Saturday, January 28, 2023

क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक

 क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक




विजय राज आचार्य

काठमाडौं ः  साहित्यकार क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक भएको छ । शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे ।

जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन् । “दर्जनौ लडाईमा हामी सँगै लड्यौं । पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ,” केसीले भनिन्, “दुखी गरिबको पक्षमा कलम चलाइरहनुहोला ।” नेपाली वर्ग संघर्षमा आफूहरु गुमनाम रहेको उल्लेख गर्दै केसी यस्ता पात्रको पक्षमासमेत कलम चलाउन आग्रह गरिन् । “नेपाली वर्ग संघर्षमा हामी गुमनाम छौ । हामीलाई पनि समेट्नु होला” उनले भनिन् । साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको शुरुवाती चरणको वृत्तान्त सुनाए । विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, “लोककथा सुनाउँदा एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो । त्यो पहाडलाई गमागमेरी भन्न थालियो । पछि जलजला भन्न थालियो । पहाडको काखमा एकातिर थवाङ थियो अर्कोतिर जलजला थियो । ती पहाडमा मगरहरु बस्थे । त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो । त्यसले भन्न थाल्यो । त्यसले दुःखको कुरा  ग¥यो । आँधीको कुरा ग¥यो । त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो । ती मास्टरसँग के भन्यो भने म मरे भने मेरो लाश पहाडको फेदमा  गाड्दिनु । त्यो देशमा संयोगले आँधी सिर्जना भयो । त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली फेर्नुपर्छ यो ठाउँ यो समाजको काँचुली फेर्नुपर्छ । फ्युडल क्यापिटलिजम यस्ता यस्ता कुरा फेर्ने हो । आँधी  चलेछ । आँधी चलिसकेपछि त्यहाँका रुख पात अंगप्रत्यंग हल्लिए । हल्लिँदै जाँदा जेलबाङको सानोसानो बयो जसको भर्खरै जुँगाका रेखीहरु बस्न थालेका थिए । स्कुलको झोलाहरु फालेर हिँडे । किनकि उसका पनि साना सपनाहरु  थिए । हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो उ । धेरै लडे आँधीमा । उ सदस्य हुँदै कमान्डर हुँदै गए । सहयोद्धाहरु गुमाए । खुसी गुमाएका पीडाहरु अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बयो कवि पनि भएछ । गीतकार पनि भएछ । बयो पछि १२ बुँदेमा ब्रेक  लागेछ । त्यही बयो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ”।


भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए । कथाहरु मगर संस्कृतिले सजिएकोसमेत उनको भनाई थियो । “यहाँ जेलबाङको भाषा छ । सिंगै जेलबाङ बोकेको छ । सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,” उनले भने, “क्षितिज मगरका कथा मान्छेका कथा हुन ।”

साहित्यकार भावेश भुमरी आफै लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा कतिपय भावुक बनेका थिए । “क्षितिज बुवाबाट पढ्न सिक्थे । बुवाले ३६ लेखेको क्षितिजले ६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे । 

राजनीतिक खिचातानीले कक्षा १० को पढाई बिग्रियो । ५२ सालमा एसएलसी दिनुभएको । दिउँसो इक्ज्याम दिन जान्थे । राती नेताहरुलाई भेट्थे । नेताहरु त्यतिखेर भन्थे—बुर्जुवा शिक्षा नपढ । नेताहरुलाई भेटेको देखेर सेनाको निगरानीमा परे । एसएलसी राम्रो भएन, त्यसपछि एसएलसी दिन बसेको डेरा छाडेर कुम्लो कुटेरो बोकेर गाउँ लागे । गाउँमा छिमेकीको घरमा भाडाकुडा थन्क्याएर जनयुद्धमा लागे । गीत लेख्ने । गीत गाउने पनि । कलाकारितालाई देखेर क्षितिजलाई जनसेना बन्न माथिल्लो नेताहरुले प्रेरित  गरे । गण्डक अभियानमा लागे उनी । यसमा कसरी हमला गरे भन्ने विषयहरु उल्लेख छ ।”

त्यसपछि भावेसले युद्धताका क्षितिजको भूमिकाको प्रसंग उप्काए । अनि १२ बुँदे सम्झौता र सेना समायोजनको कुरा । “आर्मीका क्याम्पमा कसरी आक्रमण गर्ने योजना बनाउन अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनको नेतृत्वमा खट्थे। उनी सेनाको ब्यारेक छेउछाउ पुगेर फोटो खिचेर  लान्थे । त्यही फोटोको आधारमा माओवादी भिड्न निस्कन्थे । घमासान युद्ध हुन्थ्यो । ६२÷६३ पछि उघा क्याम्पमा हामी बस्न गयौ । २०० साहित्यकार पुग्न पाएका थियौ । त्यहाँ कविता भन्नुभएको थियो । उघाबाट हामी स्वर्गद्वारी गयौ । उहाँ ४ जना बडी गार्ड बोकेर आउनुभएको थियो । शान्ति प्रक्रियामा शैक्षिक योग्यताको कुरा आयो । समायोजनमा शैक्षिक योग्यता अनुसारको कुरा आयो । अन्डर एसएलसी भएपछि उहाँले स्वेच्छिक अवकाश रोज्नुभयो” उनले भने । लेखक यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसंग भावेसले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए । “पछि जीवन एकदम परिवर्तन भयो । श्रीमती छोराछोरी पाल्नैप¥यो । मलाई फोन गरेर भन्नुभयो मेरो बुवा भीरबाट लडेर बित्नुभयो । म पनि रोएँ । त्यसपछि ज्यामी काम गर्नुभयो । बडीगार्ड बोकेर हिडेको ब्यक्ति रसातलमा पुग्नुभयो । तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ” भावेसले भने । त्यसपछिमात्र भावेसले किताबमा भएका कथाहरुबारे आफ्नो भनाई  राखे । “जनयुद्ध अघिका कथाहरु माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्रका प्रेमका कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश  त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि माओवादी मा लागेको कथाहरु छन् । ओहो म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ” भावेसले आफ्नो भनाईको अन्त्यमा भने ।

यस कथासंग्रहका भाषा सम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरु सशक्त रहेको  बताए । “कथाहरुमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा  हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन  क्यारेक्टर बलियो बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो”, प्रधानले भने, “कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रुपमा त यो भेडी कम्बलको प्वाल सशक्त लाग्छ । जनसेनाबाट सर्वसाधारणका रुपमा रुपान्तरण हुनुभएको छ । अहिले राजनीति सत्ता केन्द्रित रहेछ । परिवर्तन त तपशिलका कुरा रहेछन् । यो नांगो सत्यका रुपमा आइपुगेको छ । जसले बन्दुक बोकेको थियो । आज त्यो व्यक्ति कलम रुपी अस्त्र बोकेर अर्काे मोर्चामा आउनुभएको छ । उहाँले मोर्चामात्र परिवर्तन गर्नुभएको हो । अब उहाँले परिवर्तनका लागि कलम चलाउनुहुन्छ ।”

जनयुद्धमा वैचारिक स्खलनका  कुराहरु भए पनि कथामा  प्रहरीका मनोविज्ञानका कथाहरु पनि आएकोमा आफूलाई खुसी लागेको उनको भनाई थियो । “सामाजिक कुरा छन् । 

राजनीतिक कुरा छन वैचारिक स्खलनका विषयहरु पनि छ । यसमा जनयुद्धका आफ्ना कथाहरुमात्र छैनन् । प्रहरीका कथा पनि छन् । प्रहरीका मनोविज्ञानका कथाहरु पनि  छन् । प्रहरीले जनयुद्धमा कसरी मा¥यो । अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ”, प्रधानले भने ।

लेखक क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाई थियो । “युद्धलाई दुई तरिकाले  विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्काे अति  नकारात्मक” लेखक मगरले भने, “सत्ता बन्दुक हो । बिना बन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त ।”

गणतन्त्रस्थापनापछि एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएका जनसेना एकदिन बेरोजगार भएर डकैती गरी खाने ठोकुवा  गरेकोमा चित्त नबुझेको रहेछ उनलाई । यही किताब लगेर जवाफ दिने तयारी रहेकोसमेत उनले सुनाए । “एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएकाहरु कति अब गुन्डा र डाँका गरी खान्छन् भन्थे । तर म लेखक भएको छु । उहाँलाई यही किताबबाट जवाफ दिन चाहन्छु” लेखक मगरले भने ।

आफू बन्दुक बिसाएपछि अहिले कलमसँगै गैतीबेल्चा समेत चलाउने गरेको उनको भनाई थियो । “युद्ध त समाप्त भयो । तर यसका अवशेष बाँकी  रहन्छन् । यो अझै रहनेछ । समाजशास्त्रीहरुले भनेको कुरा हो यो । यो चै शिलालेख होस् भनेर लेखेको हुँ, वैचारिक स्खलनका कुरा आयो । यो पनि राखेको  छु । म मजदुरी गर्ने मान्छे हुँ । अहिले गैतीबेल्चा पनि  चलाउँछु । कलम पनि  चलाउँछु ।”

प्रमुख अतिथिसमेत रहेका प्राध्यपक केशव सुवेदीले कथाहरु कवितात्मक भएको बताए “किताबमा कथाभन्दा धेरै कविता छ । कवितात्मक छ । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन, रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।”

जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाईमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर कही नपुगिने तर्कसमेत उनले प्रस्तुत गरे, “विद्रुपीकरण छैन । धेरै उपलब्धि पनि भएका छन् । समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन, चेकको मात्र मुल्य हैन । हरेक दिन  राजनीतिलाई सरापेर कहाँ  पुगिन्छ ? सरापेर कही पुगिँदैन । बन्दुकको चर्चा पनि शक्तिको सञ्चय हो ।”

  लेखन आफै पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो, “मान्छे आफै शक्ति सञ्चय गर्न चाहन्छ । शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ । तपाईको कलम हिजोको कलम बनेर सशक्त बनोस” उनले भने युद्धकालमा आफू रोल्पामै भएको भए कि त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाई थियो । “रोल्पामा बसेको भए म कि चिहानको मुन्तिर  हुन्थे । कि त म दौरासुरुवाल लगाएर शपथग्रहण को कुनै कार्यक्रममा हुन्थ्यो । किनकि त्यही ठाउँमा जहाँ युद्धको शुरु भएको थियो” सुवेदीले भने ।

प्रकाशन सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो साहित्य बजारमा आएको बताए । “कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन शुरु गरेका थियौ ।” आचार्यले भने रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका  थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरु (कविता संग्रह), सुनछहरीको ऐनामा (कथासंग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । क्षितिज इमान्दार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरुले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरुलाई बिर्सन थालेको आचार्यको भनाई रह्यो । “इमान्दार मान्छे मादलजस्तै भएका छन् । इमान्दार योद्धाको अवस्था यस्तै छ । नेताहरु अहिले नयाँ नयाँ धुनहरु खोजेर मस्ती गर्न थालेका छन् । स्रष्टाहरुलाई जोगाउन लागेका छैनन् । स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन् नेताहरु” आचार्यले भने । १९२ पृष्ठको कथासंग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।


No comments:

Post a Comment