Thursday, January 10, 2013

‘पहिचानलाई त्यागे पार्टी समाप्त’

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013


कीर्तिपुरका एमाओवादी नेता दिलिप महर्जनद्वारा संघीयताको सवामा पार्टीलाइ चेतावनी

‘पहिचानलाई त्यागे पार्टी समाप्त’


“पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, नेवाः राज्य प्राप्तिको लागि नेवाः मोर्चाको अभियान” भन्ने नारा सहित एकिकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल, काठमाडौं जिल्ला, निर्वाचन क्षेत्र नं.१० को चौथो अधिवेशन पाँगा लाछीमा पुस २० गते सम्पन्न भयो ।

एकीकृत नेवाः मुक्ति मोर्चा १० नं. निर्वाचन क्ष्इात्रका संयोजक बैकुण्ठ महर्जनको सभापतित्वमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक एवं पूर्व राज्यमन्त्री दिलिप महर्जनले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । दिलवहादुर महर्जनले संचालन गर्नु भएको उक्त उद्घाटन कार्यक्रममा राजेन्द्र महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो भने स्वागत गान इसास कीर्तिपुरका कलाकारहरू वीर प्रसाद भन्सारी, गुजे मालाकार, मीना महर्जन र प्रभा महर्जनले गाउनु भएको थियो ।

प्रमुख अतिथिको आशनबाट बोल्नुहुँदै दिलिप महर्जनले नेपाली जनताको मुक्तिकामी आन्दोलनमा नेवारहरूले खेलेको भूमिकाको चर्चा गर्नुहुँदै उत्पिडनमा परेका नेपाली जनताको मुक्तिको लागि कम्युनिष्ट पार्टीको गठन नेवारहरूले नै गरेको उल्लेख गर्दै २०४६ सालको जन आन्दोलनको कमाण्डर पनि गणेशमान सिंह नेवारले नै गरेको तर राणाकालीन, शाहकालीन हरेक समयमा नेवारहरूलाई उत्पिडनमा पारिएको वताउनु भयो  । नेपालभाषामा साहित्य रचना गर्दा, नेपालभाषामा धर्म देसना दिंदा भिक्षुहरूलाई देश निकाला गरेको, जेल नेल हालेको कुरा वताउदै प्रजातन्त्रमा पनि नेवारहरूले उत्पिडनमा नै रहनु पारेको उहाँले बताउनु भयो । उत्पिडनमा पारिएका आदिवासी जनजातिहरूलाई मुक्ति दिलाउन नै एकिकृत माओवादी गठन दावी गर्दै प्रमुख अतिथि महर्जनले पहिचान सहितको संघियता नचाहनेहरूले गर्दा नै संविधान नबनेको बताउनु भयो । यदि एकिकृत माओवादीले पहिचान सहितको संघीयता त्यागेमा एकीकृत माओवादी पार्टी समाप्त हुने समेत उहाँले चेतावनी दिनुभयो । शुभकामना मन्तव्य दिनेक्रममा एकिकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौं जिल्ला संयोजक पंचलाल महर्जनले जातीय मुक्तिको लागि जातीय राज्य चाहिने कुरा बताउनु भयो । नेवाः भूमिमा नेवाः राज्य प्राप्तिको लागि नेवाः राष्ट्रिय मुक्ति मोर्चाले संघर्ष गर्दै आइरहेको भएपनि नयाँ नेपालको संविधान बनाउने बेला पहिचान सहितको संघियता विरोधी पार्टी कांग्रेस, एमाले लगायतका कारण संविधान नबनेको ठोकुवा गर्नु भयो । सभापतिको आशनबाट बैकुण्ठ महर्जनले पहिचान सहितको संघीयता विना जातीय मुक्ति नहुने र जातीय मुक्ति नभइकन वर्गिय मुक्ति नहुने बताउनु भयो । नेपालमा एक भाषा, एक धर्म, एक भेषको नीति अंगालेर एकात्मक शासन लादीरहेको बताउदै नेवारहरूको शासनको बेला काठमाडौंका शासकहरूले जति विकास गरेका थिए अहिलेसम्म त्यति विकास हुन नसकेको दावी गर्नुभयो । नेवाः राज्यको विकासको लागि नेवारहरूले नै शासन गर्न पाउनु पर्ने र त्यसको लागि एकिकृत नेवाः मुक्ति मोर्चाले संघर्ष गरिरहेको समेत उहाँले बताउनु भयो । स्वायत्त नेवाः राज्य प्राप्तिको लागि जस्तोसुकै बलिदान दिन पनि तयार रहेको वताउदै नेवारहरूको मुक्तिको लागि नेवारहरूले नै शासन गर्न पाउनु पर्ने र त्यसको लागि हामी सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो  । महर्जनले भन्नु भयो ‘यो पार्टी त्यो पार्टी भनेर विभाजित भएर होइन, कुन पार्टीले हामीलाई मुक्ति दिलाउन सक्छ त्यही पार्टीलाई सहयोग गर्न अनुरोध छ ।’

उद्घाटन समारोह पछि भएको बन्द शत्रले बैकुण्ठ महर्जनको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस्मा उपध्यक्ष ३ जना, सचिव १ जना, सह सचिव ३ जना गरि जम्मा १९ सदस्यीय सचिवालय समेत गठन गरिएको नेवाः मोर्चाले जनाएको छ ।

No comments:

Post a Comment