Wednesday, November 13, 2013

‘पहिचान सहितको संघीयताकालागि प्रचण्डको विकल्प छैन’

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

स्थानीय समस्यालाई लिएर कीर्तिपुरका बुद्धिजीवीहरुको तर्फवाट ९ बुँदा माग
‘पहिचान सहितको संघीयताकालागि प्रचण्डको विकल्प छैन’

कीर्तिपुर सन्देश

कार्तिक १७ गते काठमाण्डौं निर्वाचन क्षेत्र नं. १० मा एकीकृत माओवादीका प्रत्यक्ष उम्मेदवार प्रचण्डको घरदैलो कार्यक्रम पछि बाघभैरवस्थानमा एक सभाको आयोजना गरिएको थियो । सभामा बाम बुद्धिजिवी खग्र्रेन्द्र सँग्रौलाले ‘यस क्षेत्रमा प्रचण्डले हार्दै छ भन्ने हल्ला सुनेर हेर्न आएको, अहिले प्रचण्डको समर्थनमा घरदैलो कार्यक्रममा सहभागि जनसागर देखेर प्रचण्ड नहार्ने’ बताउनु भयो ।

आफ्नो मन्तव्यको क्रममा प्रचण्डले विगतको संविधानसभामा  माओवादीको दुईतिहाई बहुमत नआएको, कांग्रेस र एमालेले धोका दिएकोले पहिचानसहितको संविधान नआएको, आगामी निर्वाचनमा एमाओवादीले दुईतिहाई बहुमत ल्याउने र उपत्यकामा नेवाः स्वायत्त  राज्य बनाउने, जबसम्म नेवाः स्वायत्त राज्य बन्दैन माओवादीको संघर्ष नरोक्ने र कीर्तिपुरवासीले नेवाः स्वायत्त राज्य बनाउन एमाओवादीलाई पूर्ण समर्थन गर्ने विश्वास भएको बताउनु भयो । सभामा १० का बुद्धिजीवीहरुको तर्फवाट प्रा.डा. शिवशरण महर्जनले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा भनिएको छ ‘गएको संविधान सभामा भारी मतले तपाईलाई जिताएपछि पनि विशेषतः कीर्तिपुर डांडाका जनताहरुले राहतको महशुस गर्न पाएनन् । संविधान त बनेन बनेन तर विकास निर्माणका कार्यहरुमा पनि सन्तुष्ट हुने ठाउँ पाएनन् । यसले गर्दा यहाँका जनताहरु तपाई जितेर जाँदा तपाईले दिनु भएका आश्वासन सम्झेर बसेका छन् र तपाईका विपक्षिहरुलाई त्यही मसला बनेको छ । त्यत्रो ठुलो नेतालाई भारी मतले जिताएर पठाउँदा तपाईसम्म जनताहरुको पहुंच नपुगेको र ठोस विकास निर्माणका कामहरु नभएको गुनासो यहाँका जनताहरुले गरेका छन् । उत्पिडित जनताहरुले चाहे अनुसारको अग्रगामी पहिचान सहितको संविधान बनाउन र देशलाई निकासा दिलाउँन तपाईको विकल्प कोही पनि देखिंदैन तर पनि तपाईलाई मत दिएको नाताले जनताका आफ्ना समस्याहरुको समाधान र विकास निर्माणका कुराहरुको पनि आशा गर्नु  स्वभाविकै हुन्छ । तपाईको मतदाताहरुको नाताले अग्रगामी संविधान निर्माणको साथै विकास निर्माण बारे कुरा उठाउनु यहाँका जनताहरुको अधिकार पनि हुन आउँछ । यस्ले गर्दा तपाईको पहिलेको प्रतिवद्धता सहित यहाँका जनताहरुको जल्दा वल्दा समस्याहरुसंग प्रत्यक्ष सरोकार राख्ने विविध मागहरु सहित यो ज्ञापनपत्र पेश गर्न चाहन्छौं । हामीलाई आशा एवं विश्वास छ, त्यसलाई तपाई र तपाईको पार्टीले क्रमवद्ध रुपमा आउने दिनहरुमा सम्बोधन गर्नुहुनेछ । र जनताहरुले निर्धक्क रुपमा भारी वहुमतले तपाईलाई पुन संविधान सभामा जिताउने विश्वस्त गराउन चाहन्छौं । कीर्तिपुर लगायत काठमाण्डौं दक्षिण भेगलाई समग्र रुपमा शैक्षिक, मेडिकल र सांस्कृतिक पर्यटकीय नगरको रुपमा विकास गर्न पहलकदमी लिन अनुरोध गर्दछौं । 

१. अघिल्लो संविधान सभाको निर्वाचनमा प्रतिवद्धता गर्नु भएको कीर्तिपुरमा एक अत्याधुनिक अस्पताल निर्माण गर्ने भनिएको योजना सोही वमोजिम त्रि.बि. शिक्षण अस्पतालको रुपमा योजना अगाडी वढीरहेकोमा यसलाई सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था गर्ने ।, 

२.  सात गाउँले साँस्कृतिक र आर्थिक विकास महत्वको सडक (सतुंगल, विष्णुदेवी, कीर्तिपुर र चोभार जोडिने लिंक रोड) निर्माण तथा विस्तार गर्ने ।, 

३. खानेपानी तथा ढल निकासको व्यवस्था गर्ने । जस अन्तर्गत थानकोट देखि चाल्नाखेल सम्मको प्राकृतिक पानीका मूलहरुको संरक्षण, संकलन र वितरण गर्ने । र मौजुदा कीर्तिपुर डांडाका ढल निकासको सुदृढिकरण र घना वस्तीको आधारमा सम्पूर्ण १० नं क्षेत्रमा ढल निकासको विस्तार गर्ने, 

४. सरकारी स्तरको एक प्राविधिक शिक्षालयको स्थापना गर्ने र महिला तथा युवाहरुलाई स्वरोजगार र रोजगारमुलक तालिमहरुको व्यवस्था गर्ने, 

५. सीता पेटेल पम्प, त्रिभुवन विश्वविद्यालय कीर्ति मण्डप विहार, भाजंगल, समःचा हुँदै इचाखेल, थापा गाउँ र सिमझवा हिटी सम्मको सडक जोड्ने तथा विस्तार गर्ने, 

६. चम्पादेवी फेदी सडक (चाल्नाखेल देखि मच्छेगाउँ, मातातिर्थ, हुंदै थानकोटसम्म ) जोड्ने र सुधार गर्ने । 

७. कीर्तिपुर गढ पर्खाल भित्रका वासिन्दाहरुको घरवास गरी भोगचलन गरी आएका तर लालपुर्जा नभएका जग्गाहरुको लालपूर्जा प्राप्त गराउने, 

८. कृषि उत्पादन, वृद्धि तथा प्रवद्र्धनको लागि ठोस कार्यक्रमको व्यवस्था गर्ने, 

९. साँस्कृतिक पर्यावरणीय पर्यटन छेत्रको विकास गर्ने । जस अन्तरगत निम्न कार्यहरु पर्दछन्, पर्यटन सुचना केन्द्रको स्थापना र कीर्तिपुरलाई पर्यटकीय गन्तब्य स्थान (Tourist destination) को रुपमा कायम गराउने ।, चम्पादेवी स्थित जनजाती जीवन्त संग्राहालयको निर्माण र व्यवस्थापनमा तिव्रता ल्याउने ।, सार्वजनिक पोखरीहरुको संरक्षण र सुदृढिकरण गर्ने, ग. मन्दिर तथा गुम्बा र पाटी पौवाहरुको संरक्षण र सुदृढिकरण गर्ने, साँस्कृतिक वाजागाजाहरुको संरक्षण, विस्तार र व्यवस्थापन गर्ने , चाल्नाखेल देखि थानकोटसम्म पर्यटकीय पदयात्रा मार्ग निर्माण गर्ने ’

1 comment:

  1. Not mentioned about " return back the occupied land by TU and Bagbani which was taken by Tribhuban University and Bagbani"... why?Why? I think they were afraid to raise it issues. If they were true resident of Kirtipur they should correct their Appeal and re approach. Hope they will correct it.

    ReplyDelete