Saturday, March 23, 2013

सुलक्षण कीर्ति विहारको सर्जमिन रोकियो

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013
 
सुलक्षण कीर्ति विहारको सर्जमिन रोकियो

कीर्तिपुर नगरपालिका वडा नं.१७ सुन्दरीघाटस्थित सुलक्षण कीर्तिपुरले हस्पीस तथा वृद्धाश्रम बनाउनका लागि नक्सा पास गर्न कीर्तिपुर नगरपालिकामा प्रक्रिया सुरु गरेपछि सो विहारले भोगाधिकार पाएको जग्गाको बारेमा विवाद बढेको छ साथै कीर्तिपुरवासीका लागि चर्चाको विषय बन्यो । सो विषयमा कीर्तिपुर सन्देश साप्ताहिकमा सूचनादेखि नक्सा पास गर्न लागेको र सरोकारवालाहरूले विरोध गरेको समेत समाचार प्रकाशित भएपछि झन सबैले चासो लिन थालेका हुन ।

सो क्रममा सूचना प्रकाशितदेखि भएका पछिल्लो घटनाक्रमलाई तपाईको जानकारीका लागि यो टिप्पणी तपाईको लागिः

कीर्तिपुर नगरपालिका वडा नं.१७ ले माघ १८ गते १५ दिने सार्वजनिक सुचना जारि गरेपछि सो विहारलाई जग्गा दिन नहुने भनी विभिन्न संघ संस्था समेत गरी १७ वटा विरोध पत्र बुझाएका थिए । तैपनि १७ नं. वडाले फागुण ४ गते सम्बन्धित ठाउँमा सर्जमिन गर्ने थाहा पाएपछि विरोधी पक्षहरू विरोधको लागि तयार भएपछि नगरपालिकाले सर्जमिन स्थगन गरेको थाहा भएको छ ।

स्मरणीय छ, उक्त जग्गामा हस्पिस, वृद्धाश्रम बनाउन ३० वर्षको लागि भोगाधिकार पाउन २०६४/५/२७ गते निवेदन दिंदा कुनै सर्जमिन पनि नगरी र राजनीतिक सर्वदलिय समितिलाई जानकारी नै नदिइ गोेप्य रुपमा तत्कालिन कार्यकारी अधिकृत रामलाल श्रेष्ठको टेलिफोन आदेशमा तत्कालिन १७ नं. वडा सचिव राजकपुर श्रेष्ठले सिफारिस दिएको थियो । सो कुरा जानकारीमा आएपछि सर्वदलिय समितिको वैठक बसी एक प्रेस विज्ञप्ती निकालिएको थियो ।

तत्पश्चात वडा सचिव राजकपुर श्रेष्ठलाई बलिको बोको बनाएर वडा सचिवबाट सरुवा गरिएको थियो ।

सो सिफारिस बदर गर्न नगरपालिकाका कार्यकारी अधिकृत र सर्वदलिय समिति तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्री छवीलाल विश्वकर्माकहाँ डेलिगेशन गएका थिए । त्यतिबेला मन्त्रीले त्यो फाईल मन्त्रीपरिषद वैठकमा नलैजाने जानकारी दिनु भएको थियो ।उक्त सिफारिस प्रकृयाको विरोधमा सुन्दरीघाट चिहान     संरक्षण समाजले १७ नं. वडा कार्यालयमा तालावन्दी गरेको थियो । सो समयमा सुन्दरीघाट चिहान संरक्षण समाज र नगरपालिकाको संयुक्त वैठकले सो भोगाधिकारको लागि दिएको निवेदन फिर्ता लिने सहमति भएको थियो ।

तर २०६४ पौष महिनामा नेपाल सरकारको तर्फबाट सुलक्षण कीर्तिविहारलाई ३० वर्षको लागि भोगाधिकार प्रदान गरियो । कीर्तिपुरवासी र सुलक्षण कीर्तिविहार विच विभिन्न विषयमा पटक पटक विवाद हुन थालेपछि २०६५ माघ २० गते कीर्तिपुर नगरपालिका, सुलक्षण कीर्तिविहार र सुन्दरीघाट चिहान संरक्षण समाज विच संयुक्त वैठक बसी निर्णय नं.३ मा सुलक्षण कीर्ति विहारले कुनै पनि तरिकाबाट स्वामित्व र थप भोगाधिकार प्राप्त भएता पनि सो जग्गामा कुनै पनि भौतिक संरचना, उल्लेखित सम्पूर्ण पक्षहरूको स्वीकृति पश्चात मात्र गर्ने भनी निर्णय गरिएको थियो । उक्त निर्णयमा सही गर्नेहरुमा तत्कालिन कार्यकारी अधिकृत विनोद कुमार पोखरेल, लेखा अधिकृत सानुवावु परियार, ई. बालकृष्ण महर्जन, चिहान संरक्षण समाजको तर्फबाट अध्यक्ष राजकुमार माली, सचिव रमेश कुमार महर्जन, विहारको प्रतिनिधि तर्फबाट हरिमान रंजित, उत्तम मानन्धर र आमन्त्रितको तर्फबाट पंचलाल महर्जन र विरेन्द्र शाक्यले हस्ताक्षर गरिएको थियो ।

त्यसपछि २०६५ फागुण ४ गते कि.न.पा.का कार्यकारी अधिकृत विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको सर्वदलिय समितिको वैठकले उक्त स्थानमा हरित पार्क  निर्माण गर्न नगरपालिका र निर्माण व्यवसायी विच सम्झौता भैसकेकोमा नगरपालिकाको तर्फबाट स्वीकृत निर्माण व्यवसायीलाई कार्यादेश दिने निर्णय गरिएको थियो ।

उक्त निर्णयमा हस्ताक्षर गर्नेहरूमा कार्यकारी अधिकृत विनोद कुमार पोखरेल, सर्वदलिय संयोजक बद्रीलाल महर्जन–नेपाली कांग्रेस, नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धर, नजरराम महर्जन र गोकुल थापा, एनेकपा माओवादीको तर्फबाट शम्भुराम महर्जन, पंचलाल महर्जन र सिद्धिकुमार महर्जन, नेमकिपाको तर्फबाट प्रसान्त महर्जन र हरिकुमार महर्जनले हस्ताक्षर गरेका थिए ।

यसरी पटक पटक उक्त जग्गालाई सार्वजनिक रुपमा घोषणा गरिए पनि न नगरपालिकाले केही गर्न सकियो न त विहारले नै केही गर्ने हिम्मत गर्न सक्यो । तर अहिले आएर भोगाधिकारको लागि सिफारिस गराउने रामलाल श्रेष्ठकै कार्यकालमा विहारले हस्पिस र बृद्धाश्रम बनाउन नक्सा पास  गराउन आउनुमा ठूलो रहस्य लुकेको आशंका गर्न थालेका छन ।

फागुण ३ गते नेवाः स्वायत्त राज्य मंकाः परिषदको सचिवालय वैठक बसी  सुलक्षण कीर्ति विहारले बनाउन लागेको हस्पिस र बृद्धाश्रम कीर्तिपुर नगरपालिकाको स्वामित्व र व्यवस्थापनमा हुने भए समर्थन गर्न सकिने नत्र कुनै पनि हालतमा समर्थन गर्न नसकिने निर्णय गरेर सो कुराको जानकारी वडा सचिव र कार्यकारी अधिकृतलाई दिइएको थियो । उता सुन्दरीघाट चिहान संरक्षण समाज, कीर्तिपुर नगरपालिका जनदवाव समाज लगायतले पनि विरोध गरिरहेको हुँदा अप्रिय घटना घट्न सक्ने भयले उक्त दिन सरजमिन हुन सकेन । अब कहिले हुने हो जानकारी प्राप्त भएको छैन ।

No comments:

Post a Comment