Tuesday, October 11, 2016

जेल डायरिको ८ आठौं खण्ड —असोज १५ गते नवौं दिन तेस्रो म्याद थप

जेल डायरिको ८ आठौं खण्ड —असोज १५ गते नवौं दिन तेस्रो म्याद थप


असोज १५ गते तेस्रो पटक मलाई अदालत लग्यो । न्यायाधीशको अगाडि मलाई उभ्याउन लग्यो । न्यायाधीशले फाईल हेरेर भत्रुभयो, ‘खोई अभियोग पत्र तयार गर्नु भएको ? खाली म्याद थप्न आउनु हुन्छ ।”

“केटीहरूको मेडिकल रिपोर्ट आएको छैन ।” महिला प्रहरीले भनिन ।

“मेडिकल रिपोर्ट पठाएको छैन भने तपाईंहरू गएर ल्याउनु प¥यो । दुईटा एन.जि.ओ.को झगडामा विचरो बूढो मान्छेलाई दुःख दिइरहनु भएको छ । ल अब पनि पाँच दिनको समय दिन्छु । त्यतिबेलासम्म पनि अभियोग पत्र तयार गरेर ल्याउनु भएन भने म उहाँलाई यहिंबाट रिलिज गरिदिन्छु ।” न्यायाधीशले भन्नुभयो ।

महिला प्रहरी निरुतर भइन । लुसुक्क परेर मलाई फिर्ता ल्याइन । पाँगा घरको मुचुल्का उठाएर ताला खोलिसकेको र त्यहाँ केटीहरूले भने बमोजिम केही पनि प्रमाण नभेटेको कुरा प्रहरीले मलाई बाटोमा बतायो । प्रहरीको यो बयान र न्यायाधीशको व्यवहारले मेरो मन आनन्दित भयो । अदालतमा पेशी भयो भने छुट्छु होला भन्ने मलाई पूरा विश्वास भयो ।

मलाई भेट्न विहान साँझ मेरा साथीहरू, आफन्तहरू आइरहेका छन । उनीहरू आए भने मलाई हतकडी लगाएर बाहिर लैजान्छ । हतकडी लगाएर बाहिर जानु पर्दा मलाई बाहिर जान मनै लाग्दैन तर के गर्ने ? भेट्न आएपछि जानै प¥यो ।

हनुमान ढोका प्रहरी खोरमा थुनुवाहरू आउन बढेजस्तै घर जानेहरू पनि बढ्न थाल्यो । एकैदिनमा ४०/५० जना थुनुवाहरूलाई अदालत र प्र.जि.अ. कार्यालय लैजान्छन । त्यसमध्ये कोही कोही मात्र फर्केर आउछन । मलाई सहयोग गर्दै आइरहेका बाजिगर आज प्र.जि.अ.कार्यालय गएको फर्केर आएन । मैले एकजना प्रहरीसँग सोधें, “बाजिगर छुट्यो कि ?”

“तीन हजार रुपैया धरोटी मागेको थियो । उसले तिर्न सकेन । जेल पठायो ।” प्रहरीले भन्यो ।

बाजिगरको ठाउँमा अर्को एकजना गुरुंङ थरको केटा आयो । उसको दाया हात भाँचेर ढलान गरीराखेको छ । प्रहरीको पिटाईबाट उसको हात भाँचेको हो कि जस्तो लाग्यो । मैले उसँग सोधेंं “यो हात कसरी भाँचेको ? के मुद्दामा आएको ?”

“मोटरसाइकल दुर्घटनामा यो हात भाँचेको थियो । त्यसैले घरमै बसिरहेको थिएँ । आजभन्दा बाईस दिन पहिले मेरो घर अगाडि निकैबेरसम्म प्रहरी भ्यान रोकीराख्यो । किन होला भनेर उत्सुकतावश म तल गएँ । भ्यान किन रोकीराख्नु भएको भनेर सोधें । तँलाई के मतलव भनेर प्रहरीले हप्कायो । मेरो घरको अगाडि भ्यान रोकिराख्नु भएको छ । त्यो सोध्ने अधिकार मलाई छैन ?” मैले भनें । त्यतिकैमा अरू दुई जना प्रहरीहरू खाली हात आइरहेको देखें । त्यतिकैमा मसँग कुरा गरिरहेको प्रहरीले “ए, तँ अधिकार खोज्ने होइन ? तँलाई नै समात्न आएको” भनेर समातेर ल्यायो । “ड्यूटीमा रहेका प्रहरी जवानहरूलाई अपशब्द प्रयोग गरेको ।” भनेर मलाई अभियोग लगाइयो ।

१२ कक्षामा पढिरहेका केटा, प्र.जि.अ.मा तारिख लिन जाँदा उसको एकजना केटी साथीले उसलाई देखेछ । उनले कलेजमा गएर के भन्ने होला अब म क्याम्पस नै जान्न भनेको थियो । प्रहरीको सानो भूलले एक जना केटाको जीवनमाथि खेलवाड गरेको अनुभव भयो ।

त्यसको दुई दिन पछि उसलाई प्र.जि.अ.कार्यालय लगेको थियो । उसले सफाई पाएर घर गयो भन्ने खवर आयो ।

असोज २० गते बुधवार

मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं । मेरो ‘पाँगा घरको ढोका खोल्नुभयो ?’ बाटोमा उनीहरूसँग सोधें ।

“खोलिसकें त्यहाँ त केटीहरूले भने बमोजिम त्यस्तो केही पनि प्रमाण फेला परेन ।”

 अदालत पुगेपछि थाहा पाएँ अब थुनछेकको बहस भोलि २१ गते नै हुनेभयो । अदालतमा नरहरि दाइ, रामकुमारी, नन्दकुमारी, सरब र मेरा भान्जाहरू आइरहेका थिए । अब भोलि अदालतमा थुनछेक बहस गर्न को वकिल राख्ने भन्ने सल्लाह भयो ।

“पंचलाल र सुरेन्द्र मानन्धर दुबैजना बहस गर्न तयार छ । दुई जनामा कसलाई बहस गर्न दिउँ ?” छोराले सोध्यो ।

“ठूलो बासँग सल्लाह गर्नु । सुरेन्द्र मानन्धरलाई नै बहस गर्न दिने किनभने ऊ आफ्नो पार्टीको मान्छे हो ।”
“भोलि धरौटीम छुट्न सक्छ, लालपूर्जा र नगद पनि लिएर आउँछु ।” दाइले भन्नुभयो ।

मलाई फेरि हनुमान ढोकामै फर्काएर ल्यायो ।

  “के भयो बा ? अब पेशी कहिले हुनेभयो ?” मेरो कोठामा सुत्ने एकजना केटाले सोध्यो ।

“भोलि थुनछेकको बहस हुन्छ । के हुन्छ हेरूं ।” मैले भनें ।

“भोलि तपाई धरौटीमा छुट्नु हुन्छ । यति छिटो बहस हुन लागेको भनेको नैे तपाईंलाई घर पठाउन गरेको हो ।” त्यही बुज्रुुक मान्छेले भन्यो ।

“धन्यवाद । तपाईंको आशिष लागोस । म घर जान पाउँ ।” मैले भनें ।
त्यसदिन मैले कोठामा बसेका दश जनालाई चिया खुवाएँ ।

“साला पटके, तँलाई प्रहरी खोर त साह्रै मन पर्छजस्तो छ नि । यो कति पटक हो ?” एक जना प्रहरी हवल्दारले झ्याप्प कपाल पालेको केटालाई भनिरहेको थियो । जुन केटालाई मैले आज विहानमात्र देखेको थिएँ ।
“यहा“ म रहरले आएको हुँ र ? तपाईंहरूले काम गरेर खान दिए त हो नि । हिजो रातीसाहुको घरमा ठेला पु¥याएर कोठा जान लागेको थिएँ । यति राती कहाँ गएर आएको भनेर मलाई यहाँ ल्याएर थुनिदियो । अझ मलाई नै पटके भन्नुहुन्छ ।” त्यो केटाले नडराइकन भन्यो ।

“ए साला, तँ मसँग मुखामुख गर्ने ? ल चर्पि सफा गर्ने आज तेरो पालो, ल जाऊ भनेर लट्ठी उठाउदै भन्यो

त्यो केटा तल गयो ।

No comments:

Post a Comment