रणालीलाई नकारात्मक असर पर्ने बिषय भएकोले यो ब्यक्ति ब्यक्ति बीच मात्र सीमित हुने बिषय होइन । यसर्थ, यसलाई फौजदारी कानून अन्तर्गत समसामयिक परिमार्जन गरी एउटै बैकिङ्ग कसूर नै कायम गरे उपयुक्त हुनेछ ।

No comments:

Post a Comment