Friday, December 21, 2012

आज स्व. गिरिजाको अभाव खट्किएको छ

आज स्व. गिरिजाको अभाव खट्किएको छ

 राज श्रेष्ठ

आज देश अनिर्णयको बन्दी बनीरहेको छ । देश र जनताको कसैलाई फिक्रि छैन । ठूला भनाउँदा राजनीतिक दलहरू सहमतिको मन्त्र जप्दै दिन, हप्ता, महिना बिताइरहेका छन् । अझ वर्ष पनि बिताउँछ जस्तो छ । राजनैतिक दलहरू अनिर्णयको बन्दि बनिरहेका छन ।

दुई वर्षमा संविधान बनाउन भनेर संविधान सभाको चुनाव गराइयो । नयाँ संविधान नबन्दै गिरिजा प्रसाद कोइरालको निधन भयो । नेपाली राजनीतिमा युगान्तकारी योगदान पु¥याउनु हुने हिम्मतीला नेता गिरिजाप्रसाद कोइरालाको अभाव आज खट्कीरहेको छ ।

स्व. गिरिजाप्रसाद कोइरालाको युगान्तकारी योगदान भनेको माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउनु हो । राजतन्त्रलाई सदाकोलागि विदा दिइसकिएपछि गणतन्त्रको युगमा देशलाई प्रवेश गराउनु पनि उहाँको अर्को योगदान रह्यो । नयाँ संविधानको निर्माण भइनसकेको स्थितिमा, शान्ति प्रक्रियामा गतिरोध भइरहेको अवस्थामा उहाँको अभिभावकत्वको जरुरतको महत्व सबैले महशुस गरी     रहेकै बेला उहाँले संसारबाट विदा लिनुभयो ।

चार वर्षसम्म पनि नयाँ संविधान बनाउन नसकी संविधान सभा विघटन भइसक्यो । काम चलाउ सरकारले देश चलाइरहेको सात महिना भइसक्यो । सहमतिको नाममा असहमति बढाउँदै छ । नयाँ संविधान जारी गर्ने र नयाँ नेपाल बनाउने निश्कर्षमा पु¥याउने जिम्मेवारीको नेतृत्व अब कसले निर्वाह गर्ला त ? एउटा शुन्यता छाएको छ, देशको राजनीतिमा । नेपाली काँग्रेस भित्र कुनै नेताले उहाँको स्थान लिन सक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । असक्षम र अवसरवादी नेताहरूको भीडमा उहाँ जस्ता दृढ निश्चयी नेताको खडेरी नै छ, नेपाली काँग्रेसमा । कोइरालाको अवसानपछि इतिहासले नेपाली कांग्रेसका सभापति सुशिल कोइराला, माओवादी नेता प्रचण्ड र एमाले नेता झलनाथ खनाललाई नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रिय व्यक्तित्वको भुमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ ।

उहाँको जीवनकालमा, उहाँको विरोध गर्दै नथाक्नेहरू समेत उहाँको निधनले देशको राजनीतिमा गहिरो रिक्तता ल्याएको अनुभव गर्दैछन् । उहाँको कसैसँग नझुक्ने दृढ निश्चयसँग उहाँको विरोधीहरूले पनि प्रशंसा गर्न थालेका छन् ।

टारेर टार्न नसकिने मृत्युको आभास उहाँलाई भइसकेको थियो । आफ्ना भतिजा शेखर कोइरालाको महाराजगञ्जस्थित घरलाई वर्षौं आफ्नो निवास बनाए पनि अन्तिम अवस्थामा आफ्नी छोरीकै घरमा जीवन विसर्जन गर्ने उहाँको इच्छा रहेछ । स्वास्थ्य स्थिति बिग्रदैं जाँदा विदेशमा उपचार गर्न जान मान्नु भएन, न त देशकै अस्पतालमा नै धेरै समय रहन चाहनु भयो । अन्तिमसम्म जर्जर भैसकेको भौतिक शरीरले साथ दिन छाडिसक्दा पनि आफ्नै इच्छामा बाँच्नुभयो उहाँ ।

२०६२/६३ को आन्दोलनपछि संसद पुनरस्थापना हुन्छ भन्ने कसैले सोचेका थिएनन् । सशस्त्र विद्रोहमा लागेका माओवादीलाई पनि साथै लिएर राजाको निरकुंश शासन विरुद्ध आन्दोलन कल्पना बाहिरका कुरा थिए, त्यतिबेला । कोइरालाको दृढ इच्छा शक्ति र  राजनीतिक सुझबुझ कै कारण यी सब सम्भव भए । राजासँग टक्कर लिन सक्ने र अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिन सक्ने व्यक्तित्वकै खाँचो थियो, त्यसबेला त्यो आन्दोलनलाई ।

प्रधानमन्त्रीको रूपमा लामो समयसम्म देशको कार्यकारी रहनु भएपनि देशलाई आर्थिक रूपमा एक सबल राष्ट्रको रूपमा उभ्याउन उहाँले जस्लाई अर्थतन्त्रको नेतृत्व सुम्पिनु भयो, उनीहरूको अक्षमताले गर्दा देश आर्थिक रूपमा सम्पन्न हुन सकेन । र, नेपाली काँग्रेसको असफल आर्थिक नीतिको कारण जनताले चरम गरीवी र अभाव बेहोर्नुप¥यो । उहाँको नेतृत्वमा राजनीतिक क्रान्ति सफल भएपनि देश र जनताले आर्थिक सम्पन्नताको अनुभुति भने गर्न सकेन । उहाँको दृढ इच्छा शक्ति र निर्णय लिन सक्ने क्षमता र त्यसले देशको राजनीतिमा पारेको प्रभावलाई युगौंसम्म जनताले सम्झिरहने छन् ।

अन्तरिम संविधानमै संघिय नेपालको उल्लेख गरि संविधानसभाबाट अनुमोदन समेत गरिसकेको कुरामा आज कस्तो संघिय नेपाल बनाउने भन्ने कुरोमै नेताहरू बाझाबाझ गरिरहेका छन । चारवर्षमा अस्सी प्रतिशत संविधान बनीसक्यो भन्नेहरू संविधान सभा विघटनको साथै कुरा फेर्न थालेका छन । विगतको संविधानसभाले गरेका निर्णयहरू अब मान्न नसकिने भन्न थालेका छन । नयाँ संविधान सभाले जे निर्णय गर्छ त्यही मान्नु पर्ने अडान एक थरिले लिइरहेका छन । अर्को थरी अर्कै अडानमा छन । यसरी देश अनिर्णयको बन्दि बनिरहेको बेला स्व.गिरिजा प्रसाद कोइरालाको साहसिक कदमलाई नेपाली जनताले सम्झिरहेका छन । अर्को गिरिजा प्रसादको प्रतिक्षामा छन । कसले लिने होला गिरिजा प्रसाद कोइरालाको स्थान ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete