Wednesday, November 13, 2013

‘नेवाः राज्यका लागि प्रचण्डको केही दिनमा लिखित प्रतिबद्धता आउँछ’

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
‘नेवाः राज्यका लागि प्रचण्डको केही दिनमा लिखित  प्रतिबद्धता आउँछ’ 

अहिले संविधानसभको विषय चर्चाको विषय बनेको छ । विशेष गरि काठमाण्डौ १० नं. निर्वाचन क्षेत्रको सवाल सबैको चासो भएको छ । कारण एमाओवादीका अध्यक्ष प्रचण्ड स्वयं यस क्षेत्रका प्रत्यक्षतर्फवाट उम्मेदवार बनेको अवस्था छ । यसै वीच कीर्तिपुर क्षेत्रका पुराना वामपंथी नेताको रुपमा परिचित सादा जीवन उच्च विचारका धनी कीर्तिपुर नगाउँका शम्भुराम महर्जन ‘मान्छे’, हाल नेकपा एमाओवादी पार्टीको नेवाः राज्य समिति सचिवालय सदस्यको जिम्मेवारी वहन गर्दै हुनुहुन्छ ।  एमाओवादीको कार्यक्रममा उहाँको उपस्थिति कम देखेर  कीर्तिपुरमा विभिन्न किसिमको हल्ला चलिरहेको सन्दर्भमा उहाँसँग आगामी मंसिर ४ गते हुन लागेको संविधानसभाको चुनावको विषयमा कीर्तिपुर सन्देशले गरिएको भलाकुसारीको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ । सं.

एमाओवादी नेवाः राज्य समिति सचिवालय सदस्य भएर पनि यसपालिको चुनावी अभियानमा कीर्तिपुरमा तपाईं सक्रिय नभएका कारण कीर्तिपुरवासीले तपाई पार्टीप्रति असन्तुष्ट भएको चर्चा गर्न थालेको छ के हो त बास्तविकता ?

— म काठमाडौं जिल्लाको आठ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज भइ काम गरिरहेको हुनाले यस क्षेत्रमा मेरो सक्रियता नदेखिएको हो । अहिले संविधान सभाको चुनाव प्रचार प्रसारको लागि १० नं क्षेत्रमा आएको छु । अहिले मेरो सक्रियता देख्नु भएको होला । यस क्षेत्रमा मेरो काम भनेको जहाँ पार्टी कमजोरस्थिति रहेको छ, त्यस ठाउँमा गएर काम गर्नु हो । अहिले सबै ठाउँमा कार्यकर्ता परिचालन भएको देख्नु भएकै होला । त्यसको परिणाम गत कार्तिक १७ गते कीर्तिपुरमा जनसागर ओर्लिएको देख्नु भएको होला ।

पार्टी भित्र अन्तरविरोधका  कारणले तपाई सक्रिय नभएको भन्ने आरोप छ नि ?
— निस्क्रिय होइन, म सक्रिय नै छु । ८ नं. क्षेत्रमा सक्रिय रहेकोले यहाँ नदेखिनु स्वाभाविकै हो । पहिचान सहितको संघीयतामा  नेवाः राज्य सुनिश्ति गर्न स्थानीय नेवार नेतृत्वलाई माथि उठाउनु पर्छ, प्रत्यक्षमा उम्मेदवारी दिंदा कमसेकम काठमाडौं उपत्यकामा आधीभन्दा बढी नेवार समुदायको प्रतिनिधित्व हुनुपर्छ । त्यस्तो उम्मेदवारीमा नेवाः नुगः, नेवाः भाव र नेवाः आन्दोलनमा सक्रिय भएकालाई प्राथमिकता दिनुपर्छ भनी पार्टीभित्र मैले आफ्नो मत  राखेको साँचो हो । पार्टी नेतृत्वसँग कुरा हुँदा कुनै पनि तरिकाले यस विषयमा सम्बोधन हुने वचनवद्धता पनि दिनु भएको छ । सिद्धान्त, विचार कारणले  कुनै अन्तर विरोध छैन र यस विषयमा पार्टीभित्रका नेवाः कार्यकर्ताहरु वीच एक मत छ । 

यसपालिको चुनावको सवालमा तत्कालिन जनमोर्चाको तर्फवाट माओवादीमा एकीकरण भएका नारायणकाजि श्रेष्ठ प्रकाश पक्षधरहरुलाई पाखा लगाईएको कुरा पनि संचार माध्यममा आइरहेको अवस्था छ । बास्तविकता के हो ?

—मेरो दृष्टिकोणमा त्यस्तो खासै विभेद गरिएको देखिएको छैन । काम गर्ने कार्यशैली र स्वभावमा केही भिन्नताहरु महसुस गरेको छु । खासै विभेद गरिएको छैन । काठमाडौं २ नं क्षेत्रमा लीलामणी पोखरेल स्वयं उम्मेदवार हुनुहुन्छ र उहाँको विजय सुनिश्चित छ । पूर्व जनमोर्चाको दृष्टिकोणले हेर्ने हो भने जनमोर्चा एक्लैको शक्तिले उपत्यकामा जीत सुनिश्चित भएको कुनै क्षेत्र छैन ।

यसपालिको चुनावमा तपाई कीर्तिपुरक्षेत्रमा के कस्तो भूमिकामा हुनुहुन्छ ?
— खास गरी नेवाः वस्तीमा गएर नेवाः राज्य, पहिचानसहितको संघीयताबारे मतदाताहरुलाई वास्तविकता बुझाउने काम गरिरहेको छु । स्वतन्त्र व्यक्तित्वहरुसँग भेटघाट तथा छलफल गरी पार्टीको समर्थनमा ल्याइरहेको छु ।

एमाओवादीको प्रतिवद्धता पत्रमा पहिचान सहितको संघीयता मात्र भनेको छ । यसको अर्थ नेवाः  राज्य कसरी सुनिश्चित हुन्छ ?
—राज्य पुनर्सरचना गर्ने सवालमा नेवाः प्रदेश उल्लेख भएको छ । नेवाः राज्यको सुनिश्चितता विना संघीयताको सवालमा सम्झौता नगर्न अध्यक्ष प्रचण्डसँग हामीले छलफल गरेका छौं । यस विषयमा लिखित प्रतिवद्धता उहाँले दिने कुरा गर्नु भएको छ । सायद दुई चार दिनमा आउला ।

यस पालिको चुनावमा काठमाण्डौंको १० नं. क्षेत्रमा एमाले र कांग्रेसले जित्ने दावी गर्दै आएको छ । उहाँहरुको दावीलाई तपाईले कसरी लिनु भएको छ ?
—आ–आफ्नो पार्टीले जित्छ भनेर दावी गर्नु स्वाभाविकै हुन् । अहिले देशको नेतृत्व एनेकपा माओवादीको हातमा रहेको तथ्य सबैलाई जानकारी नै छ । अहिलेको चुनाव पनि बाबुराम भट्टराईको सरकारले त्याग गरेर नै भइरहेको हो । काठमाडौं निर्वाचन क्षेत्र नं. १० बामपंथी मतदाताहरुको बाहुल्य रहेको क्षेत्र हो । म आफैले पनि पार्टीको कारवाही भोगेर २०४८ सालको संसदीय चुनावमा कमरेड मदन भण्डारीलाई जिताउन सक्रिय भूमिका निभाएको थिएँ । यस क्षेत्रका स्वतन्त्र वाममतदाताले कुनै पनि हालतमा कांग्रेसलाई जित्न दिने छैनन् । एमाले र मालेको फुटको कारणले कांग्रेसले जितेको तितो अनुभव यहाँको जनसमुदायसँग छ । कांग्रेसले मनमोहन अधिकारीको सरकार भंग गरेकै कारण देशमा भाँडभैलो सुरु भएको तथ्य सबैलाई थाहा छ । मलाई पूर्णतया विश्वास छ, भोलि कथंकदाचित कांग्रेस जित्ने अवस्था आयो भने (हुनत सम्भाव नै छैन) सम्पूर्ण एमालेका कमरेडहरुले प्रत्यक्षमा कमरेड अध्यक्षलाई र समानुपातिकमा आफ्नो पार्टीलाई मत दिइ जित सुनिश्चि गर्ने छ । गत चुनावमा पनि एमालेका कैयन जिम्मेवार साथीहरुले प्रचण्डलाई मत दिनु भएको सत्य हो । किनभने एमालेले प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा मत पाएको  थियो ।

अहिलेको संविधानसभा चुनावमा ३३५ जना समानुपातिक उम्मेदवार हुँदा पनि तपाईंले उम्मेदवार बन्ने मौका पाउनु भएन नि ?
—एकीकृत नेकपा माओवादी एउटा विशाल पार्टी हो । संविधान सभामा ३३५ स्थानमात्र होइन ३५०० समानुपातिक सिट भएतापनि पुग्दैन । मजस्ता हजारौं कार्यकर्ताहरु हाम्रो पार्टीमा छन । अर्को कुरा समानुपातिकमा टिकट लिएर खुसुक्क सभासद बन्ने पक्षमा म छैन । जनताको विश्वास जितेर मात्र म कुनै पदमा निर्वाचित हुन चाहन्छु । मलाई कीर्तिपुर क्षेत्रका जनताप्रति पूर्ण विश्वास छ कि मैले उम्मेदवार दिएँ भने मेरो जित सुनिश्चित छ ।

तपाईंको पार्टीमा समानुपातिक तर्फ दिलिप महर्जन र रुपा महर्जन बाबु छोरीले नै टिकट पायो नि ?
—मलाई थाहा भएसम्म हाम्रो पार्टीले बाबु छोरी भएर होइन । उहाँहरुले पार्टीमा गर्नु भएको त्याग र योगदानको कदर गरेर दिएको हो । रुपा महर्जनको पनि पार्टीमा ठूलो योगदान रहेको छ । उहाँले दिलिपको छोरी भएर होइन, वेपता परिवारको कोटाबाट उम्मेदवारी पाउनु भएको हो ।

प्रचण्डलाई जिताएर के फाईदा ? उहाँलाई भेट्न पनि गाह्रो, यस क्षेत्रको विकास निर्माणमा पनि खासै चासो दिनु भएन भन्ने गुनासो छ नि ?
—कमरेड प्रचण्ड राष्ट्रकै मूल नेतृत्वमा हुनुहुन्छ । उहाँले एक क्षेत्रमा मात्र हेर्न भ्याउनु हुन्न ।  यस क्षेत्रबाट उहाँले जित्नु भएको नाताले यस क्षेत्रको विकास निर्माण र जनगुनासो सम्बोधन गर्नका लागि नै दिलिप महर्जन र मसमेतलाई जिम्मा दिइएको हो । काम हुन नसकेको केही कारण छ भने हाम्रो कारणले हो । केही पनि भएन भन्ने कुरो साँचो होइन । हामीले गरेको कामहरुको लिस्ट हामी जनसमक्ष ल्याउँछौं । यसमा भएको कमी कमजोरीलाई सच्याउने हैसियतले स्वतन्त्र व्यक्तिहरु समेत समावेश गरी क. प्रचण्ड सँग प्रत्यक्ष सम्पर्क हुने एउटा संयन्त्र निर्माण गर्ने पक्षमा हामी छौं । गत वर्ष २३ करोड ९५ लाखको वार्षिक योजना तर्जुमा गरी योजना आयोग एवं अर्थ मन्त्रालयमा पेश गरिएकोमा कांग्रेस एमालेले बजेट बनाउन अवरोध गरेको कारणले उक्त योजनाहरु कार्यान्वयनमा आउन सकिएन । हाम्रो सरकार गठन भएपछि के कस्ता योजनाहरु लागु गर्ने छलफल गर्छौं र ती पेश भएका र थप योजनाहरु संचालन ल्याई यस क्षेत्रको मुहार फेर्न हामी कतिवद्ध छौं । बजेटअभावको कारणले विकास निर्माण अवरुद्ध हुन दिने छैनौं ।

अहिले स्थानीय उम्मेदवारहरु राजन के.सी. र सुरेन्द्र मानन्धर भएकोले स्थानीयलाई नै जिताउनु पर्छ भन्ने आवाज उठीरहेका छन । के भन्नुहुन्छ ?
—नीति विचार राम्रो त्यसमाथि स्थानीय पनि भयो भने सुन माथि सुगन्धै हो । विचार र स्थानीयको वीच छनौट गर्नु प¥यो भने हामीले विचारलाई नै छान्नुपर्छ । स्थानीय त राजतन्त्रवादी, हिन्दुवादी पनि उठीरहेको छ । के हामीले स्थानीयको नाममा त्यो विचारलाई समर्थन गर्न सक्छौं ? राजन र सुरेन्द्रले चाहेर पनि नेवाः राज्य दिन सक्दैन । किनकी ती पार्टीको नेवाः राज्य दिने नीति नै छैनन् । त्यसैले क. प्रचण्डको विकल्पको छैन ।

No comments:

Post a Comment